coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मंगोलियन फोर्सका ५ युवा हतियारसहित पक्राउ

जिल्ला प्रहरी कार्यालयद्वारा सोमबार पत्रकार सम्मेलन गरी हतियारसहित सार्वजनिक गरिएका जातीय विभेदको राजनीति गर्ने राष्ट्रिय मूलवासी मंगोलियन फोर्स नेपालका ५ युवा।

रोल्पा– जिल्ला प्रहरी कार्यालय रोल्पाले राष्ट्रिय मुलबासी मंगोलियन फोर्स नेपाल नामक सशस्त्र जातीय संगठनका ५ युवालाई हतियार पक्राउ गरी सार्वजनिक गरेको छ। जातीय सवाल उठाउँदै सशस्त्र गतिविधि गरी आएको उक्त संगठनका युवालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएकाहरुमा जिल्लाको स्युरी–१ का दुजमान घर्तीमगर, स्युरी–७ का ३१ वर्षीय जोखबहादुर घर्तीमगर, स्युरी–८ बुढाडेराका ३० वर्षीय रामबहादुर बुढामगर, बुढाडेराकै ३२ वर्षीय लोकबहादुर बुढामगर र स्युरी–९ का ३२ वर्षीय चन्द्रबहादुर घर्तीमगर रहेका छन। उनीहरु मध्ये रामबहादुर फोर्सका पार्टी सदस्य तथा हतियार व्यवस्थापनको जिम्मा लिएका व्यक्ति हुन्। पक्राउ गरिएका अन्य युवा उक्त पार्टीको समर्थक रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

प्रहरीले अभियुक्तहरुको साथबाट भरुवा बन्दुक आठ थान, फलाम र सीसाका गोली २२ थान, भरुवा बन्दुकको नाल एक थान, सीसाको छर्रा एक सय १८ थान, पेट्रोल दुई लिटर, कम्ब्याड सर्ट चार थान, स्लिपीङ ब्याग दुई थान, कम्ब्याट पाइन्ट पाँच थान, कम्ब्याट झोलना एक थान, पार्टीको झण्डा तीन थान, खुकुरी एक थान, बारुद दुई सय ग्राम र प्राथमिक उपचारका सामानसमेत बरामद गरेको छ।

रामबहादुरको घर खानतलासी गर्दा सुत्ने कोठाबाट भरुवा बन्दुक चार थान, बारुद दुई सय ग्राम, फलाम र सिसाका गोली २२ थान र सिसाको छर्रा एक सय १८ थान फेला पारेको थियो।

त्यस्तै अर्का अभियुक्त चन्द्रबहादुरको घरबाट प्रहरीले बन्दुक नाल तीन थान, कम्ब्याड सर्ट चार थान, कम्ब्याड पाइन्ट पाँच थान, स्लिपीङ ब्याग दुई थान, कम्ब्याड झोलना एक थान, खुकुरी एक थान, पेट्रोल दुई लिटर र प्राथमिक उपचारका सामानसमेत बरामद गरेको हो।

दुजमानको घरबाट प्रहरीले भरुवा बन्दुकको नाल एक थान, केही हातहतियारको पाटपुर्जा फेला परेको थियो । स्युरी–८ ओमाका ४५ वर्षीय दल प्रकाश बुढामगरको गोठदेखि करिब दुई सय मिटर परको जंगलको खोल्सामा गाडेको अवस्थामा भरुवा बन्दुक नाल एक थान फेला पारिएको थियो।

दल प्रकाश फरार रहेका छन्। उनको खोजी भई रहेको प्रहरीले जनायो। पक्राउ परेका मध्ये जोखबहादुरलाई भरुवा बन्दुकको नाल बेचेको आरोपमा पक्राउ गरिएको हो।

राष्ट्रिय मूलवासी मंगोलियन फोर्स निर्वाचन आयोगमा दर्ता नभएको दल भएको प्रहरीले जानकारी दिएको छ। २०६९ सालामा यो पार्टीको स्थापना भएको प्रहरी अनुसन्धानबाट खुल्न गएको छ। उक्त पार्टीका केन्द्रीय संयोजक गाङ–२ थारखोला रुकुमका उपेन्द्र घर्तीमगर रहेको प्रहरीले जानकारी दिएको छ। उपेन्द्रसहित उक्त पार्टीका अन्य नेता तथा कार्यकर्ताको व्यापक रुपमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

‘फरार अभियुक्तहरुको खोजी भइरहेको छ,’ उनले भने, ‘रोल्पा मात्र नभई अन्य जिल्लाबाट पनि मुलवासीका कार्यकर्ताहरु चाँडै पक्राउ गर्ने कोसिसमा छौं।’

प्रहरीद्वारा सार्वजनिक गरिएका अभियुक्तहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको प्रनाउ घर्तीमगरले जनाए। उनीहरुलाई कानुन अनुसार कार्वाही हुने उनले बताए। अभियुक्तहरुलाई पक्राउ गर्न प्रनाउन घर्तीमगर आफैं स्युरी पुगेको थिए। उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको उनले बताए।  

जातिय अधिकार र मुक्तिका लागि उक्त पार्टीको स्थापना गरिएको अभियुक्तहरुले प्रहरी समक्ष बयान दिएका छन्।
पूर्वी स्युरीलगायतका ठाउँमा गत भदौदेखि यो पार्टीले गोप्य रुपमा आफ्नो गतिविधि अगाडी बढाएको थियो। पार्टीले कार्यकर्ता उत्पादनका लागि गोप्य रुपमा भेला, प्रशिक्षण चलाउने गरेको पाइएको छ। जातीय क्रान्तिको थालनी गर्ने भन्दै यो पार्टीले गत भदौमै रुकुममा हातहतियार निर्माण तथा सञ्चालन सम्बन्धी करिब दुई हप्ता लामो प्रशिक्षण समेत सञ्चालन गरेको थियो।
पक्राउ परेका अभियुक्त मध्ये रामबहादु उक्त तालिममा पुरै सहभागी थिए भने अन्य अभियुक्तहरु भने तालिममा सहभागी भए पनि बीचैमा छोडेर भागेको उनीहरुले प्रहरीलाई बताएका छन्।

केही वर्षअघि स्युरीसँगै जोडिएको गाउँमा सुरक्षा फौजले व्यापक अप्रेशन चलाएको थियो । प्युठानको स्याउलीबाङ चौकी आक्रमण गर्नेहरुको खोजीमा सुरक्षा फौजले अप्रेशन चलाएको हो। चौकी आक्रमणमा प्रहरीको मृत्यु हुनुका साथै चौकीमा रहेका सबै हतियार आक्रमणकारीले लुटेर लगेको थिए। चौकी आक्रमण मंगोलियन रिभेन्ज गु्रपबाट भएको थियो। उक्त गु्रपका नेता गाउँका टेकवीर बुढामगर अज्ञात समूहबाट मारिएपछि त्यस क्षेत्रमा मंगोलियनको प्रभाव कमजोर देखिएको थियो। यो समूहले पनि राष्ट्रिय मूलवासी मंगोलियन फोर्सले उठाएकै एजेन्डा उठाएको थियो। यो समूहले पनि सशस्त्र विद्रोहकै तयारी स्वरुप प्रहरी चौकी माथि आक्रमण गरेको थियो।

१० वर्षे माओवादी सशस्त्र विद्रोहको उद्गम स्थल रोल्पामा विगतमा माओवादीले वर्गीय मुक्तिका नाममा हतियार उठाए पनि पछिल्लो समय जातीय विभेदको राजनीति भित्रभित्र बलियो रुपमा उठने गरेको विभिन्न समूहको गतिविधिबाट देखिएको छ।

पछिल्लो समय रोल्पामा जातीय मुक्तिको सवाल चर्केर जानुलाई माओवादीको विगतको चर्को नारा र प्रशिक्षणको उपजको रुपमा धेरैले लिने गरेका छन्। माओवादी पूर्व लडाकुसमेत जातीयसमूहमा आबद्ध हुँदै जाने अनुमान गरिएको छ।

 

 

 

 

प्रकाशित: ८ कार्तिक २०७३ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App