coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्मचारी अभावले सेवाग्राही समस्यामा

बाँके - जिल्लास्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कर्मचारी अभावले सेवाग्राही समस्यामा परेका छन्। दैनिक करिब चार सय सेवाग्राही कार्यालय आउने गरे पनि पर्याप्त कर्मचारी नभएकाले समस्या परेको कार्यालयले बताएको छ।

बिहीबार कार्यालयपरिसरमा पुग्दा ७५ वर्षे छोटेलाल नाउँ नेपालगन्ज आउन लागेको पाँच दिन भएको बताउँदै थिए। बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका–१ कटकुइँयाबाट आएका नाउँ मोहीसम्बन्धी कामले मालपोत पुगेका थिए। गनापुरबाट आएका सालिकराम हर्जनको गुनासो पनि छोटेलालको जस्तै थियो। चार दिनदेखि जग्गा पास गर्न भनी नेपालगन्ज धाइरहेको हर्जनले बताए। बिहीबार कार्यालय हाताभित्र छोटेलाल र सालिकराम काम पूरा हुने आशामा पर्खिरहेका थिए। मालपोत कार्यालयमै भेटिएका अर्का सेवाग्राही कोरियनपुर नेपालगन्जका राजकिशोर साहले ६ दिनपछि काम सकिएको बताए। उनी पुरानो कित्ता मिलान गर्न मालपोत पुगेका थिए।

५१ जना दरबन्दी रहेको बाँकेको मालपोत कार्यालयमा अहिले झन्डै आधा मात्र कर्मचारी छन्। कर्मचारी अभाव भएको तीन महिना बितिसकेको छ। जसले मुद्दा, कम्प्युटर, मोठ, फाँटलगायतमा प्रभावित पारेको छ।

छोटेलाल, सालिकराम र राजकिशोर त प्रनिनिधि पात्र मात्र हुन्। मालपोत आउने सयौं सेवाग्राही जग्गासम्बन्धी कामका लागि साता दिनसम्म धाइरहेका हुन्छन्। ५१ जना दरबन्दी रहेको सो मालपोत कार्यालयमा अहिले झन्डै आधा कर्मचारी मात्र छन्। जसको प्रत्यक्ष मारमा परेका छन् सेवाग्राही। कर्मचारी अभाव भएको झन्डै तीन महिना बितिसकेको छ। जसले मुद्दा, कम्प्युटर, मोठ, फाँटलगायतमा प्रभावित पारेको छ।
गत चैत ४ गते सिक्टा सिँचाइ आयोजना र अन्य सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा तत्कालीन भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेलसहित १२ कर्मचारीलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थियो। कार्यालयका अनुसार दुईजना मालपोत अधिकृत, पाँच नायब सुब्बा, चार खरिदार र एकजना कम्प्युटर अपरेटर जग्गा प्रकरण कारबाहीमा परेका छन्।

१३ नायब सुब्बा दरबन्दी भएको सो कार्यालयमा ६ जना मात्र कार्यरत छन्। यसैगरी १५ जना दरबन्दी रहेको खरिदार पदमा ९ जना र दुईजना कम्प्युटर अपरेटरमा एकजना मात्र कार्यरत रहेको कार्यालयले बताएको छ। कर्मचारी अभावबारे भूमि व्यवस्थापन तथा अभिलेख विभाग र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित जानकारी गराइसकेको बताउँछन् कार्यालय प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्याल। तर सुनवाइ भएको छैन। उनले भने, ‘कर्मचारीको कमीले सेवा प्रवाह स्वाभाविक रूपमा भन्दा केही ढिला भएको छ। तर काम रोकिएको छैन। भएको जनशक्तिबाट हामीले सकेसम्म छिटो काम गर्ने गरेका छौं।’ कर्मचारी अभावबारे मन्त्रालयमा जानकारी गराइसकेको अधिकृत दौल्यालले बताए। कर्मचारी अभावसँगै कार्यालयमा इन्टरनेट सेवा र वेबसाइड नखुल्ने समस्याले पनि सेवाग्राही थप समस्यामा पर्ने गरेको उनले जनाए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App