८ वैशाख २०८१ शनिबार
कला

महिला स्वतन्त्रता पक्षमा राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं - महिला स्वतन्त्रतासँग जोडिएको परम्परागत मिथिला कला समाज रूपान्तरणको हिस्सा बन्दै छ। महिलाका कथा र संस्कृतिको उपज मानिने मिथिला कला क्यानभासमा विभिन्न आकृतिमा देखिने गरेको छ। आधुनिकतातर्फ प्रेरित हुँदै गएको यही मिथिला कला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि शुरु भएको नवौं संस्करणको राष्ट्रिय कला प्रदर्शनीमा समावेश भएको छ। प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो।

चित्रकार रञ्जुकुमारी यादवद्वारा बनाइएको ‘सेभ डटर, इजुकेट डटर’ थिममा आधारित गर्भावस्थामै छोरीको भ्रूण हत्यालाई निरुत्साहित गर्ने सन्देश बोकेको चित्रले लोककला विधातर्फ राष्ट्रिय ललितकला पुरस्कार पायो । ‘परम्परागत मिथिला कला आधुनिकतातर्फ लागिरहेको अवस्थामा कलाकारहरूले क्यानभासमा समाजमा हुने महिला हिंसाको विरोधमा चित्रकला तयार गरिरहेका छन्,’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मिथिला कलाकी प्राज्ञ मिथिलादेवी यादवले भनिन्, ‘यसपटकको राष्ट्रिय कला प्रदर्शनी आधुनिक मिथिला कलाअन्तर्गतका कलाकारहरूद्वारा तयार पारिएका विभिन्न चित्रकला र हस्तकला राखिएका छन्।’ प्रदर्शनीमा मिथिला क्षेत्रमा प्रयोग हुने परम्परागत भाँडा र बाँसबाट निर्मित हस्तकलाहरू समावेश छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान स्थापना दिवसका अवसरमा हरेक वर्ष आयोजना हुने राष्ट्रिय कला प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कलाले देशको समृद्धिमा योगदान पु-याएको बताए। ‘राष्ट्रनिर्माणमा नेपालका मौलिक कलाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सरकारले भनेझैं समृद्धि नेपाल सुखी नेपालीमा समेत कलाले योगदान दिएको छ,’ उनले भने, ‘आगामी दिनमा कलासम्बन्धी समस्यालाई समाधान गर्ने प्रतिबद्धता दिन चाहन्छु।’

उद्घाटन समारोहमा प्रतिष्ठानले यस वर्ष एक/एक लाख राशिको ‘अरनिको राष्ट्रिय प्रज्ञा सम्मान’बाट मूर्तिकार चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई सम्मान गरेको थियो। उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुवैलाई नगद र ताम्रपत्र हस्तान्तरण गरे । कार्यक्रममा विभिन्न प्रादेशिक र विधागत कला पुरस्कारसमेत प्रदान गरियो । आधुनिक चित्रकलातर्फ नेमबहादुर तामाङ, परम्परागत चित्रकलातर्फ रवि श्रेष्ठ, आधुनिक मूर्तिकलातर्फ अनमारी तामाङ, परम्परागत मूर्तिकलातर्फ रत्नमुनि ब्रह्मचार्य, हस्तकलातर्फ शरद शाक्य, लोक कलातर्फ रञ्जुकुमारी यादव र अन्य सिर्जनात्मक कलातर्फ रवीन्द्रकुमार श्रेष्ठले ‘राष्ट्रिय ललितकला पुरस्कार’ पाए । पुरस्कारमा जनही ६० हजार रुपैयाँ र ताम्रपत्र रहेका थिए ।

‘विशेष पुरस्कार’तर्फ आधुनिक चित्रकलामा टीकादत्त दाहाल, सुरेम देशार र सुरेश बस्नेत, परम्परागत चित्रकलामा उजय बज्राचार्य र महेश्वर डंगोल, आधुनिक मूर्तिकलामा दीपक लामा र नरेश थुलुङ, परम्परागत मूर्तिकलामा रमेश शाक्य र माणिकमान शाक्य, हस्तकलामा राजेश महर्जन र सुशीला सिंह, लोककलामा हरेराम यादव र मिट्ठु थारू, अन्य सिर्जनात्मक कलामा राजेश मानन्धर, सरोज बाडे, केशव कँडेल र कोशल हमालले २५–२५ हजार रुपैयाँको पुरस्कार पाए ।

प्रदेश १ बाट टीकावीर राई, २ बाट रेमनी मण्डल, ३ बाट भीम श्रेष्ठ, गण्डकीबाट एनबी गुरुङ, ५ बाट बालकुमारी चौधरी, कर्णालीबाट धोर्चे गुरुङ लामा र सुदूरपश्चिमबाट योगेन्द्र बलले ‘प्रदेश विशेष पुरस्कार’ पाए। त्यस्तै ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’तर्फ यस वर्ष मदन चित्रकार र ‘ललितकला पत्रकारिता पुरस्कार’तर्फ श्याम रिमाल पुरस्कृत भए । यी सबै पुरस्कारमा जनही २५–२५ हजार रुपैयाँ र ताम्रपत्र रहेका छन्। प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, मूर्तिकला, वास्तुकला, परम्परागत लोककला, पर्फर्मेन्स आर्ट, इन्टलेसन आर्टलगायत कला प्रदर्शनी भइरहेका छन्।

तीन हप्तासम्म चल्ने प्रदर्शनीमा चार सय ६७ कलाकारका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सिर्जनात्मक कलालगायत विभिन्न विधाका पाँच सय २९ कला राखिएका छन्। यसपटक डिजिटल प्रविधिमार्फत पनि केही कला प्रस्तुत गरिए। प्रतिष्ठानका प्राज्ञ रमेश खनालका अनुसार प्रदर्शनीका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग सक्रिय भएर लागेका छन्।

‘यसपटक प्रदर्शनीमा समावेश भएका प्रस्तर कलाहरू साँच्चिकै राम्रा छन्,’ उनले भने, ‘त्यसबाहेक फोटोग्राफीहरूले मानिसको जीवनशैलीको बयान गरेका छन्।’ कलाकार सुरेम देशारले यसपटकको कला प्रदर्शनी विगतमा भन्दा व्यवस्थित भएको बताए। ‘पुरस्कार पाउँदा भन्दा पनि प्रदर्शनी बिस्तारै सुध्रिँदै गएकोमा बढी खुसी लागेको छ,’ उनले भने। 

प्रदर्शनीमा राखिएको सुरेश बस्नेतले बनाएको ‘मोबाइल लभर’ शीर्षकको चित्रले आधुनिक शैली र प्रविधिमाथि व्यंग्य गरेको छ। कलाकार केशव कँडेलको ‘अ क्युरियोस् इन्साइडर’ले भौगोलिक सुन्दरताको मापन गरेको छ। जहाँ रातो साडीमा देखिएकी महिलाले झ्याल खोलेर व्यंग्यात्मक रूपमा हेरेको दृश्य समावेश छ। ‘झ्यालको पृष्ठभूमिले मलाई लोभ्याएकाले त्यसलाई क्यामरामा कैद गर्दै थिएँ,’ उनले भने, ‘एक्कासि एक महिलाले झ्याल खोलेर मतिर हेरेको दृश्य अझ सुन्दर लाग्यो।’ प्रदर्शनीमा ‘मुस्ताङ’, ‘बुद्ध’, ‘असारे खुसी’, ‘कल्चर’, ‘आर्यतारा’, ‘कलश’, ‘मञ्जुश्री’, ‘ज्योतिरूप साक्षात्कार’, ‘नो वार’ र ‘द ओरिजिन’ लगायत कलाकृति राखिएका छन्।

यो राष्ट्रिय कला प्रदर्शनी विवादित पनि बनेको छ। कलाकृति छनोंट प्रकृति गलत भएको भन्दै केही कलाकारले प्रदर्शनीमा सहभागिता जनाएनन्। प्रतिष्ठानले प्रत्येक वर्ष वैशाखको पहिलो साता आयोजना गर्दै आएको प्रदर्शनी जेठसम्म आइपुग्दा विवादित भएको हो। ‘विभिन्न कारणले वैशाखमा गरिसक्नुपर्ने प्रदर्शनी ढिला भएको हो। अर्को वर्ष सातवटै प्रदेशमा प्रतियोगिता गराएर राष्ट्रिय कला प्रदर्शनीमा सहभागी गराउने योजना छ,’ प्रतिष्ठानका उपकुलपति गोपालमान चित्रकारले भने।

कलाकार ज्योतिप्रकाश विक निर्णायक समिति र प्राज्ञहरूले नातावाद र कृपावादका कारण प्रदर्शनीमा राम्रा कलाहरू नआएको बताउँछन्। ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको केही शक्तिशाली प्राज्ञहरूले हतारमा प्रदर्शनी गर्न खोज्दा आफूनिकटलाई समावेश गरेका छन्,’ उनले भने, ‘त्यसैले यो प्रदर्शनीले कहिल्यै कलाकार र कलाको विकासमा योगदान पु-याउन सकेन।’

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App