coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सूचना प्रविधि खतरालाई लिएर अमेरिकामा संकटकाल घोषणा

वासिङ्टन – ‘विदेशी प्रतिद्वन्द्वीहरु’बाट संयुक्त राज्य अमेरिकाका संचार संजाललाई जोगाउनका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। राष्ट्रिय सुरक्षाको लागि जोखिम पु-याउन सक्ने ठानिएका दूरसञ्चार उपकरणमा अमेरिकी कम्पनीहरुको प्रयोग बन्देज लगाउँदै राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो संकटकाल घोषणा गरेका छन्।

ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यका अनुसार राष्ट्रपति ट्रम्पको आदेशले ‘सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीकमजोरीको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने’ उद्देश्य लिएको जनाइएको छ। उनले ‘विदेशी प्रतिद्वन्द्वीहरू’बाट अमेरिकी सञ्चार सञ्जाललाई जोगाउन राष्ट्रिय संटकाल घोषणा गरेको बताएका छन्।

त्यस क्रममा ट्रम्पले अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पु-याउने विश्वास गरिएका विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न बन्देज लगाउने एक कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेका छन्। त्यस्ता विदेशी कम्पनी कुन कुन हुन् भनेर उनले नाम उल्लेख नगरे पनि कार्यकारी आदेशमार्फत चिनियाँ कम्पनी हुवावेलाई निसाना बनाउन खोजिएको हुनसक्ने विश्लेषकहरुले बताएका छन्।

अमेरिका र अन्य केही देशले चीन विशाल दूरसंचार कम्पनी हुवावेले उत्पादन गरेका उपकरणहरुको प्रयोग गरी चीनले आफ्ना आन्तरिक गतिविधिको निगरानी गर्न सक्छ भन्दै चिन्ता व्यक्त गरिसकेका छन्। हुवावेले भने आफ्ना उत्पादनले सुरक्षा खतरा उत्पन्न गर्ने भन्ने आरोपलाई अस्वीकार गर्दै आइरहेको छ। उसले आफ्ना उत्पादनलाई प्रतिबन्ध गरे त्यसले अमेरिकी उपभोक्ता र कम्पनीहरु प्रभावित हुने पनि बताएको छ।

विश्वका दुई शक्तिशाली अर्थतन्त्र संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो समय व्यापार युद्ध चर्किदै गएको छ र यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेकाले तनाव थप वृद्धि हुनसक्ने अनुमान गरिएको छ। ट्रम्पले कुनै पनि कम्पनीको नाम नलिए पनि अमेरिकी वाणिज्य मन्त्रालयले भने हुवावे र सो कम्पनीसँग सम्बन्धित ७० वटा कम्पनीलाई अमेरिकामा कालो सूचीमा राख्न लागिएको बताएको छ। यदि हुवावे र सम्बन्धित कम्पनीहरुलाई कालो सूचीमा राखिए ती कम्पनीलाई अमेरिकी कम्पनीहरुसँग कारोबार गर्न झनै कठिन हुनसक्ने बताइएको छ।

त्यो आदेशले वाणिज्य मन्त्रीलाई ‘राष्ट्रिय सुरक्षाको लागि अस्विकार्य हुने जोखिमलाई बढावा दिने कारोबारमाथि प्रतिबन्ध लगाउने’ अधिकार प्रदान गरेको वक्तव्य उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। राष्ट्रपतिको कदमको अमेरिकाको संघीय संचार आयोगका अध्यक्ष अजित पाइले स्वागत गरेका छन्। एक वक्तव्य मार्फत उनले यो ‘अमेरिकाको राष्ट्रिय संजालहरूको रक्षा गर्ने दिशामा आएको एक महत्वपूर्ण कदम भएको’ बताएका छन्। अमेरिकाले आफ्ना संघीय निकायहरूलाई हुवावेका उत्पादन प्रयोग गर्नबाट बर्जित गरिसकेको छ।

उसले आफ्ना मित्र शक्तिहरूलाई पनि हुवावेका उत्पादन प्रयोग नगर्न भनेपछि अस्ट्रेलिया र न्युजिल्यान्डले आफ्ना फाइभ जी सञ्जालमा हुवावेका उत्पादनको प्रयोग रोकिसकेका छन्। हुवावेले भने अमेरिकी आरोपको कडा प्रतिवाद गर्दै आएको छ। यसैबीच हुवावेका अध्यक्ष लियाङ ह्वाले मंगलबार लन्डनमा भएको एक बैठकमा आफ्नो कम्पनी विभिन्न सरकारसँग ‘गुप्तचरी वा जासुसी नगर्ने सम्झौता गर्न’  तयार रहेको बताएका छन्। विभिन्न देशहरूमा नयाँ पुस्ताको ‘फाइभ जी’ मोबाइल दूरसञ्चार सञ्जाल विस्तारको क्रममा सुरक्षा चिन्ता बढ्दै गर्दा उनको यस्तो भनाइ आएको हो।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App