५ वैशाख २०८१ बुधबार
समाज

पारिवारिक लगत संकलन गर्न हजार रुपैयाँ

दोलखा - घर–परिवारका सदस्यहरूको लगत संकलन गरी सो परिवारको सबैखाले विवरण सफ्टवेयरमा राखेर सबै घरको ‘नम्बरिङ’ गर्ने भन्दै गौरीशंकर गाउँपालिकाले सर्वसाधारणबाट हजार रुपैयाँ शुल्क उठाउन थालेको छ।

लगत संकलन गरी प्रत्येक घर र परिवारका हरेक सदस्यहरूको आवश्यकले विवरण सफ्टवेयरमा हालेर स्थानीय सरकारको सेवा–सुविधा दिने काममा छरितोपन र सरलता दिलाउने भन्दै हालै गाउँ कार्यपालिका बैठकले प्रत्येक घरधुरीबाट हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन गर्न भन्दै वडा नम्बर ५ र ९ ले लगत संकलन गर्दै घरको ‘नम्बरिङ’ गरेर प्रतिधुरी हजार रुपैयाँ उठाउन सुरु गरेको छ। प्रायः ग्रामीण भेग रहेको यो गाउँपालिकामा लगत संकलन र नम्बरिङबाहेक घरहरूको नक्सा–पासका सबै प्रक्रियासमेतका लागि नागरिकबाट उठाइएको सोही रकमबाट खर्च गर्ने महत्त्वकांक्षी लक्ष्य गाउँपालिकाको छ। यो योजना नौवटै वडामा लगिने जनप्रतिनिधिहरूले बताएका छन्।

गाउँपालिकाको निर्णय अनुसार ५ र ९ नम्बर वडाले धमाधम नम्बर प्लेट राख्न सुरु गरेका छन् भने अन्य वडाका प्रतिनिधिहरूले प्लेट राख्न आवश्यक छपाइको कामलाई तीव्रता दिएका छन्। गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार सबै वडामा पारिवारिक लगत संकलन गर्ने, परिवारका सबै सदस्यहरूको नागरिकता, जन्मदर्ता, विवाह दर्ता, लालपुर्जाका प्रतिलिपिदेखि सो परिवारका सदस्यहरूको रोजगारी, शिक्षा स्वास्थ्यको अवस्थासम्म सफ्टवेयरमा राख्ने तयारी गाउँपालिकाको छ।

‘नम्बर प्लेटका लागि मात्र हजार रुपैयाँ संकलन गर्न लागेको हैन,’ वडा नम्बर ५ का अध्यक्ष डिल्लीध्वज बस्नेतले भने, ‘योभित्र घरको नक्सा–पासदेखि त्यो परिवारको लगतसम्मका थुप्रै विवरण र लगत संकलन गरिने कार्यक्रम हुन्छन्।’ उनले वडा नम्बर ५ का एक हजार एक सया घरधुरीमध्ये करिब ६ सयको लगत संकलन गरेर नम्बरिङ गर्ने प्रक्रिया सकिएको बताए। ‘हामीले राम्रो कामका लागि गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गरेर प्रतिघरधुरी हजार रुपैयाँ उठाएका हौं,’ बस्नेतले भने, ‘यदि यो कामबाट केही रकम बचेछ भने सम्बन्धित वडाकै विकास निर्माणमा खर्च गर्नेछौं।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार खड्काले लिइएको हजार रुपैयाँ कार्यपालिकाले निर्णय गरेबमोजिमका सबै काम गर्दा खर्च हुने बताए। ‘लगत, तथ्यांक संकलन गरेर सफ्टवेयरमा हाल्ने मात्र नभएर सहर–बजारमा जस्तै घर निर्माणको सुरुदेखि निर्माण सम्पन्न प्रमाणपत्र दिने सम्मको नक्सा–पासका सबै प्रक्रिया यहीभित्र पर्छन्,’ उनले भने, ‘त्यसैले यो शुल्क गाउँपालिकाले अरू काम गर्नका निम्ति उठाउन लागेको हैन।’

गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले प्रविधिको उपयोग गरेर जनताका सेवामा सजिलोपन ल्याउनका निम्ति लगत संकलन गर्ने निर्णय गरिएको सुनाए। ‘यहाँ प्रचार नम्बर प्लेट टाँस्यो र एक हजार लियो भनेर मात्र भयो,’ खड्काले भने, ‘तर त्यसभित्रको वास्तविकता नागरिकले पाउने सबैखाले सेवा–सुविधासँग गएर गाँसिन्छ, हामी प्रविधिको अधिकतम प्रयोग गरेर जनतालाई छरितो सुविधा दिन चाहन्छौं।’ उनले गाउँपालिकाभरिका ६ हजार पाँच सय २१ घरधुरीसम्म पुगेर लगत संकलन गर्ने सुनाए। आउँदो कार्यपालिका बैठकमार्फत हजार रुपैयाँ शुल्कबारे पुनर्विचार गर्न सकिने बताउँदै खड्काले अभियान भने अझ तीव्रताका साथ अगाडि बढाइने बताए। ‘शुल्क अलि बढी भयो भन्ने गुनासो आए पुनर्विचार गरेर शुल्क घटाउने र जनसहभागितामा गर्ने वा गाउँपालिकाले आफ्नै स्रोतबाट गर्ने भन्नेबारे छिट्टै निर्णय लिन्छौं,’ खड्काले भने।

गौरीशंकर गाउँपालिकाका स्थानीयसमेत रहेका कांग्रेसका जिल्ला नेता श्यामसुन्दर तामाङले काम राम्रो भए पनि गाउँपालिकाले शुल्क जति सबै जनताको टाउकोमा मात्र थोपरेको गुनासो गरे। ‘आफ्नो गाउँमा काम गर्नका निम्ति जनताको लगत तयार पार्ने दायित्व स्थानीय सरकारको हो नि,’ उनले भने, ‘हामी गाउँको हाम्रो सरकार भन्छौं अनि लगत संकलन गर्न लाग्ने सबै शुल्क त्यही जनताको टाउकोमा थोपरिदिन्छौं।’ उनले गाउँपालिकालाई सकभर आफ्नै खर्चबाट वा नभए जनसहभागितासमेत जुट्ने गरी स्थानीय सरकार आफैंले लगानी गरेर यो कार्यक्रम अघि बढाउँदा राम्रो हुने सुझाव पनि दिए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App