८ वैशाख २०८१ शनिबार
राजनीति

प्रेस स्वतन्त्रताप्रति अमेरिकी चासाे

काठमाडौ - नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि छानबिन सुरु भएको विषयमा आपत्ति जनाएको छ। अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने। नेपाल सरकारले अर्काे मुलुकको सरकारको संवेदनशीलता भन्दै स्वतन्त्र मिडियाको अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेको दूतावासको आरोप छ।

चीन विरोधि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको नेपालका सांसद र सरकारी सञ्चार माध्यमबाट स्वतन्त्र तिब्बतलाई फाइदा पुग्ने गतिविधि भएको भन्दै चिनियाँ दूतावासले चासो देखाएपछि सरकारले यस विषयमा अनुसन्धान थालेको छ। चीनको चासोपछि सरकारले दलाई लामाबारेमा समाचार लेख्ने राससमा कार्यरत तीनजना पत्रकार मोहनी रिसाल, सोमनाथ लामिछाने र जीवन भण्डारीमाथि छानबिन सुरु गरेको छ। त्यस्तै फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी हुन यूरोप पुगेका सत्तारुढ दलका सांसदका विषयमा पनि अनुसन्धान सुरु भएको छ।

यी दुई विषयमा सरकारले छानबिन थालेपछि नेपालस्थित अमेरिकी दूतावासले सरकारको निर्णयप्रति चासो व्यक्त गरेको हो। चिनियाँ पक्षको दबाबमा सरकारले छानबिन सुरु गरेको भन्दै अमेरिकी दूतावासका प्रवक्ताले चीनलाई लक्षित गर्दै भनेका छन्, ‘जब हामीले नियममा आधारित स्वतन्त्र र खुल्ला व्यवस्थको ओकालत गरिरहेका छौँ भने त्यसको अर्थ छिमेकीलाई दबाब दिनु अथवा सानो मुलुकका नागरिकको आधारभूत स्वतन्त्रतालाई खुम्च्याउन खोज्नु होइन।’

पछिल्लो समय चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको सहभागितापछि त्यसका फाइदा र बेफाइदालाई लिएर चीन र अमेरिका आमने सामने हुँदै आइरहेका छन्। केही समयअघि दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका लागि अमेरिकाका उपसहायक रक्षामन्त्रीले नेपाल चिनियाँ ऋणको पासोमा पर्नसक्ने अभिव्यक्ति दिएपछि चिनियाँ राजदूतको त्यसलगत्तै कडा ढंगले प्रतिवाद गरेका थिए। अमेरिकी दूतावासका प्रवक्ताको पछिल्लो अभिव्यक्तिले अमेरिका बीआरआईको विरोधसँगै फ्रि तिब्बतसम्बन्धी गतिविधिका पक्षमा खुलेर प्रस्तुत हुने संकेत गरेको छ।

झुक्याएर फ्रि तिब्बत कार्यक्रममा पु-याइयो : सांसद यादव

फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी हुन यूरोप पुगेका समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफूहरुलाई झुक्याएर त्यहाँ लगिएको बताएका छन्। नेपालको एक चीन नीति विपरित फ्रि तिब्बत समूहको कार्यक्रममा सहभागी हुन सांसद यादव र राजपाका सांसद एकवाल अहमत यूरोपेली मुलुक लाट्भिया पुगेका थिए।

‘हामीलाई सांसदहरूको कार्यक्रम हो, घुमफिर पनि गर्न पाइन्छ भनेर झुक्याएर त्यहाँ पु¥याइयो,’ सांसद यादवले नागरिकसँग भने। उनले आफूहरु कार्यक्रममा पुगेपछि मात्र इन्टरनेशनल पार्लियामेन्ट आफ फ्रि तिब्बतको कार्यक्रम भएको जानकारी भएको बताए।

‘त्यहाँ पुगेपछि मात्र हामीलाई त्यसबारे जानकारी भयो त्यसपछि हामी एकछिन बसेर बहानन बनाएर निस्किहाल्यौँ,’ उनले भने। यादवले कार्यक्रम फ्रि तिब्बतसम्बन्धी भएको थाहा पाएपछि अर्काे दिन स्वीजरल्याण्ड गएको बताए। कार्यक्रममा सहभागी भएको विषयमा पार्टीले आफूसँग स्पष्टीकरण सोधेको र आफूले जवाफ समेत दिइसकेको बताए। ‘हामीले जानेर गएको होइन, स्पष्टीकरणको जबाफमा पनि त्यही लेखेर दिएको छु,’ उनले भने। उनले पार्टीका महासचिव रामशाह यादवलाई स्पष्टीकरण बुझाएको जानकारी दिए। उनले अन्जानमा गल्ती भएको भन्दै पार्टीले गर्ने जुनसुकै कारबाही भोग्न तयार रहेको बताए।

सत्तारुढ दलका दुई सांसद सरकारको नीतिविपरीत फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएको विषयमा सभामुख कृष्णबहादुर महराले पार्टीका सचेतकलाई जवाफ मागेका थिए। यस विषयमा सांसदद्वयले संघीय संसद सचिवालयका महासचिवलाई भेटेर जानकारी गराएको बताएका छन्। सभामुख उपत्यका बाहिर रहेकाले सभामुखलाई पनि यस विषयमा भेटेर जानकारी गराउने उनीहरूले बताएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७६ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App