८ वैशाख २०८१ शनिबार
कला

'सामाजिक सञ्जाल घातक'

कान्स – अमेरिकी नायिका तथा गायिका सेलेना गोमेजले आफ्नो पुस्ताका लागि सामाजिक सन्जाल ‘डरलाग्दो’ माध्यम रहेको बताएकी छन्। उनले आम मानिसलाई सामाजिक सन्जालमा सक्रिय हुने समयलाई कम गर्न पनि आग्रह गरेकी छन्।

फ्रान्सको कान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’मा आफु अभिनित फिल्म ‘द डेड डन्ट डाइ’को प्रमोसनका लागि आएकी २६ वर्षीया गोमेजले अहिलेको विश्व अन्यले जे गर्छ त्यही बाटोलाई अपनाउँदै हिँडेको बताइन्। ‘विशेष गरी मेरो पुस्ताका लागि सामाजिक सन्जाल डरलाग्दो बनेको छ। सामाजिक सन्जालकै कारण धेरै युवा मानिसहरू नयाँ विषयबस्तुका बारेमा अनभिज्ञ छन्’, उनले भनेकी छन्, ‘सामाजिक सन्जाल प्रयोगका लागि उपयुक्त माध्यम हो। तर अहिलेको महिला तथा पुरुषहरू कहाँ के भइरहेको छ भन्ने विषयमा जानकार नभएको देख्दा मलाई डर सिर्जना भएको छ। यो स्वार्थ हो। म यसलाई स्वार्थ भन्न चाहन्न। तर त्यो खतरनाक नै हो।’ इन्स्टाग्राममा एक सय ५० फलोअर भएकी सेलेनाले केही समय अघि मात्र सामाजिक सन्जालको प्रयोगबाट विश्राम लिने घोषणा गरेकी थिइन्।

गत सोमबार मलेसियाकी १६ वर्षीया एक युवतीले इन्स्टाग्राममा ‘आफु मरु वा बाँचु ?’ भन्ने प्रश्न सोधेर जनमत गरेको केही समयमै आत्महत्या गरेकी थिइन्। यही कुरालाई बुझेकी सेलेनाले सामाजिक सन्जाललाई ‘डरलाग्दो’ संज्ञा दिएकी हुन्। उनले सामाजिक सन्जालमा आउने गलत समाचारबाट सचेत रहन आग्रह गरेकी छन्। ‘अहिले सामाजिक सन्जालमा आउने गलत समाचारलाई युवापुस्ताले पत्याउछन्। जसकारण उनीहरूले गलत बाटो रोजेका छन्। यस्तो अवस्थामा मानिसलाई सही सुचना दिन सकिएन भने त्यो घातक हुनेछ’, उनले भनेकी छन्।

सेलेनाले आफुले इन्स्टाग्राम र ट्वीटरमा तस्बिर तथा सन्देश संयमित तथा त्यो खतरापूर्ण हो भन्ने जानेर राख्ने गरेको बताइन्। ‘म धन्य छु कि मेरो प्लेटफर्म मेरै तरिकामा छ। म अझै पनि भावुक भएर मेरा सन्देश र तस्बिर साझा गर्छु’, उनले भनेकी छन्, ‘म अनावश्यक तस्बिरहरू लिन्न र सामाजिक सन्जालमा राख्दिन। म जुनसुकै काम जानीबुझी गर्न रुचाउँछु।’ सेलेना अभिनित हरर कमेडी फिल्म ‘द डेड डन्ट डाइ’का निर्देशक जीम जार्मुस्चले सेलेनाले आफ्नो सेलिब्रेटी प्लेटफर्मलाई ‘अविश्वसनीय’ र ‘प्रशंसनीय’ किसिमले प्रयोग गरेको बताए। ‘उनी आफुसँगै अन्य मानिसलाई पनि हेर्छिन्। त्यसकारण उनी प्रशंसाको पात्र हुन्’, निर्देशक जीमले भनेका छन्।

 

प्रकाशित: २ जेष्ठ २०७६ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App