८ वैशाख २०८१ शनिबार
कला

भिडियोमा नेपथ्यको ‘नासै छ्याँबा’

काठमाडौं – सांगीतिक समूह ‘नेपथ्य’को गीत ‘नासै छ्याँबामनो ह्योल’ को भिडियो सार्वजनिक भएको छ। नेपालीमा ‘गाउँहरू मध्येमा मनाङको गाउँ राम्रो’ अर्थ राख्ने यो गीतमा व्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको स्वर छ। अमृतले सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए। यसको रेकर्ड भने त्यसको चारवर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’मा राखिएको थियो।

गायक गुरुङका अनुसार मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन्। बाटोमा मुक्तिनाथ दर्शन गर्छन्। त्यसैगरि जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ आउँछन्। यसरी ओहोरदोहोर गर्नेहरूको भावनालाई आधार बनाएरै गीत तयार पारिएको हो। गीतमा उधौलीउभौलीको कुरा पनि राखिएको छ।
‘मलाइ धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो। त्यसै हिसाबले यसको रचना थालेको थिएँ। तर, गीत पुरा हुने बेलामा भने नेपाली अन्तराहरू थपिन पुगे। त्यो बेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था देखेपछि मलाई असाध्यै नरमाइलो लाग्यो’, अमृतले थपे, ‘त्यसैले गीतको पछिल्लो भाग चाहिँ नेपालीमै पुरा गरेको हुँ। यो गीत लेख्दा विशेषतः पहाड र हिमालका बासिन्दाहरूको बीचमा संवाद पनि भएको थियो।’

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णीम वर्षहरू बिताइसकेको छ। नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले पुराना गीतहरूलाई युट्युब दर्शकको निम्ति पुनःताजा गर्ने उद्देश्यले भिडियो तयार पारेको बताए। ‘यस गीतलाई लाइभ कन्सर्ट गर्दाको फुटेज र अमृतले त्यस भेगमा यात्रा गर्दा खिचेका तस्बिरहरू समायोजन गरेर म्यूजिक भिडियो तयार पारिएको हो’, उनले भने।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App