६ वैशाख २०८१ बिहीबार
खेल

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको स्वरूप फेरियो

गत वर्ष पोखरा रंगशालामा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विजेता स्कुल। फाइल तस्बिरः नागरिक

पोखरा–विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ‘राष्ट्रपति रनिङ सिल्ड’को स्वरुप फेरिएको छ। विगतमा जिल्ला खेलकुद विकास समितिमार्फत जिल्लाका विद्यालयहरूबीच हुने प्रतिस्पर्धा अहिले स्थानीय निकायस्तरीय आयोजना गर्ने प्रावधान छ।

स्थानीय निकायबाट छनोट भएका विद्यालयबीचको अन्तिम प्रतिस्पर्धा भने जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हुनेछ। त्यसपछि मात्र जिल्ला च्याम्पियन घोषणा गरिनेछ।

नेपाल सरकार युवा तथा खेलुकद मन्त्रालयले राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को तेस्रो संशोधन (२०७६) अनुसारजिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजकले स्थानीय निकायस्तरीय प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका विद्यालयलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराउनुपर्ने प्रावधान छ। पहिलो चरणमा स्थानीय निकायका विद्यालयहरूबीच प्रतिस्पर्धा गराई छनोट भएका विद्यालयहरूले जिल्लास्तरीय प्रतियोगितामा समावेश हुने नियम छ।

निर्देशिकाअनुसार कास्कीका चार गाउँपालिकामा र एक महानगरपालिका छुट्टाछुट्टै राष्ट्रपति रनिङ सिल्ड आयोजना हुने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ। दुई गाउँपालिकामा प्रतियोगिता टुंगिसकेको छ। कास्कीको मादी र रुपा गाउँपालिकाले प्रतियोगिता टुंग्याइसकेका छन्। मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ(श्याम)ले राष्ट्रपति रनिङ सिल्ड गत चैत २८ र २९ गते नै टुंग्याएको बताए।

उनले दुईदिने प्रतियोगितामा विशेषगरी भलिबललाई मात्र समावेश गरिएको जानकारी दिए। ‘बजेट थोरै थियो। स्कुल टाढा छन्। खेलाडीलाई आवासीय व्यवस्था मिलाउनुपर्ने बाध्यता थियो। त्यही भएर १० माविलाई सहभागिता गराई भलिबल प्रतियोगिता आयोजना गरेर टुंग्यायौं,’ उनले भने, ‘यो वर्ष एथलेटिक्सलगायतका अन्य खेल समावेश गरिएन। अर्को वर्ष समावेश गर्नेछौं।’ मादीमा ५० विद्यालय छन्।

स्थानीय निकायमा छनोट भएका विद्यालयले मात्र जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

रुपा गाउँपालिकाले पनि यही वैशाख १८ र १९ गते प्रतियोगिता टुंग्याएको जनाएको छ। रुपा गाउँपालिकामा ३२ विद्यालय छन्। २२ वटा आधारभूत विद्यालय हुन् भने १० वटा मावि छन्। ‘१० माविको सहभागितामा भलिबल, एथलेटिक्सलगायतका खेलहरू सञ्चालन गरेर राष्ट्रपति रनिङ सिल्ड टुंग्याइसक्यौं,’ रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भने। स्थानीय निकायमा आयोजना गरिने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता टुंग्याउन युवा तथा खेलकुद मन्त्रालयले सम्बन्धित स्थानीय निकायलाई एक÷एक लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। मादीका अध्यक्ष गुरुङका अनुसार एक लाख रुपैयाँले नपुगेर गाउँपालिकाले पनि केही रकम व्यवस्थापन गरी टुंग्याएको छ। अब कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउपालिकासँगै महानगरपालिकाभित्रका विद्यालयहरूलाई समेट्दै प्रतियोगिता सञ्चालन गर्नुपर्नेछ।

‘बजेट आइसकेको छ। आएको बजेटले कप किन्न पनि पुग्दैन। कसरी आयोजना गर्ने ?’ माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले भने, ‘विद्यालयलाई परिपत्र पनि गरिसकेका छैनौं।’ उनले जेठ महिनाभित्र आयोजना गर्ने तयारी गरिएको बताए। ‘बजेटले पुगेन भने नगर्न पनि सक्छौं,’ उनको भनाइ थियो। उनले राष्ट्रपति रनिङ सिल्डका लागि एकलाख रुपैयाँले नपुग्ने स्पष्ट पारे। गाउँपालिकामा ४६ वटा विद्यालय छन्। जसमध्ये तीन बोर्डिङ र ४३ सामुदायिक विद्यालय छन्। लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानलाई आयोजनास्थल तोकिनेछ।

यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने बजेट आएपनि गाउँपालिकाको बैठकले मात्र प्रतियोगिताबारे टुंगो लगाउने बताए। ‘खेलस्थल र कुन–कुन खेल समावेश गर्ने विषयमा छलफलबाट मात्र टुंग्याउँछौं,’ उनले भने, ‘छलफलले टुंग्याएपछि जेठ महिनाभित्रै प्रतियोगिता आयोजना गरिनेछ।’ अन्नपूर्ण गाउँपालिकामा भने ५४ वटा विद्यालय छन्। दुई गाउँपालिकासँगै महानगरपालिकाले पनि प्रतियोगिता आयोजना गर्ने मिति तय गरिसकेको छैन। महानगरपालिकामा सामुदायिक र बोर्डिङ स्कुल गरी अझ बढी विद्यालय छन्।

विद्यालयस्तरदेखि नै खेलकुदको विकास र खेलाडीको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यलेबर्सेनि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिँदै आएको छ। प्रतियोगिता विशेषगरी १८ वर्षमुनिका १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले भलिबल, एथलेटिक्सलगायतका विभिन्न खेलहरूमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ। चारै गाउँपालिकासँगै महानगरपालिकाले पनि प्रतियोगिता टुंग्याएपछि मात्र जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिने कास्की जिल्ला खेलुकद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए।

‘चारै गाउँपालिका र महानगरपालिकाबाट छनोट भएका विद्यालयबीच जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्नेछौं,’ उनले भने, ‘स्थानीय निकायको प्रतियोगिता टुंग्याएपछि मात्र जिल्लास्तरीय गरिनेछ। जिल्लास्तरीयमा प्रतियोगितामा गाउँपालिका र महानगरपालिकाबाट छनोट भएका १० विद्यालयको सहभागिता हुनेछ।’

विगतमा पोखरा रंगशालामै आयोजना गरिने विद्यालयस्तरीय राष्ट्रपति रनिङसिल्डमा दूरदराज गाउँका विद्यालयहरू समावेश हुने सम्भावना निकै कम थियो। अहिले स्थानीय निकायले नै आयोजना गर्ने भएपछि बढीभन्दा बढी विद्यालयको सहभागिता हुने विश्वास गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App