७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सुडानमा सेना र विपक्षीबीच सहमति

v

खार्तुम – सुडानको सैनिक सत्ता र विपक्षीबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्ने गरी सहमति भएको छ। विपक्षीले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्रसहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन्।

सुडानमा विगत २० वर्षदेखि जनरल ओमार अल–बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो तर सेनाले बसिरलाई पदच्यूत गरी आफैंले राष्ट्रिय सैनिक परिषद् गठन गरी सरकार सञ्चालन गरिरहेका छन्। दुवै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो तर एक जना सैनिकको हत्या भएपछि भड्किएको हिंसाका कारण अन्य पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएपछि वार्तामा गतिरोध आएको थियो।

करिब १२ घण्टाको वार्तापछि दुवै पक्षले संक्रमणकालीन तीन वर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन्। सैनिक परिषद्का एक सदस्य जनरल यासेर अल–आताले तीन वर्षको संक्रमणकालीन अवधि रहने गरी दुवै पक्षबीच सहमति भएको जानकारी दिएका छन्। जनरल आताले शक्ति बाँडफाँडको विषयसहित आगामी सरकार गठन गर्ने बारे एक दुइदिनभित्रै विपक्षी गठबन्धन ‘एलायन्स फर फ्रिडम एन्ड चेन्ज’सँग सम्झौता हुने बताए।

प्रदर्शनमा सहभागी मोहम्मद अब्दुल्लाहले दुवै पक्षबीच मध्यस्थता भएकामा खुशी व्यक्त गरे तर उनले सैनिक परिषद्सँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। सैनिक परिषद्ले आगामी छ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्र जस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्ति सम्झौता गर्ने तयारी पनि गरेको बताइएको छ।
 

प्रकाशित: २ जेष्ठ २०७६ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App