७ वैशाख २०८१ शुक्रबार
समाज

नगरपालिकाको सपिङ कम्प्लेक्समा गुणस्तरहीन इटा

कैलाली- भ्रष्टाचारमा शून्यसहनशीलता भनेरै गौरीगंगा नगरपालिकाको कार्यालयमा बोर्ड टाँगिएको छ। तर,  त्यही बोर्ड नजिकै गुणस्तरहीन इटा प्रयोग गरेर नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउन थालेको छ। इटा भट्टाको ‘लालपेटी’मा प्रयोग भएका कच्चा इटा प्रयोग गरेर भवन निर्माण गरिन थालिएको भन्दै सर्वत्र विरोधका आवाज सुनिन थालेका छन्।

करिब साढे ५७ लाख रुपैयाँमा निर्माण गरिन थालिएको सपिङ कम्प्लेक्समा प्रयोग गरिने इटा गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। ‘नगरपालिकाकै अगाडि बनाउन थालिएको सपिङ कम्प्लेक्समा लालपेटीमा प्रयोग भएका कच्चा इटा प्रयोग भएको देखियो,’ स्थानीय तथा कांग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीले भने,‘यो सरासर गतल हो।’ नगरपालिकाकै आँगन अगाडि नै यसरी गुणस्तरहीन इटा ठेकेदारले हाकाहाकी प्रयोग गरिरहेको छ भने, ग्रामीण भेगमा भइरहेको विकास निर्माणको अवस्था कस्तो होला ? भन्दै जोशीले नागरिक संवाददातासँग प्रतिप्रश्न गरे। 

‘नगरपालिकाकै आँगनमा भइरहेको सपिङ कम्प्लेक्समा प्रयोग गरिने इटा गुणस्तरहीन ल्याइनु प्राविधिक र जनप्रतिनिधिको मिलेमतो भएको आशंका गरिन थालिएको छ,’ जोशीले भने,‘यसको जवाफ प्राविधिक र जनप्रतिनिधिले दिनुपर्छ।’

नगरपालिकाले आफ्नै परिसरमा ६ कोठे सपिङ कम्प्लेक्स निर्माणका लागि ५७ लाख ६५ हजार रुपैयाँमा जयश्री बाराही आजीवन निर्माण सेवालाई ठेक्कामा दिएको थियो। ठेकेदार कम्पनीको लापरवाहीका कारण गुणस्तरहीन इटा ल्याइएको नगरपालिकाका इञ्जिनियर दाताराम जोशीले बताए। ‘हामी कार्यव्यस्तताले निर्माणस्थलमा ध्यान दिन सकेनौ,’ इञ्जिनियर जोशीले भने,‘गुणस्तरहीन इटा देखेपछि तुरुन्तै हटाउन निर्देशन दिइसकेका छौ।’

निर्माण कम्पनीका प्रोप्राइटर राजेश मधुकर्मीले इटा भट्टावालाकै लापरवाहीले सपिङ कम्प्लेक्स निर्माण स्थलमा गुणस्तरहीन इटा पुर्‍याइदिएको बताए। ‘मलाई थाहा भएन,’ उनले भने,‘इटा पठाइदिन भनेर इटा भट्टावालालाई भनेको थिएँ, गुणस्तरहीन इटा पठाइदिएछ।’ भवन निर्माण स्थलमा खसालिएका गुणस्तरहीन इटा तुरुन्तै हटाउन इटाभट्टा कम्पनीलाई भनिसकेको उनले बताए। ‘गुणस्तरहीन इटा तुरुन्तै हटाउन भनिसकेको छु,’ उनले भने,‘सम्भवतः आज नै हटाउँछ होला।’

नगरपालिकाको सपिङ कम्प्लेक्समा लालपेटीका गुणस्तरहीन इटा  प्रयोग गर्न ल्याइनु ठेकेदार कम्पनीको लापरवाही भएको नगरपालिकाका मेयर भीमबहादुर देउवाले बताए। ‘हामीले भवन निर्माणका लागि ठेकेदारलाई जिम्मा दिएका छौं,’ उनले भने,‘मापदण्ड अनुसारको सामग्री प्रयोग गर्नुपर्छ, नत्र पास हुँदैन।’ ठेकेदारलाई भनेर तुरुन्तै लालपेटी इटा हटाउन निर्देशन दिइसकेको पनि उनले बताए। 

 

प्रकाशित: २ जेष्ठ २०७६ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App