८ वैशाख २०८१ शनिबार
समाज

प्रचारप्रसारको गति तीव्र पार्छौंः प्रदेश सरकार

पोखरामा आन्तरिक पर्यटन वर्ष २०१९ को प्रचार गर्न तयार पारिएको गण्डकी प्रदेशभित्रका ११० पर्यटकीय गन्तव्यको जानकारी दिने पुस्तक सार्वजनिक गर्दै प्रदेशका पर्यटनमन्त्री विकास लम्साल। तस्बिरः उमेश पुन/नागरिक

पोखरा– ‘आन्तरिक पर्यटन २०१९’ घोषणा गरेको गण्डकी प्रदेश सरकारले बल्ल साढे चार महिनापछि केही सक्रियता देखाएको छ। प्रचारप्रसारका सामग्री सार्वजनिक गर्दै अबको दुई महिनापछि पोखरामा प्रयाप्त आन्तरिक पर्यटक भित्रिने गरि प्रचारप्रसार गर्ने तयारी गरेको प्रदेशको पर्यटन मन्त्रालयले बताएको छ। पर्यटन व्यावसायी भने प्रदेश सरकारको पर्यटनको गति सुस्त भएको आरोप लगाएका छन्।

गति सुस्त भयोः पर्यटन व्यवसायी
प्रचारप्रसारको गति तीव्र पार्छौंः प्रदेश सरकार

वर्षभरिमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेको गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयले प्रदेशभित्रका जिल्लाका महत्वपूर्ण एक सय १० वटा पर्यटकीय गन्तव्य पहिचान गर्दै प्रचारप्रसारका सामग्री सार्वजनिक गरेको हो। प्रदेश सरकारले यसअघि तय गरिएका कुनै पनि कार्यक्रम अहिलेसम्म तोकिएको समयमा हुन सकेका छैनन। ती कार्यक्रम कहिले हुन्छन् भन्ने पनि तय भएको छैन।

आन्तरिक पर्यटक भित्र्याउने गरी अहिलेसम्म सरकारी स्तरबाट प्रचारप्रसारका कार्यक्रम भने अझै सुरु भइसकेका छैनन्। तर, प्रदेशका पर्यटनमन्त्री विकास लम्साल अबको दुई महिनापछि प्रदेशमा आन्तरिक पर्यटक प्रयाप्त आउने गरी प्रचारप्रसारको तयारी थालेको बताउँछन्। त्यसका लागि अहिलै नै प्रचार सामग्री तयार पारेको उनले जानकारी दिए।

प्रदेशमा भित्रिएका १५ लाख आन्तरिक पर्यटकमध्ये ५० प्रतिशत पाहुना पोखराबाहिरका गन्तव्यमा पठाउने प्रदेश सरकारको योजना छ।


प्रदेश सरकारले तयार पारेको योजनाअनुसार अहिले नै देखिने गरी काम नभए पनि अबको दुई महिनापछि तीव्र गतिमा प्रचारप्रसारका कार्यक्रम हुने गन्तव्य समेटिएको मन्त्री लम्सालले बताए। ‘एक सय १० गन्तव्यको पुस्तक सार्वजनिकसँगै प्रदेशभित्रका गन्तव्यबारे पर्यटकलाई जानकारी दिएका छौं,’ लम्सालले भने, ‘यस्तै पुस्तक लगातार पाँच वर्षसम्म निकाल्छाैं। पुस्तकका माध्यमबाट पनि प्रवद्र्धन हुन्छ भन्नेमा विश्वस्त छौ।’

आन्तरिक पर्यटक भित्र्याउन प्रदेशको मन्त्रालय घरघरमा पुगेर प्रवद्र्धन गर्ने योजना बनाएको उनले बताए। ‘हामीले निकालेका प्रचार सामग्रीमध्ये कुनै न कुनै सामान प्रदेशको २५ लाख जनताको घरमा पुग्नुपर्छ,’ उनले भने, ‘त्यसो भयो भने बल्ल पाहुना आउनेछन्, त्यसले समग्र प्रदेशलाई समृद्ध बनाउनेछ।’

गण्डकी प्रदेशलाई पर्यटनको मुख्य गन्तव्य बनाउन चाहेको उनले बताए। उनले केही समयभित्रै आन्तरिक पर्यटकको प्रवद्र्धनार्थ रोड सोसमेत गरिने जानकारी दिए। पोखराबाट सुरु हुने रोड सो कार्यक्रम विराटनगर, जनकपुर, हेंटौडा, लुम्बिनीलगायतका सहरमा गरिने मन्त्री लम्सालले बताए।

‘अहिले हामीले काम गरेको देखिएको छैन। हामीले ६ महिना तयारी गरेर बाँकी ६ महिना पर्यटक भिœयाउने हो,’ उनले भने, ‘प्रदेशभित्रका ११ वटै जिल्लामा स्थानीय पर्यटन समिति गठन गरेर काम गर्ने हो। त्यस्तै प्रदेशभित्रका सबै स्थानीय तहमा पनि कार्यक्रम गर्ने हो। स्थानीय तहले पनि प्रचारप्रसारका कार्यक्रम गर्नेछन्। ‘सबैको सहयोगमा पर्यटक भित्रयाउन खोजेका हौ,’ उनले भने।

त्यस अवसरमा मन्त्रालयले निकालेका प्रचार सामग्रीलाई मन्त्री लम्सालले सार्वजनिक गरेका थिए। मन्त्रालयले अहिले एक सय १० गन्तव्य समेटिएको पुस्तक, पेनड्राइभ, टिसर्ट, क्याप, झोला, कपलगायतका सामग्री निकालेको छ। मन्त्रालयका आएका जोकोही पाहुनालाई यी प्रचारसामग्री दिएर पठाउने उनले बताए। त्यस्तै, गैरआवासीय नेपालीसँग समन्वय गर्दै विभिन्न देशमा पर्यटन दूत नियुक्त गर्ने तयारी रहेको मन्त्री लम्सालले जानकारी दिए।

संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन पनि प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाउन थालेको मन्त्रालयले बताएको छ। प्रदेशमा भित्रिएका १५ लाख आन्तरिक पर्यटकमध्ये ५० प्रतिशत पाहुना पोखराबाहिरका गन्तव्यमा पठाउने प्रदेश सरकारको योजना छ। पर्यटनबाट हुने आयआर्जन तथा लाभलाई गरिब तथा विपन्न वर्गमा पु-याउन खोजिएको पनि मन्त्रालयले जनाएको छ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष केदार शर्माले अहिले प्रदेश राजधानी पोखरासँग सडक सञ्जाल विस्तार हुन नसकेको बताए। उनले प्रचारप्रसारको काममा पनि ढिलासुस्ती भएको बताए। आधा वर्ष सकिन लाग्दा पनि प्रचारप्रसार नभएको उनले बताए।

सडक सञ्जाल नहुँदा प्रदेशले पर्यटनबाट उचित लाभ पाउन नसकेको शर्माले बताए। ‘सडक र हवाई सञ्जाल विस्तार हुनै सकेको छैन। त्यसले गर्दा पर्यटकलाई आउजाउमा समस्या छ,’ शर्माले भने, ‘पर्यटकलाई आउजाउमा समस्या भयो भने उनीहरू घुम्न निस्किन हिचकिचाउँछन्।’

परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रदेश सरकार र निजी क्षेत्र मिलेर अघि बढे मात्र पर्यटक भित्रिने भएकाले सहकार्य बढाउनुपर्ने सुझाव दिए। आन्तरिक पर्यटकको भरमा पोखराको पर्यटन क्षेत्र सञ्चालन भएकाले पनि प्रदेश सरकारले सक्रियता देखाएर आन्तरिक पर्यटकलाई पोखरा भित्रिने माहोल बनाउनुपर्ने उनले सुझाव दिए। पोखराले अहिलेसम्म प्रदेश सरकारको गतिले तीव्रता नपाएको बताए।

प्रकाशित: २ जेष्ठ २०७६ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App