coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेशबाटै एफएम–टिभीको फ्रिक्वेन्सी दिने तयारी

जनकपुर– प्रदेश २ को सरकारले मातहतका जिल्लामा एफएम रेडियो र टेलिभिजन प्रसारणका लागि आफैँले अनुमति दिनेगरी कानुन निर्माण प्रक्रिया अघि बढाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बुधबार प्रदेशसभामा ‘प्रदेश एफएम रेडियो तथा टेलिभिजन सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेपछि यो प्रक्रिया अघि बढेको हो।

‘जनतालाई सुसुचित हुने हकअन्तर्गत उपलब्ध संवैधानिक अधिकारलाई उपयोग गर्दै प्रदेशभित्र एफएम रेडियो तथा टेलिभिजन सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिनेगरी विधेयक ल्याएका छौं’ मन्त्री यादवले भने। यो विधेयक पारित भएपछि रेडियो र टेलिभिजनको फ्रिक्वेन्सी तोक्नुका साथै प्रदेश सरकारले आफैँ पनि रेडियो, टेलिभिजन प्रसारण गर्न सकिने उनको भनाइ थियो। प्रदेश सरकार गठन भएलगत्तै पनि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले आफैं टेलिभिजन प्रसारण गर्ने जनाएका थिए।

बुधबार बसेको प्रदेशसभा बैठकमा दुग्ध विकास बोर्ड गठनसम्बन्धी विधेयकउपरको सैद्धान्तिक छलफल पनि सकिएको छ। छलफलको क्रममा नेपाली कांग्रेसका विधायक शिवचन्द्र चौधरी र नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले विधेयकमा केही बुँदा संशोधन गर्नुपर्ने औंल्याएका थिए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले दुवै विधायकको सुझाव ग्रहण गर्दै प्रादेशिक विकासको मुख्य आधारको रुपमा रहेको कृषि तथा पशुपालन प्रवद्र्धन कार्यमा सत्तापक्ष र प्रतिपक्षको भावनाबाट माथि उठेर अघि बढ्न आग्रह गरे।

विधायक चौधरीले बोर्ड गठनको क्रममा मन्त्रीले आसेपासेलाई नियुक्त गर्न सक्ने आशंका व्यक्त गरेका थिए। विश्वकर्माले बोर्डमा वैदेशिक अनुदान तथा ऋण प्राप्तिलगायत विषयमा निर्णय लिने प्रक्रिया प्रदेश सरकारको मातहतमा राख्नुपर्ने सुझाएका थिए।

तेस्रो अधिवेशन सुरु भएदेखि जम्मा आठ वटा बैठक बसेको प्रदेशसभामा लामो समयदेखि थन्किरहेको विधेयकहरु उपर छलफल टुंग्याउन हरेक दिन बैठक बस्न थालेको छ। तीन दिनदेखि लगातार बसिरहेको प्रदेशसभाको बैठक बिहीबार अपराह्न २ बजे आह्वान गरिएको छ। प्रदेश सरकारले जेठ १२ गते नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनायो।

प्रकाशित: २ जेष्ठ २०७६ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App