coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

फ्रान्स आउनुअघि...

केही वर्षयता फ्रान्स आउने नेपालीको संख्या निकै बढेको छ । विशेषगरी विद्यार्थी भिसामा उच्च शिक्षाका नाममा आउनेहरू धेरै छन् । नेपाली कन्सल्टेन्सी उक्लेदेखि फ्रान्सेली कलेज ओर्लेसम्म पाइलापाइलामा कन्सल्टेन्सी र दलालको भर पर्दा नेपाली विद्यार्थी सास्ती खेप्न बाध्य छन् । यसले गर्दा फ्रान्समा दुःख पाउने नेपाली बढ्दो छ। भाषा ज्ञान नहुुनु, वास्तविकता नबुझ्नु र कन्सल्टेन्सीलाई पूरै विश्वास गर्नुले यस्तो अवस्था सिर्जना भएको हो ।

युरोपको आकर्षक आर्थिक केन्द्र फ्रान्स देखेर जो कोही लोभिन्छन् । झन् हाम्रोजस्तो गरिब देशका नागरिकलाई यसले नतान्ने कुरै भएन । फलानोले फ्रान्स गएर कमाउनु कमाएको छ, घर, गाडी र बैंक ब्यालेन्स टन्न जोडेको छ, फलानो कन्सल्टेन्सीले पठाउँछ, आदि इत्यादि चर्चा अचेल नेपालमा बढेको छ । हो, फ्रान्स, नेपालीका लागि पक्कै पनि उच्च शिक्षा र रोजागारीका लागि राम्रो गन्तव्य हुनसक्छ तर यहाँ आउनुअघि सावधानी अपनाउनु अति आवश्यक छ ।

पेरिसको गार्देनोर्डमा दिनहुँजसो नेपालीको बिजोग देखिन्छ । केही समयअघि मास्टर पढ्न भनेर फ्रान्सको लियों सहर आएका एक हुल विद्यार्थी पढाइ छाडेर केही कमाउने ध्येयले पेरिस आए भने अन्य यत्रतत्र लागे । त्यस्तै केही नेपाली एक वर्षको पढाइ सकेपछि शुल्क तिर्न नसकेर अहिले काम गरिरहेका छन्, पैसा कमाएर पुनः अर्काे वर्ष अध्ययन सुरु गर्ने सोचका साथ । यो वर्ष कमाएर अर्को वर्ष पढाइ सकुँला भन्ने धेरैले पूरा गर्न सक्दैनन् ।

काठमाडौँमा च्याउझैँ उम्रेका कन्सल्टेन्सीले प्लस टु पढ्दै गरेका कलिला विद्यार्थीका मस्तिष्कमा विदेश जानुपर्छ, नेपालमा बसेर के गर्नु भन्ने सोच घुसाइदिन्छन् । हामी फलानो देशमा पु¥याइदिन्छौँ, १२ को परीक्षा सकेपछि हामीकहाँ आऊ भनेर ठूलो प्रचारप्रसार गर्छन् ।

शिक्षा र प्रविधिमा देशले निकै फड्को मार्दा पनि हामीमा अति सामान्य कुरा पनि इन्टरनेटमा खोजेर बुझ्ने बानी विकास हुन सकेको छैन । उच्च शिक्षाका निम्ति खुलेका धेरैजसो कन्सल्टेन्सीले विशेषगरी अमेरिका, युके, जापान, र अस्ट्रेलिया पठाउने गरेका छन् । युरोपतिर छुट्टै भाषा चाहिने हुँदा यो चलन पहिले निकै कम थियो तर अहिले थुप्रै देशमा अंग्रेजीमा पढाइ हुने हुँदा फ्रान्सलगायतका देशमा पठाउन नेपालमा कन्सल्टेन्सी खुलेका छन् । यी देशमा रहेका विशेषगरी निम्नस्तरका कलेज तथा विश्वविद्यालयमा नेपाली कन्सल्टेन्सीले कमिसनको सहमति गरी विद्यार्थी पठाउने चाँजोपाँजो मिलाउँछन् ।

उच्च शिक्षाका लागि युरोपकै अब्बल मानिने फ्रान्स शिक्षामा निकै अगाडि छ । संसारका थुप्रै उत्कृष्ट विश्वविद्यालय यहाँ छन् । राजनीति, अर्थशास्त्र, मानविकी, फेसन, हस्पिटालिटी, टुरिजम आदिमा फ्रान्स उतिबेलादेखि अग्रस्थानमा छ । यति सुविधायुक्त ठाउँमा नेपाली आएर पढ्नु आफैँमा ठूलो कुरा हो तर तयारी नगरी कन्सल्टेन्सीको मात्रै भर पर्दा अधिकतर नेपाली तल्लो स्तरका कलेजमा पर्ने गरेका छन् । कन्सल्टेन्सीले यसरी काउन्सिलिङ गर्छन् कि मानौँ, यहाँ अंग्रेजी मात्रै बोलिन्छ । तर कक्षाबाहिर फ्रेन्चबाहेक अरू भाषा बोलिँदैन । बाहिर घुमफिर गर्दा, किनमेल गर्दा, प्रशासनिक काम पर्दा भाषा नबुझेर यहाँ धेरैले दुःख पाउँछन् । पहिलोपटक यहाँको एयरपोर्ट झर्ने नेपाली विद्यार्थीलाई नेपालकै कन्सल्टेन्सीमा आबद्ध दलालले २ सय युरोसम्म ज्याला लिएर उसै(विद्यार्थी)लाई रेलको टिकट काट्न लगाएर कोठामा पु¥याउने गरेका छन् ।

त्यस्तै कन्सल्टेन्सीले फ्रान्समा आफूले सक्ने कलेजसँग कमिसन खेती गरेका हुन्छन । जहाँ फाइदा हुन्छ त्यहीँ तिनले विद्यार्थी पठाउँछन् । के पढ्न मन छ, भविष्यमा के गर्न मन छ भन्ने मतलब नगरी कन्सल्टेन्सीले आफूले जुन कलेजसँग सहमति गरेको छ त्यहीँ ठाउँमा विद्यार्थीलाई जबर्जस्ती पठाउने गर्छन् । फलस्वरूप नेपाली विद्यार्थीले न पढाइ पूरा गर्छन्, भाषा अज्ञानताका कारण न काम नै पाउँछन् न त भिसा नै बढाउन सक्छन् । अन्ततः अवैध बसोबास गरी अति निम्नस्तरका काम गर्न बाध्य हुन्छन् किनकि तिनलाई नेपालमा ऋण तिर्नुपर्ने हुन्छ ।

केही वर्षयता कन्सल्टेन्सीमार्फत फ्रान्स आएका नेपाली अति सामान्य क्याम्पस पढिरहेका छन् । जुन कलेज गुमगाम चल्छन् र न त्यसको सम्बन्धन बलियो छ, न त धेरै विषय नै पढाइ हुन्छ । त्यस्ता क्याम्पसमा पढेका कोही पनि ठूला ठाउँमा पुगेको उदाहरण छैन । हामीले खोजेको उच्च शिक्षा यस्तै हो त ? अवश्य होइन । ती कलेज त केवल हाम्रोजस्तो अशिक्षा र अज्ञानताले ग्रस्त मुलुक शोषण गर्ने उद्देश्यले मात्रै सञ्चालन गरिएका हुन् भन्दा अत्युक्ति नहोला । जसबाट हामी सचेत हुन जरुरी छ । आफैँले इन्टरनेटमा हेर्ने हो भने सबै कुरा त्यो पनि निःशुल्क जानकारी पाउन सक्छौँ ।

युरोपमा शिक्षा निःशुल्क हो तर त्यसका लागि देशअनुसारका भाषामा पढ्नुपर्ने हुन्छ । बि टु लेबल बराबरको भाषा आफ्नै देशमा सिके पनि सजिलै भर्ना हुन पाइन्छ । सकिन्छ भने भाषासँगै केही सीप पनि सिकेर फ्रान्स आउने हो भने पढाइ र काम दुवैको अवसर प्रशस्त पाइन्छ ।

हो, यहाँ विश्वकै राम्रा विश्वविद्यालय छन् । जहाँ पढ्न पाउन निकै मुस्किल पर्छ । अंग्रेजीमा पढाइ हुने यहाँका कलेज पढ्न ठूलो खर्च लाग्छ । तर संसारभरिबाट आउनेसँग प्रतिस्पर्धा गर्न सके नेपालीले पनि छात्रवृत्ति पाउन सक्छन् । केही नेपाली यसरी पनि पढिरहेका छन् । कन्सल्टेन्सीको भर नपरी प्रविधिको प्रयोग गरी यो अवसर प्राप्त गर्न सम्भव छ ।

अन्त्यमा, फ्रान्सले विश्वका थुप्रै देशमा ‘फ्रान्सेली केन्द्र’ स्थापना गरी आफ्नोबारे जानकारी दिँदै आएको छ । यसले उच्च शिक्षा, कला, संस्कृति आदिबारे निःशुल्क जानकारी दिने गरेको छ । ‘फ्रान्सेली केन्द्र’ नेपालमा पनि छ जुन काठमाडौँमा छ । त्यसभित्रको ’क्याम्पस फ्रान्स’ ले फ्रान्सको उच्च शिक्षाबारे नेपाललाई चाहिने सबै जानकारी निःशुल्क दिन्छ । तसर्थ यसको अधिकतम प्रयोग गरी उच्च शिक्षाका लागि फ्रान्सलाई राम्रो गन्तव्य बनाऔँ । र, नेपाल फर्केर देश निर्माणमा टेवा पु¥याऔँ ।

 

प्रकाशित: २ जेष्ठ २०७६ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App