७ वैशाख २०८१ शुक्रबार
अर्थ

झारल सिकार शुल्क रू. ९ लाखबाट घटेर १ लाख ५० हजार कायम

बागलुङ– ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर ह्वात्तै घटेको छ। अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ।

गत असोज–मङ्सिरमा एउटा झारल सिकार गरेको रु. ९ लाख ३१ हजार लिने गरेकोमा अहिले घटेर रु. १ लाख ५० हजार पुगेको छ। यस्तै गत वर्षको पहिलो सिकार याममा नाउर सिकार गरेबापत सिकारीले रु. ३ लाख ३० हजारसम्म राजस्व बुझाएका थिए। तर अहिले एउटा नाउरको रु. ७५ हजार राजस्व लिने गरेको छ।

सिकार एजेन्सीहरुबीच प्रतिस्पर्धा नभएपछि पछिल्लो याममा सिकार दस्तुर ह्वात्तै घटेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन्। सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका कारण नै राजस्वको दर घटबढ हुने गरेको छ।

अहिले चालु सिकार याम (फागुन–वैशाख)मा विभिन्न देशका गरी ११ सिकारी ढोरपाटनमा सिकारका लागि आइपुगेका छन्। प्रत्येक याममा १३ नाउर तथा ६ झारलको सिकार अनुमति दिने गरिएको छ। "सिकार एजेन्सीबीचमा प्रतिस्पर्धा हुँदा दस्तुर पनि बढ्छ, विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सीहरु छानिने गर्छन्", अधिकृत बरालले भने।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई यामका लागि सिकार खुल्ला गर्ने गरेको छ। बर्सेनि ढोरपाटनमा सिकारी पठाउँदै आउनुभएका ग्लोबल सफारी प्रालिका शम्शेर पराजुली बर्सेनी दोस्रो याममा प्रतिस्पर्धा कम हुने बताउँछन्।

"असोज–मङ्सिरको तुलनामा यो याममा सिकारीको कम रुचि हुन्छ," उनले भने। सिकार खेल्न अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका, नर्वेलगायत देशबाट सिकारी ढोरपाटन पुग्छन्। सिकारबाट मात्रै वार्षिक करिब एक करोड राजस्व सङ्कलन हुने गरेको छ।

अहिले नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोवल सफारी प्रालि, ट्र्याक एण्ड टेल्स प्रालि र वपन नेपाल वाइल्ड लाइफ सफारीमार्फत सिकारी यहाँ आएका छन्। आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेल्ने गरिन्छ। साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ। रासस

प्रकाशित: ७ वैशाख २०७३ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App