७ वैशाख २०८१ शुक्रबार
समाज

नसर्ने रोगबारे अन्तरक्रिया

नुवाकोट  - दुप्चेश्वर गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले हरेक नागरिकलाई चेतना प्रदान गर्ने उद्देश्यले हालै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी सहभागी गराई नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीले विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन र वातावरणीय प्रदूषणका कारण मानवजीवन तथा स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको निष्कर्ष निकालेका छन्।

मुटु तथा रक्तनलीको रोग, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र क्यान्सर (स्तन र पाठेघर) गरी मुख्य चार प्रकारका रोगलाई नसर्ने रोगको रूपमा लिने गरिन्छ। व्यक्ति स्वयंले संयमता नअपनाउँदा यी रोग लाग्ने गरेको पाइन्छ। धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक क्रियाकलाप र मध्यपानको प्रयोगले ती रोगले सताइरहेको भन्दै जीवनशैलीमा परिवर्तन गर्न नागरिकलाई बारम्बार झक्झकाइरहनुपर्ने स्वास्थ्य शाखा प्रमुख विहारीशरण कुइँकेलले बताए। ‘मानव स्वास्थ्यलाई हानि गर्ने जोखिमपूर्ण व्यवहारले बढी तौल र मोटोपना हुने, उच्च रक्तचाप बढ्ने, रगतमा ग्लुकोज तथा कोलेस्टोरलको मात्र बढ्ने हुन्छ। यसले दैनिकीलाई असहज बनाइरहेको हुन्छ,’ कुइँकेलले भने, ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ। सरुवा रोग थोरै खर्चमा निको हुन्छ तर नसर्ने रोग जीवन्त रहन्छ र आर्थिक भार धेरै हुन्छ। आफूलाई जति नै स्वस्थ सम्झिए पनि वर्षमा एक पटक रक्तचाप, ग्लुकोज र कोलेस्टोरल जाँच गराउनैपर्छ।’

पछिल्लो समय विश्वमै नसर्ने रोगहरूको प्रकोप बढिरहेकाले यस्ता रोगको न्यूनीकरणका लागि समुदाय स्तरसम्म जनचेतनाको आवश्यकता रहेको छ।

विश्वमै नसर्ने रोगहरूको प्रकोप बढिरहेको छ। नसर्ने रोगको न्यूनीकरणका लागि समुदाय स्तरसम्म जनचेतनाको आवश्यकता रहेको स्वास्थ्य कार्यालय नुवाकोटका पोषण अधिकृत जनार्दन सिलवालले बताए। ‘खानपान, शारीरिक व्यायामजस्ता व्यवहामा परिवर्तन ल्याउन सके नसर्ने रोगको महामारीलाई न्यूनीकरण गर्न सकिन्छ,’ सिलवालले भने, ‘देश संघीयतामा गएसँगै धेरै अधिकार स्थानीय सरकारमा निहित छ। विपन्न नागरिक कोषबाट नसर्ने रोग भएकाहरूले उपचारका लागि सहयोग त पाउँछन् तर यस्ता रोग निको नै हुन्छ भन्ने सम्भावना न्यून हुन्छ।’

अन्तक्र्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले स्वस्थ गाउँपालिका निर्माणका लागि कदम चालिरहेको भन्दै स्वास्थ्य शाखालाई नागरिकलाई प्रत्यक्ष सहयोग पुग्ने गतिविधिको आयोजना गर्न आग्रह गरिन्। गाउँपालिकाका वडाध्यक्षहरूले आफ्नो क्षेत्रका नागरिकको हितका लागि नसर्ने रोगबाट संयमता अपनाउन स्वास्थ्य संस्थासँग समन्वय गरी जागरण फैलाउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २ जेष्ठ २०७६ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App