८ वैशाख २०८१ शनिबार
समाज

मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध कालोपट्टी

खोटाङ – नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधनको माग गर्दै खोटाङका पत्रकारले कालोपट्टी बाँधेर काम गरेका छन्। मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले स्वतन्त्र पत्रकारितामा अड्चन खडा गर्ने खतरा देखिएको भन्दै बुधबार नेपाल पत्रकार महासघ जिल्ला शाखाको अगुवाइमा हातमा कालोपट्टी बाँधी विरोध गरिएको हो।

लोकतन्त्रको आधारभूत मूल्यको रूपमा स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामै बाधा पुग्ने स्थिति देखिएकाले विधेयक संशोधनको माग उठाइएको नेपाल पत्रकार महासंघले जनाएको छ। विधेयक संशोधनको मागमा दिक्तेलको त्रिवेणीचोकमा भेला भएका पत्रकारलाई अग्रज पत्रकार कृष्ण आचार्य र डम्बरसिंह राईले हातमा कालोपट्टी बाँधिदिएका थिए। पत्रकारितालाई निरुत्साहित गर्दै पत्रकारलाई सत्ता र शक्तिको भक्तिगानमा लैजाने नियत देखिएको पत्रकार कृष्ण आचार्यले बताए। त्यस्तै पत्रकार डम्बरसिंह राईले पत्रकारिताको नाममा मनपरी लेख्ने समूहलाई ठेगान लगाउने सन्दर्भमा विधेयक उचित देखिए पनि समग्र पत्रकारलाई एउटै भाँडामा राखेर कारबाही गर्न उचित नहुने उल्लेख गरेका छन्।

हातमा कालोपट्टी बाँधेपछि पत्रकारटोलीले समायोजन खबर र प्रभाव न्युजको कार्यालयमा अन्तक्र्रिया गरेको थियो। अन्तक्र्रियामा पत्रकारितामा देखिएका कतिपय समस्या हल गर्न कानुन आवश्यक भए पनि हाल ल्याउन लागिएको विधेयकले सच्चा पत्रकारलाई समेत असर पार्ने देखिएको निष्कर्ष निकालिएको छ। सो विधेयक हुबहु कार्यान्वयन भएको अवस्थामा भ्रष्टाचारलगायत विषयमा गरिने खोजी पत्रकारिता निरुत्साहित हुने खतरा औंल्याइएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App