coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इमान्दारमाथि तरबार झुन्डिएको महसुस हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले  इमान्दार व्यक्तिहरूमाथि तरवार  झुन्डिन रहेकाे महशुस हुने बताएका छन्।  उनले कानुनी राज्यमाथि गैरकानुनी राज्यकाे दबाब भएकाेसमेत खुलासा गरे। साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायत, सङ्घीय मामिला तथा स्थानीय विकास, अर्थ, गृह र ऊर्जा लगायतका मन्त्रालयका सचिव तथा उच्चस्तरीय कर्मचारीको संयुक्त बैठकलाई   निर्देशन दिँदै प्रधानमन्त्रीले इमान्दारमाथि सधैं तरवार झुन्डिएकाे महशुस गर्नु परेकाे बताएका हुन्।

“गैरकानुनी राज्यले कानुनी राज्यलाई कमजोर बनाउँदै लगेको छ, यसलाई अन्त्य गर्न नयाँ सङ्कल्पको आवश्यकता रहेको छ, म विचार गर्छु हाम्रो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दबाब छ, इमान्दारहरुमाथि तरबार झुन्डिएको महसुस हुन्छ”,  प्रधानमन्त्रीले भने। प्रधानमन्त्री दाहालले  केही काम गर्न खोज्यो, विभिन्न खालको अवरोध र दबाब आउने गर्छ भन्दै यसका विरुद्धमा लड्न दृढ सङ्कल्पका साथ कानुनी राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

गैरकानुनी राज्यले कानुनी राज्यलाई कमजोर बनाउँदै लगेको छ, यसलाई अन्त्य गर्न नयाँ सङ्कल्पको आवश्यकता रहेको छ, म विचार गर्छु हाम्रो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दबाब छ, इमान्दारहरुमाथि तरबार झुन्डिएको महसुस हुन्छ

साे अवसरमा प्रधानमन्त्री  दाहालले उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)को समग्र विकास एवम् प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले खानेपानीले गरेको काम विद्युत् प्राधिकरणलाई जानकारी हुँदैन, भौतिकले गरेको काम स्थानीयलाई थाहा हुँदैन, यसरी एउटा मन्त्रालय वा निकायले गरेको काम अर्को निकायलाई थाहा हुँदैन, यसले कसरी परिणाम निकाल्न सकिन्छ भन्ने प्रश्न गर्दै परिणाम निकाल्न एकीकृत र समन्वयात्मक रुपमा काम गर्न ती निकायलाई आग्रह  गरेका छन्।

बैठकमा प्रधानमन्त्री  दाहालले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डीलाई मर्मत गर्न, खानेपानी, सडक पूर्वाधार निर्माणमा समन्वय रुपमा काम गर्न निर्देशन पनि दिएकाे प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायतमन्त्री रमेश लेखक र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आ–आफ्नो मन्त्रालयको प्रगतिका वारेमा जानकारी गराएका थिए।

प्रकाशित: ८ कार्तिक २०७३ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App