८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपामा घोचपेच

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टतालाई मुद्दा बनाएर नेताहरुबीच घोचपेच सुरु भएको छ। नेकपानिकट युवा संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य ईश्वर पोखरेलबीच घोचपेच भएको हो।

कार्यक्रमको अन्तिममा बोलेका अध्यक्ष दाहालले तत्कालीन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरे। उनले आफूभन्दा अघि बोलेका नेता नेपाल र सचिवालय सदस्य पोखरेलका अभिव्यक्तिको खण्डन गरेका थिए। केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको उनको दाबी थियो। ‘मलाई अस्थिर भन्ने र विचार स्पष्ट भएन भन्नेहरुले हेरे हुन्छ, मेरै प्रस्तावमा पार्टी एकता भएको हो। मेरै प्रस्तावमा एमालेका तीनतीनजना नेताहरु प्रधानमन्त्री हुनुभएको हो’, उनले भने।

नेता माधव नेपाल र ईश्वर पोखरेलले अहंकार, अस्थिरता र वैचारिक अस्पष्टताबाट मुक्त हुनुपर्ने धारणा राखेपछि अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि औंला नउठाउन आग्रह गरे ।

उनले आफू समयअनुसार चल्ने नेता भएको दाबी गरे। आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै उनले आफूलाई साथ दिन तत्कालीन एमालेका नेता कार्यकर्तालाई आग्रह गरे। माधव नेपालको नामै लिएर उनले भने, ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो। उहाँ संसद्मा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो। सबैभन्दा ठूलो पार्टीको नेता हुँदाहुँदै मैले नै झलनाथजीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा काम गरेको हुँ।’

उनले थपे, ‘केपी ओलीलाई संविधान बनाऊँ तपाई प्रधानमन्त्री हुनुस् भनेकै हुँ। यो पटक पनि चुनावअघि नै उहाँलाई तपाईं प्रधानमन्त्री भनेको हुँ। अब तपाईंहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?’ त्यसअघि वरिष्ठ नेता नेपालले आफ्नो पार्टीका नेताहरुमा अहंकार देखिएको भन्दै सच्चिन आग्रह गरेका थिए। कम्युनिस्ट पार्टीले ल्याएको मत ५५ प्रतिशतमात्रैै भएको बताउँदै उनले थपे, ‘ख्याल गर्नुहोस्, दुईतिहाइ होइन,’ उनले भने। उनले अहंकार छाड्न र जनताको मन जित्ने काम गर्न सुझाव दिए। ‘अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डो¥याउँछ, हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्छ। जनताका पीर, मर्कामा सहयोगी भयौं, जनताको दुःख कष्टमा साथ दियौं र जनताको सुखमा पनि रमायौं भने जनताले हामीलाई मन पराउनेछन्,’ वरिष्ठ नेता नेपालले भने।

‘जनताका समस्या के हुन् ? चाहना के हुन् ? त्यो सुन्नुहोस्। म जोड दिन चाहन्छु, हाम्रो बानी के भएको छ भने धेरै बोल्ने, कम सुन्ने।’ उनले कसैको नाम पनि नलिईकन कम्युनिस्ट नेताहरुको आचरण र व्यवहार परीक्षणमा रहेको बताए। ‘हाम्रो आचरण र व्यवहारमा कतै ठूला समस्या त खडा भएका छैनन् ? अनौठो खालका विकृति त झांगिएका छैनन् ? पारदर्शिता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुँदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मूल्यांकन गरिन्छ कि गरिँदैन’, उनले लगातार प्रश्न गरे। त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेलले विचारमा स्पष्टता नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिए। तत्कालीन समयमा एमाले र माओवादी आआफ्नो हिसाबले अगाडि बढेको भन्दै उनले थपे, ‘एकताबद्ध भइसकेपछि पनि विचारमा अस्पष्टता भयो भने त्यसले हामीलाई अघि बढ्न दिँदैन।’

विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी एकताबद्ध भएर ठूलो त बन्ला तर यसले निर्णायक जित हासिल गर्न नसक्ने उनको भनाइ थियो। ‘संसारमा कम्युनिस्ट पार्टी ठूला बने, राज्यसत्ता कब्जा गरे, शासन सञ्चालन गरे तर ती पार्टी पुँजीवादीले एउटा पनि गोली प्रहार नगरीकन तासका महल ढलेजस्तो भएर ढले। एकताबद्ध भएको हाम्रो कम्युनिस्ट पार्टी त्यस्तो हुनुहुन्न। सबैले खबरदारी गर्नुपर्ने जरुरी छ,’ उनले भने। उनले विचारमा स्पष्टता कायम नगरे दुर्भाग्यपूर्ण परिस्थिती आउने र त्यो आफूहरुले भोग्न नचाहेको बताए। संविधानको सर्वाेच्चता, कानुनको शासन, नियन्त्रण र सन्तुलन, मानवअधिकार, शान्तिपूर्ण प्रतिस्पर्धालाई मान्ने हिसाबको कम्युनिस्ट पार्टी बनाउनुपर्नेमा उनले जोड दिए। अबको राजनीति आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने र यसका लागि छलफल हुनुपर्नेमा जोड दिँदै पोखरेलले भने, ‘त्यो नभएर निष्कर्षमा पुगेनौं भने न हाँसको चाल न कुखुराको चाल हुन्छ।’

प्रकाशित: २ जेष्ठ २०७६ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App