८ वैशाख २०८१ शनिबार
राजनीति

उदयपुर सिमेन्टकाे जग्गा अतिक्रमण

उदयपुर - ललितानिवास, पशुपतिनाथ मन्दिर र छाया सेन्टरको जमिन भूमाफियाको कब्जामा परेको विषयले राष्ट्रिय चर्चा पाइरहेका बेला उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको जग्गामाथि पनि भूमाफियाको नजर परेको पाइएको छ। त्रियुगा नगरपालिका–४ र ६ को सीमास्थल पन्जियार चोकदेखि उद्योग परिसरभित्र जाने सडकछेउको तीन बिघा खाली जमिन अज्ञात समूहले रातारात अतिक्रमण गर्न थालेको पाइनुले उद्योगको जमिनमाथि पनि भूमाफियाको नजर परेको रहस्य खुलेको हो।

उद्योगको जमिन ‘प्लटिङ’को शैलीमा छुट्याउँदै घडेरी ओगट्न थालेको पाइएपछि उद्योग र वडा कार्यालयको समन्वयमा मंगलबार दिउँसो प्रहरी प्रशासनले खाली गराएको छ। दिउँसोसम्म केही नभएको जमिनमा रातारात घडेरीको साँधसीमा छुट्याउँदै बाँसका खम्बा गाड्दै टहरा बनाउन थालेकाले उद्योगले प्रहरी प्रशासन र वडा कार्यालय गुहारेर जमिन खाली गराउनु परेको हो। त्रियुगा–६ का वडाध्यक्ष निर्मल चौधरीले सो जग्गा खाली गर्न माग गर्दै वडा कार्यालयमा निवेदन आएपछि प्रहरी र प्रशासनको समन्वयमा जमिन खाली गराएको बताए। ‘जग्गा अतिक्रमण भइरहेको भन्ने पत्रका साथ अतिक्रमण रोक्न माग गर्दै वडा कार्यालयमा निवेदन आयो,’ वडाध्यक्ष चौधरीले भने, ‘उद्योगले प्रशासन र प्रहरीलाई पनि खबर गरेको रहेछ, हामीले प्रशासन र उद्योगसँग समन्वय गरी प्रहरी बोलाएर अतिक्रमण गरिएको तीन बिघा जमिन खाली गरिदियौं।’

वडाध्यक्ष चौधरीले झन्डै ६०÷७० वटा घर बनाउने गरी बाँसका किला गाडेर घडेरी छुट्याएको पाइएको बताए। उनका अनुसार गाईघाट–जलजले खण्डको सडकछेउमा केही वर्षयता ३÷४ वटा छाप्रा बनाएर बस्दै आएका भूमिहीनकै छेउमा अज्ञात व्यक्तिले एउटा झुप्रो हाल्न लागेको देखेपछि अरू जमिन अतिक्रमणमा परेको हो। तर, बसोबास भएको सो जमिन उद्योगको नभएर सडकभित्र पर्ने भएकाले उद्योगले त्यसप्रति कुनै प्रतिक्रिया दिएको थिएन।

उद्योग सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्काले अतिक्रमणमा परेको उद्योगको जमिन प्रशासन र प्रहरीले खाली गराइदिएको बताए। उनले सोही ठाउँको उत्तरपट्टिको जमिनमा केही स्थानीय छाप्रो हालेर बसेकोमा उद्योगले प्रतिक्रिया नदेखाएपछि त्यही लाइनमा एकजनाले नयाँ छाप्रो हाल्न लागेपछि अरूले पनि रातारात जमिन अतिक्रमण गर्न थालेको बताए। अध्यक्ष खड्काका अनुसार पन्जियार चोकमै गाईघाट–जलजले खण्डको सडकछेउको जग्गा ओगटेर बनाइएका केही छाप्रा भने उद्योगका नभएर सडकका हुन्। तर, छाप्रो कसैले बनाउन नभ्याउँदै प्रशासन र वडा कार्यालयले प्रहरी लगाएर जग्गा खाली गराएको अध्यक्ष खड्काले बताए।

उद्योगका नायब महाप्रबन्धक महेश काप्mलेका अनुसार त्रियुगा–६ को जलजलेको सो उद्योग परिसरमा पाँच सय ३६ हेक्टर जमिन रहेको छ भने त्रियुगा–१६ को जाल्पा चिलाउनेस्थित खानी क्षेत्रको सकौरा र सिन्धालीमा २ सय ३० बिघा जमिन रहेको छ। यो सबै जमिन उद्योगले स्थापनाकालमा सरकारी, ऐलानी, पर्ती र व्यक्तिगत जमिन मुआब्जा दिएर उद्योगको नाममा दर्ता गराएको हो। यसबाहेक अन्य ठाउँमा पनि उद्योगका जग्गा रहेका छन्। सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थमध्ये रातो माटो पनि एक भएकाले त्यसका लागि जाल्पा चिलाउनेकै एउटा डाँडो, चौदण्डीगढी नगरपालिकाको बेलटार बजारछेउको पूर्वपट्टिको झन्डै एक सय ५० बिघा क्षेत्रफलको जंगलको जमिन पनि उद्योगकै नाममा रहेको बताइएको छ।

४÷५ दिनदेखि अतिक्रमण सुरु भएको सो जग्गा अतिक्रमण कसले र कसको आडमा गरेको हो भन्ने विषय भने रहस्यकै गर्भमा लुकेको छ। न त भूमाफियाहरू नै देखिएका छन् न त हटाउने नियकाहरूले पनि अतिक्रमणकारीको नाम सार्वजनिक गर्न चाहेका छैनन्। सरकारी स्वामित्वको उद्योगको जग्गा अतिक्रमण गर्न राजनीतिक दल, जनप्रतिनिधि, उद्योगका उच्चपदस्थ कर्मचारी वा मजदुर नेता वा नागरिक अगुवाकै आडभरोसा हुनुपर्ने आशंका गरिए पनि यसबारे सबै ‘तै चुप मै चुप’ छन्।

प्रकाशित: २ जेष्ठ २०७६ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App