coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

४२ वडा सचिवविहीनः कार्यालय सहयोगी र सामाजिक परिचालकलाई जिम्मा

दुलेगौँडा(तनहुँ)– तनहुँका १० स्थानीय तहमा ८५ वडा रहेका छन्। ४२ वडा हालसम्म सचिवविहीन रहेका छन् भने ४३ वडामा मात्रै सचिव रहेका छन्। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने वडा कार्यलयमा सचिव नहुँदा सिंहदरबारको अधिकार गाउँमा आएको महशुस गर्न नपाएको जनताहरुको गुनासो छ। कर्मचारी अभावका कारण काम प्रभावकारी हुन नसकेको स्थानीय तहका प्रमुखहरुले नै महशुस गरेका छन्।

ती वडाहरुमा कार्यालय सहयोगी र सामाजिक परिचालकलाई समेत वडा सचिवको काम लगाइएको छ। भिमाद नगरपालिकाले कर्मचारी अभाव भएपछि कार्यालय सहयोगीलाई वडामा सचिव सरहको जिम्मेवारी दिएर खटाएको छ। बन्दिपुर गाउँपालिकाले पनि तत्कालिन गाविसका प्रशासन शाखाका सहायक र सामाजिक परिचालकलाई खटाएकोे छ।
व्यास नगरपालिका र शुक्लागण्डकीका सबै वडामा सचिव छन्। घिरिङ र बन्दीपुर गाउँपालिकाको एउटा वडामा पनि सचिव छैनन्। अन्य स्थानीय तहका अधिकांश वडा सचिवविहीन बनेको छ। एउटै सचिवले तीनवटासम्म वडाको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता देखिएको छ।

जिल्लाको दक्षिण भेगमा रहेको घिरिङ गाउँपालिकाका ५ वटा वडामा एक जना पनि सचिव छैनन्। कम्युटर अपरेटरदेखि अधिकृत तहमा गाउँपालिकाको कार्यलयमा कार्यरता रहेका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर काम चलाएको अध्यक्ष रनबहादुर रानाले बताए। ‘कर्मचारी अभावले प्रशासनिक कामसँगै विकास निर्माणले गति लिन सकेको छैन्’, उनले अगाडी भने, ‘सेवा लिन आउने जनतालाई पनि सचिव नभेटर हैरान हुनुपर्छ।’ एकजना सचिवले धेरै वडा हेर्नुपर्ने भएपछि गाउँपालिकाको कार्यलयमा बसेर नै सेवा प्रवाह गर्ने अध्यक्ष थापा बताउँछन्। ‘सिहंदरबारको अधिकार गाउँमै आयो भन्ने, सेवा लिन गाउँपालिकाको कार्यलय नै धाउनुपर्ने भएको छ’, उनले अगाडी भने, ‘वडाबाट सेवा दिन नसक्दा हामीलाई नै खल्लो महशुस भएको छ।’ सरकारले पर्याप्त कर्मचारीको व्यवस्था गर्न सक्नुपर्ने उनको भनाइ छ।

बन्दीपुर गाउँपालिकाका ६ वटै वडा सचिव विहीन छ। काम नरोकियोस भनेर तत्कालिन गाविसका प्रसाशन साहयक र सामाजिक परिचालकलाई वडा सचिवको भुमिकामा पठाएको प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले बताए। ‘अस्थायी कर्मचारीलाई खटाइएको छ’, उनले थपे, ‘सरकारले अस्थाइलाई व्यक्क्तिगत घटना दर्ता, राजस्व संकलन र सिफारिसको काम नदेउ भन्छ।’ दैनिक प्रवाह हुने सेवामै असहजता भएको उनी बताउँछन्।

भानु नगरपालिकाको १३ वटा वडामा ४ जना मात्रै सचिव छन्। ती मध्ये एक जना समायोजन भएर जाँदैछन्। उपलब्ध सचिवले सबै वडाको कार्यसम्पादन गर्नुपरेको नगरप्रमुख उदयराज गौली बताउँछन्। ‘व्यक्तिगत घटना दर्ताका लागी वडामै पुग्नुपर्ने हुन्छ’,उनले अगाडी थपे, ‘जुन वडाबाट फोन आउँछ त्यहाँ पुग्ने गर्नुहुन्छ।’  वडामा सम्पन्न भएका योजनाका लागि भुक्तानीका लागि वडाको सिफारिस आवश्यक पर्ने भएकाले एक जनालाई धेरै वडाको कार्यभार सम्हाल्नु परेको उनले जनाए। आर्थिक वर्ष सकिने बेलामा कर्मचारी समायोजन हुन नहुने उनको धाराणा छ। ‘नयाँलाई आएर काम सिक्नै समय लाग्छ’, उनले भने, ‘यसो हुदाँ नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रम र विकास निर्माणका काम प्रभावित हुनेछ।’

ऋषिङका ८ वडामध्ये ३ वटामा मात्रै सचिव छन्। गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ भन्छन्, ‘जनतालाई सास्ती नहोस भनेर स्वास्थ्य शाखाको कर्मचारीसमेतलाई वडा सचिव बनाएर खटाएका छौँ।’ कर्मचारी समायोजन भएर गएपछि समस्या भएको उनको भनाइ छ। आर्थिक वर्षको अन्तिम भएकाले जनताको काम भने नरोकिएको उनको दाबी छ।

आँबुखैरेनी गाउँपालिकामा दुई जना वडा सचिव रहेको अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए। यहाँ ६ वडा छन्। अन्य वडामा स्वास्थ्य, कृषि र गाउँपालिकाका पुराना कर्मचारीलाई खटाएको उनले बताए। कार्य सम्पादनमा अप्ठ्यारो पर्ने गरेको उनी बताउँछन्। ‘जसोतसो कर्मचारीको व्यवस्था गरेर काम चलाएका छौँ’, उनले भने, ‘जनतालाई सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भनिएको छ। सरकारले कर्मचारी समयमै व्यवस्था नगरिदिदाँ विचल्ली छ।’ वडामा सँगै गाउँपालिकाको कार्यालयमा समेत पर्याप्त कर्मचारी नरहेको थापा बताउँछन।

५ वटा वडा रहेको देवघाट गाउँपालिकामा दुई जना वडा सचिव छन्। दुईजनाले भागबण्डा लगाएर सबै वडाको काम गर्ने गरेकी गाउँपालिका उपाध्यक्ष विमला थापाले बताइन्। ‘जनतालाई जसै सेवा दिनुप-यो’, उनले भनिन, ‘हप्ता हप्तामा पालो मिलाएर वडामा सचिव खटाइएको छ।’ उनले कर्मचारी अभावमा गाउँपालिकाले सम्पादन गर्ने काम समेत प्रभावित बनेको बताइन्।

भिमाद नगरपालिकाले कम्युटर चलाउन सक्ने कार्यलय सहयोगी राखेर काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताए। ‘पञ्जीकरणको काम नगरपालिकाका कर्मचारीले गर्नुहुन्छ’, उनले भने। भिमादका नौ वटा वडामध्ये तीनवटामा सचिव रहेको थापाले जानकारी दिए। ‘जेनातेना काम भइरहेको छ’, उनी भन्छन्, ‘कर्मचारी अभावले काम गर्न गाह्रो प-यो।’

जिल्ला सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले भने सबै वडामा वडासचिव खटाएको छ। संघ प्रदेशमा समायोजन भएर गएको भए पनि स्थानीय तहका नासु र खरिदारलाई जिम्मेवारी दिएर खटाएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए। ‘दुईजना वडासचिव समायोजन भएर जाँदैछन’, उनले भने, ‘उनीहरुको ठाउँमा नयाँ कर्मचारी आएनन् भने व्यवस्थापनमा कठिन होला। अहिलेसम्म त सबै वडामा सचिव खटाएका छौँ।’ व्यासमा १४ वडा रहेका छन्।

७ वडा रहेको म्याग्दे गाउँपालिकामा ३ जना वडा सचिव छन्। अन्य वडामा गाउँपालिकाको कर्मचारीलाई खटाइएको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। ‘वडा सचिव नभएर जनताको काम हुन पाएन’, उनले गुनासो गरे।

केही समय अगाडीसम्म कार्यालय सहयोगी र सामाजिक परिचालकलाई समेत सचिवको काममा लगाएको शुक्लागण्डकी नगरपालिकाका कर्मचारी समायोजनसंगै सबै वडामा सचिवको पदपुर्ति भएको छ।

वडासचिव मात्रै होइन जिल्लाका अधिकांश स्थानीय तहमा सबैजसो शाखामा पर्याप्त कर्मचारी छैनन्। कर्मचारीको अभावककै कारण सेवा प्रवाहमा समस्या देखिने गरेको छ। आर्थिक वर्षको अन्तिमतिर समेत कर्मचारीको उचित व्यवस्थापन हुन नसक्दा कार्यालय सञ्चालनदेखी विकास निर्माणमा चुनौती थपिएको घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए।

प्रकाशित: १ जेष्ठ २०७६ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App