७ वैशाख २०८१ शुक्रबार
समाज

१०८ रोपनी जग्गामा वृक्षारोपण

भक्तपुर– भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित १०८ रोपनीको जग्गामा बुधबार सरसफाई तथा बृक्षारोपण गरिएको छ। भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाई कार्यक्रमअन्तर्गत नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, महिला प्रतिनिधि, विभिन्न विद्यालय, सल्लाघारीका टोलबासीलगायतको सक्रिय सहभागितामा सरसफाइ र वृक्षारोपण भएको हो।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरभित्रका सरकारी तथा पर्ति जग्गा संरक्षण र सम्बद्र्धनको जिम्मा स्थानीय सरकारको पनि भएको बताए। नेपाल ट्रस्ट र गृहमन्त्रालयसँगको समन्वयमा १०८ रोपनी जग्गा संरक्षण कार्यलाई अगाडि बढाएको चर्चा गर्दै प्रमुख प्रजापतिले यस क्षेत्रको वातावरणलाई स्वच्छ र सफा राख्न वृक्षारोपण कार्यक्रमलाई अगाडि सारेको बताए।

उक्त जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाएमा सस्तो र गुणस्तरीय चिकित्सा शिक्षासहितको विश्वविद्यालय स्थापना गर्ने उद्देश्य रहेको बताउदै प्रमुख प्रजापतिले उक्त जग्गा भक्तपुर जनताको अधिकत्तम हितको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरको प्रस्थानबिन्दुको रुपमा १०८ रोपनी जग्गा लामो समयदेखि बेवारिसे अवस्थामा रहेकोले नगरपालिकाले जनताको सल्लाहअनुसार सो क्षेत्रको संरक्षण गर्न पर्खाल निर्माण गरेको बताइन्। उक्त स्थानको वातावरण स्वच्छ राख्न वृक्षारोपणको आवश्यकता औंल्याउनुदै उपप्रमुख जोशीले भक्तपुरको हरेक गतिविधिमा स्थानीय जनताको सक्रिय सहभागिता रहने गरेको बताइन्।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्थानीय जनताको पहलमा जग्गा संरक्षणको काम भइरहेको जानकारी दिए।

प्रकाशित: १ जेष्ठ २०७६ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App