८ वैशाख २०८१ शनिबार
अन्य

भण्डारढिक रंगशाला परिसरमा खुला व्यायामशाला बनाइने

पोखरा भित्रिएको खुला व्यायामशालाका सामग्री। तस्बिरः धन/नागरिक

पोखरा– तीन महिनाको प्रक्रियापछि अब सर्वसाधारणले पार्कमै व्यायाम गर्न पाउने भएका छन्। केही साताभित्रै पार्कमा व्यायाम सामग्री जडान गरिनेछ। व्यायाम सामग्री मंगलबार पोखरा आइपुगेको छ। व्यायामका सामग्री जडानपछि सर्वसाधारणले साँझ र बिहान आफ्नो अनुकूल समयमा व्यायाम गर्न सक्ने महानगरपालिकाले जनाएको छ।

पोखरा महानगरपालिकाले स्वस्थ नागरिकको परिकल्पनासहित तीन महिनाअघिदेखि व्यायामशाला निर्माणका लागि प्रक्रिया सुरु गरेको थियो। फागुनमा टेन्डर आह्वान गरिएको थियो। सामान मंगलबार मात्र आइपुगेको छ। पोखराको नयाँबजारस्थित शान्तिवनवाटिकानजिकै दमकल राखिएको स्थानमा स्टोर गरिएको छ।

‘सामान आइपुगेको छ, अब प्राविधिकको सहयोगमा पार्कमा जडान गर्नेछौं,’ पोखरा महानगरपालिकाका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए। उनका अनुसार तत्काल दुई सेट सामान आएको छ। आएको सामानलाई कहाँ राख्ने भन्ने अन्योल छ।

पहिलो चरणमा भण्डारढिक रंगशालामा एक सेट जडान गर्ने योजना रहेको उनले सुनाए। ‘अर्कोसेट सामान कहाँ राख्ने यकिन गरिएको छैन। बस्ती र सर्वसाधारणको भीड हुने पार्कमा राख्नेछौं,’उनले भने, ‘त्यसपछि अन्य पार्कमा भने बिस्तारै सामान मगाउँदै जडान गर्नेछौं।’

तिमिल्सिनाका अनुसार स्याम्पलको रूपमा दुई सेट आएको भन्दै दुई ठाउँमा राखेपछि त्यसको प्रतिफलअनुसार अन्य पार्कमा जडान गरिनेछ। सामान चीनबाट मगाइएको हो। झन्डै पाँच लाखको लागतमा दुई सेट सामान ल्याइएको छ। लेखनाथस्थित आदर्श क्लब भण्डारढिकका अध्यक्ष लक्षु भण्डारीले रंगशाला हाताभित्रै सामान जडान गरिने बताए। उनले प्यारापिटनजिकै रहेको खुला ठाउँमा सामान जडान गरेर आमसर्वसाधारणको पहुँच पुग्ने गरी राखिने स्पष्ट पारे।

पोखरा महानगरपालिकाले स्वास्थ्य नागरिकको परिकल्पनासहित तीन महिना अघिदेखि व्यायामशाला निर्माणका लागि प्रक्रिया सुरु गरेको थियो।


एक सेटमा ९ वटा विभिन्न प्रकारका जिम(व्यायाम)का सामान छन्। खुला पार्कमा सर्वसाधारणको उपस्थिति बाक्लो हुने ठाउँमा सामान राखिनेछ। मर्निङवाक र इभिनिङ वाक गर्ने सर्वसाधारणलाई लक्षित गरी सामान जडान गरिने उनले बताए। ‘नागरिकको स्वास्थ्यप्रतिको दायित्व महानगरपालिकाको हो। त्यसैले नागरिकको अभियानलाई सार्थकता दिन यो खुला व्यायामको पार्कमा राख्ने निर्णयअनुसार नै सामान झिकाइएको हो,’ उनले प्रस्ट्याए।

विशेषगरी पार्कमा बनाइने व्यायामशाला(जिम)मा साइक्लिङ, वाकिङ मेसिन, सेटअप गर्ने र झुन्डिएर पुसअप गर्न मिल्नेलगायत विभिन्न ९ वटा प्रकृतिका सामान छन्। ‘पार्कमा घुम्ने मात्र नभई शारीरिक व्यायाम गर्न उपयुक्त व्यायामका सामग्री राख्ने योजनालाई मूर्तरूप दिनेछौं,’ उनले भने, ‘आवश्यक स्थानको अध्ययनपछि जिमका सामान राख्ने काम गर्छौं।’

महानगरपालिकाले पोखराका ९ वटा पार्कमा खुला व्यायामशाला निर्माण लागि आवश्यक सामान राख्ने योजना बनाएको छ। पार्कलाई व्यवस्थित गर्न पनि पार्कमा जिमका सामान राख्ने दृढता रहेको उनले बताए। भएका केही पार्क व्यवस्थित बन्न नसक्दा सर्वसाधारण बिहान र साँझको समयमा टहलिन सक्ने अवस्था छैन।

महानगरपालिका क्षेत्रभित्र पार्क बनाउने स्थानसमेत छैन। सार्वजनिक जग्गा अधिकांश हडप भइसकेको छ। ठूला पार्कमा बसुन्धरा र कोमागाने पार्क मात्र छन्। त्यसभन्दा अलि पर पुग्दा हल्लनचोकस्थित क्याम्पिङ चौर छ। सानो पार्कको रूपमा सहिद चोकमा रहेको सहिद पार्क, त्यसपछि बुलौदीको ओरालेमा रहेको पुष्पलाल स्मृति पार्क, ड्यामसाइड रहेको पार्क, सृजनाचोकस्थित मेट्रोसिटी अस्पताल अगाडिको पार्क छन्। महानगरपालिकाले ती पार्कलाई संरक्षण गर्दै आएको छ। पस्र्याङमा भने लायन्स पार्क छ। अन्य ठाउँमा पार्क भएपनि संरक्षणविहीन अवस्थामा छन्।

स्थानीय तहको निर्वाचनताका नै स्मार्ट सिटीको परिकल्पना गरिएको थियो। त्यही परिकल्पनालाई मूर्त रूप दिने गुरुयोजना महानगरपालिकाका मेयर मानबहादुर जिसीले बनाएका हुन्। अन्तर्राष्ट्रिय सहरमा पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राखिएको हुन्छ। त्यसैको परिकल्पना मेयर जिसीले पोखरामा गरेका हुन्।

महानगरपालिकाले सबै वडामा भएका पार्कलाई खुला व्यायामशालाको रूपमा विकास गर्ने योजना छ। त्यसका लागि सम्बन्धित वडाहरूले पनि पार्कहरूको लगत राख्नुपर्ने उनको सुझाव छ।

पार्कमा व्यायामशाला बनाएपछि संरक्षणको जिम्मेवारी स्थानीय क्लब, संघसंस्था एवं नागरिक समाजलाई दिइनेछ। स्थानीयले अपनत्व कायम गर्न नसक्दा संरक्षण नहुने भन्दै महानगरपालिकाले वडा, स्थानीय क्लब, टोलविकास संस्थालाई संरक्षणको जिम्मेवारी दिने योजना बनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७६ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App