७ वैशाख २०८१ शुक्रबार
समाज

डडेल्धुराबाटै सवारी चालक अनुमतिपत्र दिने तयारी

सदमुकाम नजिक अमरगढी–८ उग्रतारा मन्दिर छेउमा तयार पारिएको ट्रायल सेन्टर । तस्बिरः नागरिक

डडेल्धुरा– सूदुरपश्चिमको पहाडी जिल्लाको केन्द्र मानिने डडेल्धुरामा सवारी साधन चालकलाई ट्रायल सेन्टर तयार गरिएको छ। ट्रायल सेन्टर तयार भएसँगै जेठ महिनाबाट नै सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी भइरहेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) डडेल्धुरामा नै उपलब्ध हुने भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने अपेक्षा लिइएको छ।

डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालये जिल्लामै सवारी लाइसेन्सको परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गर्ने भएपछि सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लाबासीलाई सहज हुने यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराले जनायो।

अहिले सुदूरपश्चिमका ७ पहाडी जिल्लाबासीले तराईका जिल्ला कैलाली र कञ्चनपुर पुगि नयाँ सवारी चालक अनुमतिपत्र बनाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। यसभन्दा पहिले डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमतिपत्र नवीकरण, सवारी दर्ता (ब्लु बुक) नविकरण सेवा, सवारी जाँचपास सेवा सुरु गरेको छ। हाल निर्माण भएको ट्रायल सेन्टर भाडामा लिई लाइसेन्स वितरण गर्ने तयारी थालेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख दिलीप तामाङले नागरिकन्युजलाई बताए।

‘अब स्मार्ट लाइसेन्स जारी र सवारी साधनको दर्ता र नविकरण गर्ने कामको तयारी गरिरहेका छौं’ तामाङले भने ‘सवारी चालक अनुमतिपत्र जारी गर्न हाम्रो आफ्नो ट्रायल सेन्टर नभएकाले उग्रतारा ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टरको ट्राइल सेन्टर भाडामा लिएर काम गर्न हामी लागि परेका छौं। उनले भने ‘यसको लागि सूदुपश्चिम प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा ट्रायल सेन्टर भाडामा लिन र अनुमति प्रदान गर्न पत्राचार गरेका छौं। मन्त्रालयबाट ट्रायल सेन्टरको निरीक्षण भैसकेको छ, अब यसै महिनाबाट काम सुरु हुन्छ।’

करिब ५ महिना अघिबाट निमार्ण कार्य थालिएको उग्रतारा ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरमा १ करोडको लगानी रहेको सेन्टरका सञ्चालक तेजबहादुर ऐरले बताए। ‘फिल्डदेखि लेआउटको निमार्ण गर्न १ करोडको लगानी लागेको छ। ट्रायल सेन्टरको लागि करिब ५० लाखको सवारी साधन खरिद भएको छ’ उनले भने। डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमतिपत्र निस्किने भएपछि पहाडी जिल्लाबासीलाई सहजतासँगै यहाँको व्यापार व्यवसायसमेत फस्टाउने अमरगढी नगरपालिकाका नगर प्रमख विशेश्वरप्रसाद ओझाले बताए। उनले भने ‘डडेल्धुराबाटै लाइसेन्स वितरण हुने भएपछि तराई जाने सबै सेवाग्राही यहाँ आँउछन् जसले गर्दा यहाँको व्यापार, यातायात तथा पर्यटन विकासमा समेत सहयोग गर्छ।’

अहिले डडेल्धुराबाहेकका सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामबासीले नयाँ सवारी चालक अनुमतिपत्र लिन तराई झर्नुपर्ने बाध्यता छ। सवारी चालक अनुमतिपत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कञ्चनपुर जाँदा हजारौं खर्च हुने गरेको छ। अब डडेल्धुराबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएपछि यहाँका नयाँ सवारी चालक हर्षित भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७६ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App