coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विश्व कीर्तिमान राख्दै निर्मल पुर्जा

सात महिनाभित्र आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्किएका निर्मल पुर्जाले विश्वकै साताैं अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण गरेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरिको पश्चिम मोहडाबाट आइतबार साँझ सफल आरोहण गरेका थिए। अतिरिक्त अक्सिजनको प्रयोग नगरी पुर्जाले सफलतापूर्वक हिमालको आरोहण गरेका हुन्।

धौलागिरि हिमालको २० देखि २५ दिनको लक्ष्यसहित निस्किएको टोलीले अनुकूल मौसमका कारण लक्ष्यभन्दा अगाडि नै सफल आरोहण गरेर फर्किएको थियो। धौलागिरिको सफल आरोहणलगत्तै पुर्जा तेस्रो हिमाल आरोहणका लागि कञ्चनजंघातर्फ प्रस्थान गरेको उनको आरोहणको तयारीमा जुटेका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। ‘पुर्जाको रफ्तारले शेर्पाहरू समेत चकित परेका छन्,’ शेरचनले भने।

बेलायती सेनामा हिमचितुवाको नामले चिनिने निर्मल पुर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)बाट अभियानको सुरुवात गरेका थिए। आफ्नै जन्मभूमिमा रहेका विश्वमै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण सुरु गरेका पुर्जा म्याग्दीमै जन्मिएर धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो म्याग्देलीसमेत भएका छन्। ‘पुर्जा म्याग्देलीका सान हुन्,’ धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भने, ‘म्याग्दीमै रहेका आठ हजारमाथिको हिमाल चढ्ने पहिलो म्याग्देली भएका छन्।’

विश्वको सातौं स्थानमा रहेको धौलागिरि र १०औं स्थानमा रहेको अन्नपूर्ण हिमालमा यसअघि कुनै पनि म्याग्देलीले आरोहण गरेका छैनन्। विश्वभरबाट हिमाल आरोहणका लागि आउने गरेको अवस्थामा म्याग्दीमै जन्मिएर अग्लो हिमाल आरोहण गरेर पुर्जाले जिल्लाबासीकै तर्फबाट समेत नाम राखेको बताए। उनले मिसन सफल भएपछि म्याग्दीमा भव्य समारोहका बीच सम्मानसमेत गरिने बताए। सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ।

अतिरिक्त अक्सिजनबिनै धौलागिसरको सफल आरोहण गरेका पुर्जा हिमाल आरोहण गर्ने पहिलो म्याग्देली बनेका छन्।


तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भए पनि यो सर्वेक्षण अज्ञात रहेको थियो। धौलागिरि हिमालमा अहिलेसम्म कुनै पनि म्याग्देलीले आरोहणको प्रयास गरेका थिएनन्। धौलागिरि आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा र रमेश गुरूङको टोलीले सघाएको थियो। पुर्जाले विश्व कीर्तिमान कायम गर्न बेलायती सेनाको आकर्षक जागिरसमेत छोडेका थिए।

आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सगरमाथा, केटु, कञ्चनजंघा, ल्होत्से, मकालु, च्होयो, मनासलु, नांगा पहाड, गशेबु्रम, ब्रोड पिक, गशेब्रुम दोस्रो र शिशापमा रहेका छन्। यी १४ वटा अग्ला हिमालमध्ये आठ वटा भने नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन्। सन् २०१९ को अन्तिमसम्म पुर्जाले मिसन पूरा गर्ने लक्ष्य राखेका छन्। बेसक्याम्पसम्म हेलिकोप्टरमा पुग्ने गरेका पुर्जाले लक्ष्यअनुसार नै मिसनलाई अन्तिम रूप दिन मिल्ने गरी अनुभवी शेर्पाहरूलाई रोजेका छन्।

अतिरिक्त अक्सिजनबिनै आरोहण
अग्ला हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पुर्जालाई सघाउने शेर्पाहरूको तयारीसमेत अन्य आरोहीको भन्दा फरक हुन्छ। पुर्जा हिमालमा पाइला टेक्दाबित्तिकै चुचुरोतर्फ लम्किन्छन्। साना–ठूला हिमालको आरोहणमा सहयोगी शेर्पाहरूसँगै भ-याङ, डोरी, अंकुश लिएर आरोहणमा पुर्जासँगै निस्किने धेरै आरोहीले उनको रफ्तारलाई पच्छाउन सक्दैनन्।

अग्ला चुचुरामा रमाउने आरोही पिठ्युँको झोलामा अक्सिजन सिलिन्डर बोक्छन्। अतिरिक्त अक्सिजनकै अभावमा धेरै आरोहीले बीच बाटोमै ज्यान गुमाएका छन्। तर, विश्वकै सातौं अग्लो धौलागिरि हिमालको आरोहणमा निस्किएका पुर्जासँग अतिरिक्त अक्सिजन साथमा थिएन। ‘आफ्नै जिल्लाको हिमाल आरोहणमा मलाई अतिरिक्त अक्सिजन चाहिँदैन,’ पुर्जाले भने, ‘यहाँ मैले सजिलै आरोहण गर्न सक्छु।’ हिमचितुवाजस्तै यात्रा गर्ने उनलाई देखेर शेर्पाको कार्यतालिका समेत परिवर्तन हुने गरेको छ।

हिमालैहिमालको जिल्लामा जन्मिएकाले पनि विश्वलाई चिनाउन आरोहण गर्ने गरेको पुर्जाले विभिन्न अन्तरवार्तामार्फत सार्वजनिक गर्ने गरेका छन्। आरोही पुर्जाको यो अभियानलाई ‘प्रोजेक्ट पोसिबल’ नाम दिइएको छ। ‘प्रोजेक्ट पोसिबल’ परियोजना सफल बनाउन एनआरएनए युकेका पूर्वअध्यक्ष योेगेन क्षेत्रीको संयोजकत्वमा आर्थिक सहयोगसमेत संकलन गरिएको थियो। बेलायतमा रहेका नेपालीलाई आर्थिक सहयोग जुटाउने अभियानमा म्याग्देली सक्रिय थिए।

करिब सात लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको अभियानलाई बेलायतमा रहेका नेपालीले चासोपूर्वक हेरेका छन्। मासिक नौ लाखसम्म तलब खाने आकर्षक जागिरसमेत छोडेर पुर्जा आरोहणमा निस्किएका हुन्। पुर्जाले बाल्यकालमै हिमाल आरोहण गर्ने बताउने गरेको उनका दाजु मोना युकेका निर्वतमान अध्यक्ष कमलबहादुर पुर्जाले बताए।

को हुन् पुर्जा ?
उत्तरी म्याग्दीको दानामा जन्मिएका पुर्जाले सन् २००३ मा पोखरास्थीत ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभूत तालिम लिएका थिए। उनी कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एन्ड डेकोरेसन ट्रेन्डमा कार्यरत थिए।

क्विन्स गोर्खामा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमान्डोसमेत गरेका थिए। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिस सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पुर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका छन्।

पुर्जाले अंग्रेजी वर्ष २०१७ मे २७ गते पाँच दिनमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर तीन वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन्। गोर्खा एक्स्पिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व उनैले सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एकअर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका छन्। उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत व्यवस्थापनमा सघाउने गरेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App