coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक बन्द

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक बुधबार दिनभर बन्द हुने भएको छ। सडक खण्डको त्रिशूली खोलामा ढलान गर्न लागिएकाले सडक बन्द गर्न लागिएको हो।

चिनियाँ टोलीले बुधबार ढलान गर्ने र बिहिबारबाट सडक सुचारु गरिने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। ‘नाका जोड्ने दुईवटा सडक भएका कारण सवारी सञ्चालन रोकिँदैन, उनले भने, ढलान एकैदिनमा सुक्ने प्रविधि भएकाले बिहीबारबाट नियमित सञ्चालन हुन्छ।’

सडक माथिबाट त्रिशूली खोला बग्दा दुर्घटनाको जोखिम बढेको थियो। केही समयअघि हिम पाइप राखिएको भएपनि जोखिम न्यूनीकरणको लागि ढलान गर्नुपर्ने भएकाले ढलानको काम सुरु गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ।

मैलुङ स्याफ्रुबेँसी सडक सञ्चालनमा आएपछि बेत्रावती धुन्चे सडक खण्डमा सवारीको चाँप घटेको छ। पासाङ ल्हामु सडक खण्डमा धेरै घुम्ती भएको, लामो दूरी भएको र सडक जीर्ण भएका कारण मैलुङ–स्याफ्रुबेँसी सडकमा सवारी सञ्चालन बढेको हो।

२०७२ बैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो। ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो।

राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचना (२०७५/७६–०७७/७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष २०६१/६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना २०७५/७६ भित्र निर्माण तथा स्तरोन्नती भएको हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु मार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। काठमाडौँदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्रु १६ किमी दूरी रहेको छ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ¬–स्याफ्रुबेँसी सडकको बिकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेँसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङ ल्हामु मार्ग अन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

 

प्रकाशित: १ जेष्ठ २०७६ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App