८ वैशाख २०८१ शनिबार
राजनीति

‘सरकारको कार्यसम्पादन कमजोर, जनता र प्रेसप्रति अनुदार’: गगन थापा

नेपालगन्ज विमानस्थलमा बुधबार कांग्रेस युवा नेता गगन थापा। तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्ज - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको कार्यसम्पादन कमजोर हुँदा जनता र प्रेसप्रति अनुदार हुदै गएको बताएका छन्। पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियानका लागि जाजरकोट जाने क्रममा नेपालगन्ज विमानस्थलमा बुधबार नागरिकसँग संक्षिप्त कुराकानी गर्दै पुर्वमन्त्री थापाले भने, ‘यो सरकार जति अनुदार हुदै जान्छ, त्यति नै यसको कार्यसम्पादन कमजोर हुदै हुन्छ, यसको कार्यसम्पादन जति कमजोर हुदै जान्छ त्यति अनुदार हुदै जान्छ, यो चक्र जस्तो हुन्छ।’

स्थिर सरकारले एक वर्षमा विकासको यात्रामा कार्यसम्पादन गर्न नसकेर पुरै असफल भएको उनले ठोकुवा गरे। उनले थपे, ‘कार्यसम्पादन गर्न नसकेपछि त प्रेसले बोल्छ, मान्छेले बोल्छन् भनेर सरकार अनुदार बनेको छ।’ सरकारले प्रेसको स्वतन्त्रतालाई कानुनै बनाएर मास्न खोजेको युवा नेता थापाले बताए। ‘सरकारले नयाँ मिडिया काउन्सिल विधेयक ल्याएर आएको छ, मानव अधिकार विद्ययक यसले दर्ता ग-यो, सबै कुरालाई एक ठाउँमा राखेर हेरियो भने समग्रमा यसले संसदलाई कमजोर बनाएको छ,’ उनले भने ‘अदालतलाई यसले धम्क्याएको छ, सम्बैधानिक आयोग सबैलाई यसले कमजोर बनाएको छ, प्रेसको स्वतन्त्रतालाई यसले कानुनै बनाएर मास्न खोजेको छ।’ सरकारले यस वर्षको नीति कार्यक्रम बजेटको प्रारम्भिक सिद्धान्त प्रस्तुत गर्दा रवैया देखाएको थापाले बताए।

फरक प्रसंगमा थापाले नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैै गर्दा पार्टीभित्रका सुधारका बहसहरु रोक्न नहुने धारणा राखे। ‘हामीले यो सरकार र सत्तासँग लड्नु छ, त्यो लड्ने पनि हो, तर लडाइँ चल्दै गर्दा हामी भित्रको सुधार रोकिनु हुदैन, हामी आफ्नो भित्रका सुधारका बहसहरु सबै रोक्न थाल्यौं।’ जागरण अभियानसँगै पार्टीले संगठनलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको युवा नेता थापाले बताए।

उनले प्रश्न गर्दै भने, ‘के नेपाली कांग्रेस सुध्रिन आवश्यक छैन ? हाम्रो भित्रका विषय टुंग्याउन आवश्यक छैन ? हाम्रो संगठनलाई चुस्त दुरुस्त बनाउन आवश्यक छैन ? हिजो गरेका गल्ती कमजोरीलाई फेरी समिक्षा गर्न आवश्यक छैन ? ति कुरा आवश्यक छैन, यो चाही पछि गरौला भनेर थाति राख्यौं भने यसले पार्टीलाई क्षति पुग्छ।’ यसका लागि पार्टीले संगठनलाई चुस्त दुरुस्त राख्नुपर्ने उनको सुझाव छ। पार्टीलाई अस्त ब्यस्त राखेर अभियानले सार्थकता नपाउने थापाले प्रष्ट्याए।

प्रकाशित: १ जेष्ठ २०७६ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App