coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सान्जेनको ७३ प्रतिशत काम पूरा

सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस। तस्बिर: हिमनाथ/नागरिक

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माणाधीन सान्जेन जलविद्युत् आयोजनाको ७३ प्रतिशत काम पूरा भएको छ। २०७७ असोजभित्र विद्युत् उत्पादन गर्ने गरी कामलाई तीव्रता दिइएको छ। आयोजनाको हेडवक्र्सको काम ८० प्रतिशत, पेनस्टक निर्माणको काम ७५ प्रतिशत र पावरहाउस निर्माणको काम ७० प्रतिशत सकिएको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए।

आयोजनामा सुरुङ, पावरहाउस र हेडवक्र्स निर्माणको काम भइरहेको छ। हेडरेस टनेल निर्माणको काम ८२ प्रतिशत सकिएको छ। तीन हजार ६ सय ७१ मिटर हेडरेस सुरुङमध्ये तीन हजार २४ मिटर सुरुङ निर्माण गरिएको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए। 

आयोजनाको पाँच हजार दुई सय मिटर सुरुङमध्ये करिब सात सय मिटर निर्माण हुन बाँकी छ। ‘बाँध निर्माणको काम ८० प्रतिशत सकिएको छ,’ उनले भने, ‘यही गतिमा काम हुने हो भने तोकिएको समयमा विद्युत् उत्पादन हुन्छ।’ ४२.५ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य २०६९ देखि सुरु भएको थियो। एसइडब्लु टुन्डी जेभीले निर्माण गरिरहेको छ। आयोजनाको पाँच चरणमा काम भइरहेको प्रशासकीय अधिकृत रेग्मीले बताए।

सिभिलमा एसइडब्लु टुन्डी जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ। आयोजना निर्माण चारवटा ठेकेदारले गरिरहेका छन्। चारवाटै ठेकेदारले डिजाइन, आयात, जडान, परीक्षण र कमिसनिङको काम गर्ने प्रशासकीय अधिकृत रेग्मीले बताए।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हवमा गएर जोडिने छ। आयोजनाबाट विद्युत् उत्पादन गर्ने समय नजिकिँदै गएका कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको छ।
भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ। यो आयोजना निर्माणका लागि पाँच अर्ब दुई करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ।

प्रकाशित: १ जेष्ठ २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App