६ वैशाख २०८१ बिहीबार
राजनीति

लगानीका लागि नेपाल छनोट गर्न हुन सेनको आग्रह

काठमाडौ - कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना मुलुकका लगानीकर्तालाई विदेश लगानीका लागि नेपाल छनोट गर्न आग्रह गरेका छन्। कम्बोडिया भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा मंगलबार कम्बोडियामा आयोजना गरिएको व्यापार मञ्चलाई सम्बोधन गर्दै हुन सेनले यस्तो आग्रह गरेका हुन्।

हुन सेनले कम्बोडियाले विदेशी लगानी भित्र्याएर गरेको प्रगतिको अनुभव सुनाएका थिए। उनले कम्बोडियाका ९५३ आयोजनाहरुमा २३ बिलियन अमेरिकी डलर विदेशी लगानी भित्र्याएको र त्यसबाट हाल १० लाख रोजगार सिर्जना भइरहेको जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यहाँका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। नेपालमा लगानीको अवसर रहेको भन्दै उनले त्यसका लागि आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले लुम्बिनी सिद्धार्थ गौतम शाक्यमुनीको जन्मस्थल रहेको र कम्बोडिया पनि बुद्धिष्ठ मुलुक भएकाले दुई मुलुककाबीचमा बलियो सम्बन्ध रहेको बताएका थिए। उनले कम्बोडियाका नागरिकलाई लुम्बिनीमा स्वागत गर्न नेपाल आतुर रहेको बताएका थिए।

प्रधानमन्त्रीको कम्बोडिया भ्रमणका क्रममा सोमबार नेपाल र कम्बोडियाबीच व्यापार तथा आर्थिक सहयोग सम्झौतामा समेत हस्ताक्षर भएको छ। कम्बोडिया भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा उक्त सम्झौता भएको हो। त्यस्तै नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर अफ कमर्सबीच एमओयुमा हस्ताक्षर भएको छ। कम्बोडियाका प्रधानमन्त्री हुसेनले प्रधानमन्त्री ओलीलाई औपचारिक रुपमा स्वागत गरेपछि दुई मुलुककाबीचमा सम्झौता भएको हो।

दुई मुलुककाबीचमा आगमी दिनमा पनि सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सहमति भएको छ। सोमबार बेलुका कम्बोडियाका प्रधानमन्त्री हु सेनले प्रधानमन्त्री ओलीको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए। प्रधानमन्त्री ओली चार दिवसिय भियतनाम भ्रमण सम्पन्न गरेर सोमबार कम्बोडियातर्फ लागेका हुन्। उनी दुई दिने भ्रमण सकेर बुधबार स्वदेश फर्कदैछन्।

प्रकाशित: १ जेष्ठ २०७६ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App