८ वैशाख २०८१ शनिबार
राजनीति

युवा संघको ब्यानरमा वाइसिएलको समर्थन !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी निकटका संगठन जनसंगठन र आवद्ध संगठनको एकीकरण प्रक्रिया नसकिँदै युवा संघ नेपालको ब्यानारमा १ जेठमा कार्यक्रम तय भएको छ। युवा संघ नेपालले स्थापना दिवस मनाउनका लागि आफ्नै संगठनको ब्यानर र लोगो प्रयोग गरी प्रचार गरिरहेको हो।

एकीकरणका लागि २४ वटा जनवर्गीय संगठनमध्ये १४ संगठनको नेतृत्व पूर्वएमाले र १० संगठनको नेतृत्वको पूर्वमाओवादी केन्द्रको भागमा रहेपनि प्रभावशाली जनसंगठन युवा विद्यार्थी कुन पक्षमा पर्ने नखुल्दै युवा संघ नेपालले कार्यक्रम तय गरेको छ।

युवा संघ नेपालको स्थापना भएको २९ औं वर्षलाई आधार मान्दै प्रधानमन्त्री तथा युवा संघ नेपालका संस्थापक अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको आतिथ्यमा कार्यक्रम तय भएको छ। तर प्रधानमन्त्री ओली कम्बोडियाबाट त्यसैदिन स्वदेश फर्कने भएकाले कार्यक्रममा सम्बोधन गर्न नभ्याउने अवस्थासमेत रहेको छ। प्रधानमन्त्रीको विकल्पमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई सम्बोधन गराउने तयारी गरिएको छ।

जनसंगठनको एकीकरण प्रक्रियालाई जेठ ३ भित्र टुंग्याउने शीर्ष नेताबीच सहमति भए पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली देशबाहिर भएकाले टुंगिएको छैन। नेकपाका एक शीर्ष नेताका अनुसार पूर्वएमालेको भागमा युवा, मजदुर, मुस्लिम, सकुमबासी, किसान, पेसागत महासंघ, कानुन, मानवअधिकारलगायतका संगठनको नेतृत्व परेको छ। त्यस्तै, पत्रकार, विद्यार्थी, महिला, व्यवसायी, वुद्धिजीवीलगायतको नेतृत्व पूर्वमाओवादीको भागमा परेको भए पनि सचिवालयको बैठकबाट त्यसलाई टुंग्याउनुपर्नेछ।

युवा विद्यार्थीको नेतृत्व कसले लिने भन्ने होडबाजीकै बीचमा युवा संघ नेपालले आफ्नै ब्यानरमा कार्यक्रम तय गरेको छ। संघका अध्यक्ष रमेश पौडेलले योङ कम्युनिस्ट लिग (वाइसिएल) समेतको संयुक्त कार्यक्रम भएको बताए। ‘यो हाम्रो संयुक्त कार्यक्रम हो। संयुक्त बैठकबाट युवा विद्यार्थी स्थापना दिवस मनाउने कार्यक्रम तय भएकाले सबैको सहभागिता हुन्छ,’ पौडेलले भने।

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले युवा संघको निर्णयलाई वाइसिएलको सहमति र सहयोग रहने बताए। स्थापना दिवस फरक–फरक मितिको भएकाले तत्काललाई एउटै ब्यानर प्रयोग गर्न नसकिएको उनको भनाइ छ। ‘युवा संघ नेपालले २०४७ साललाई स्थापना दिवस मान्छ, हामीले २००८ लाई मान्छौं, त्यसकारण एउटै ब्यानर प्रयोग भएन तर हाम्रो साथ सहयोग र सहमति छ,’ वाइसिएलका अध्यक्ष सापकोटाले भने। दुवै संगठनले भने एकीकरणपछिको नाम र झण्डामा भने करिब–करिब सहमति भैसकेको पनि उनीहरूको दाबी छ।

प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहे पनि पोलिटब्युरो, जनसंगठन तथा आवद्ध संगठन एकता प्रक्रिया आउँदो जेठ ३ गते सक्नेगरी शीर्ष नेताहरू छलफलमा जुटेका छन्। सबै विषयमा सहमति जुटाउने र सहमतिको प्रस्ताव तयार पार्नेगरी महासचिव विष्णुप्रसाद पौडेलले सबै शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किने र त्यसपछि सचिवालय बैठक बस्ने बताइएको छ। सचिवालय बैठकलगत्तै जेठ ३ गते पार्टी एकताले पूर्णता पाउने नेकपा नेताहरूले बताउन थालेका छन्। यसअघि इन्जियरहरूको संगठनमा एकीकरण प्रक्रिया टुंगिइसकेको छ। कानुन व्यवसायीको पनि एकीकरण प्रक्रिया टुंगिएको छ।

प्रकाशित: १ जेष्ठ २०७६ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App