७ वैशाख २०८१ शुक्रबार
अर्थ

धान र गहुँको फरक नबुझ्नेलाई कांग्रेसले अर्थमन्त्री बनायो, अर्थतन्त्र बिगारियोः प्रदीप गिरी

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप गिरीले धान र गहुँको फरक नबुझ्ने पिएचडी होल्डरलाई अर्थमन्त्री बनाएर कांग्रेसबाट गल्ती भएको बताएका छन्। यसबाट सिंगो नेपालको अर्थतन्त्र नै बिग्रिएको उनको आशय थियो। 

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरीले धान र गहुँको फरक नबुझ्ने र आलु प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन? भन्न नसक्ने पीएचडी होल्डरलाई अर्थमन्त्री बनाएर आफ्नो पार्टीले गल्ती गरेको र यसको असर अर्थतन्त्रमा परेको बताए।

‘अर्थमन्त्रीको पद सजिलो पद होइन। कांग्रेसको शासनकालमा पनि यसलाई विशेषज्ञको विषय बनाइयो। पिएचडी पास गरेका, बाहिरबाट पढेर आएका र नेपालको हकमा धान र गहुँको फरक नबुझ्ने, आलु प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन? यो दुइटा कुरा भन्न नसक्ने मानिसहरु हाम्रो सरकारको पालामा मन्त्री भए’, गिरीले कांग्रेसको तत्कालिन नेतृत्वको आलोचना गर्दै भने। 

विपी कोइरालाले अमेरिकासहित पश्चिमाहरुको विकासको मोडल नेपालमा काम नलाग्ने भनेर पटक पटक भनेको स्मरण गर्दै उनले भने, ‘तर विपीको त्यो कथनलाई ठाडै बिर्सिएर हाम्रा प्रधानमन्त्रीजीहरुले आफ्नाहरुमध्ये पीएचडी गरेको मान्छे खोज्नुभयो। त्यो पनि अमेरिका र जर्मनीबाट बनाउनुभयो। फलस्वरुप हामी तथाकथित आधुनिकीकरणको, विकासीकरणको, वृद्धिदरको अंग्रेजीको प्रवेश ग-यौं। सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशामा लैजानुपरेको छ। वर्तमान दिशामा प्रश्न चिन्ह खडा भएको छ।’

अत्यधिक ज्यादा उर्जा, भूमी र फर्टिलाइजरमा आधारित अमेरिकी विकास मोडल नेपालले धान्न नसक्ने र जीवनशैली पनि धान्न नसक्ने विपीको विचार रहेको उनले सुनाए।

गिरीले दिगो अर्थव्यवस्थाको लागि आर्थिक वृद्धिदरको मोह र माया ताडेर वैकल्पिक उर्जामा खर्च लगाउन अर्थमन्त्री युवराज खतिवडालाई सुझावसमेत दिए। २ सय अर्ब डलरको पेट्रोल आयात र डेढ सय अर्ब डलरको खाद्यान्न आयात घटाउनतर्फ लाग्न उनले आग्रह गरे।

प्रकाशित: ३१ वैशाख २०७६ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App