coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रातारात अतिक्रमण हुन लागेको जग्गा प्रहरीले जोगायो

उदयपुर– केहि भूमाफियाहरुले रातारात अतिक्रमण गरी कब्जा गर्न खोजेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको जग्गा प्रहरी प्रशासनले मंगलबार खाली गराएको छ। दुई दिनयता रातिको समय पारेर अतिक्रमण गर्दै लगेको झण्डै ३ विगाह क्षेत्रफल जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खाली गराएको हो।

त्रियुगानगरपालिका ४ र ६ को सीमानास्थित देउरीको पञ्जियार चोकदेखि दक्षिणतर्फ उद्योगको क्वाटर (कर्मचारी आवास) क्षेत्र जाने सडकको पश्चिमतर्फ मुखको जमिन २ रातयता अज्ञात समूहले किला गाडेर टहरा हाल्ने तयारी गरेको भन्दै उद्योगले सोमबार जिल्ला प्रशासन कार्यालय गुहारेको थिायो। प्रशासनको आग्रहअनुसार प्रहरीले जमिन खाली गराएको हो।

प्रहरीले मंगलबार दिउँसोसम्ममा अतिक्रमण गर्न प्रयोग गरिएका बाँसका किला हटाएर जमिन खाली गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए। उनकाअनुसार अज्ञात समूहले रातिराति अतिक्रमण गर्दै किला ठोकेर घडेरी छुट्याउन खोजेको उद्योगले जमिन प्रहरी खटाएर सुरक्षित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले रातारात उद्योगको जमिनमा बाँस गाडेर घडेरी छुट्याउने गरी घेराबेरा हुन थालेको खबर आएपछि टोली खटाएर जमिन खाली गराएको बताए। उनकाअनुसार पञ्जियार चोकदेखि उद्योग परिसर जाने सडक छेउको जमिनमा घेराबेरा गर्न र घडेरी छुट्याउने गरी गाडिएका ५०/६० वटा बाँसका किला जनप्रतिनिधि र उद्योग कर्मचारी राखेर उखेलेर बरामद गरिएको छ। लगभग २५/३० वटा घडेरी छुट्याएर गाडेको सबै बाँसका किला उखलेर बरामद गरिएको उनले बताए। किला उखेल्दा कोही प्रतिकारमा भने नआएको केसीले बताए।

‘हामीलाई उद्योगले जमिन अतिक्रमण भइरहेको भन्दै जिल्ला प्रशासनबाट खाली गर्न भन्ने आदेशसहितको पत्र आयो’ डिएसपी केसीले भने ‘आदेश अनुसार जिल्लाबाट इन्स्पेक्टरको कमाण्डमा र इलाका प्रहरी कार्यालय जलजलेबाट छुट्टै टोली परिचालन गरी अतिक्रमण हुन लागेको भनिएको जमिन खाली गरायौं।’ उनले ४, ५ र ६ नं. वडाध्यक्ष, वडा सदस्य, स्थानीय अगुवाहरुको रोहबरमा अतिक्रमण गर्ने तयारी गरिएको जमिनमा गाडिएका किला उखलेर आइन्दा कसैलाई त्यस्तो नगर्न चेतावनीको सन्देश छाडेर आएको पनि बताए।

नायब महाप्रबन्धक धुब्र देवकोटाले जग्गा अतिक्रमण हुन लागेको भन्दै प्रशासनलाई गुहारेपछि प्रहरीले क्लियर गरेको बताए। उनले सबै विवरण भने निमित्त महाप्रबन्धक र नायब महाप्रबन्धक महेशबाट मात्र जानकारी लिन सकिने बताए। तर उद्योगको कति नम्बर कित्ताको कति जमिन भन्ने जानकारी लिन सम्पर्क गर्दा उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहसँग सम्पर्क हुन सकेन। नायब महाप्रबन्धक महेश काफ्लेको पनि मोबाइल ‘बिजी मोड’ मा राखिएको पाइयो।

प्रकाशित: ३१ वैशाख २०७६ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App