७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वास्थ्य जागरणमा एकाग्र जीवन

काठमाडौं– उनी भाषण गर्दैनन् । गीत पनि गाउँदैनन् । आम मानिसको स्वास्थ्यमा चासो दिन्छन् र त्यही विषयमा अध्ययन र अनुसन्धानमा व्यस्त हुन्छन् । त्यसबाट आएको निश्कर्षलाई पुस्तकमा उतार्छन् । अनि पाठकमाझ ल्याउँछन् । गैह्र आख्यान विधाका पुस्तक लेख्न रुचाउने उनी पुस्तकमार्फत पाठकलाई स्वास्थ्यसँग सम्बन्धित सामान्य भन्दा सामान्य विषयबारे जानकारी गराएर जनचेतना जगाउँछन् । उनी अर्थात् लेखक जीवनकुमार प्रसाईं । जो अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा स्वास्थ्य सम्बन्धी विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् ।

यिनै जीवन यतिबेला आफ्नो तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक गर्न काठमाडौंमा छन् । स्वास्थ्य चेतना फैलाउने अघिल्ला दुई पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सधैँ तन्नेरी’ पाठकमाझ ल्याइसकेका जीवन तेस्रो पुस्तक सार्वजनिक गरेपछि अमेरिका फर्किनेछन् । 

मेडिकल विषयमा विज्ञानले के भन्छ। त्यो कुरामा सामाजिक र साहित्यीक पक्षलाई पनि जोडेर सर्वसाधारणले बुझ्ने भाषामा पुस्तकमा उतार्छु।

उनी कार्यक्षेत्रमा व्यस्त भइरहँदा इन्टरनेटको माध्यमबाट विशेषत स्वास्थ्य क्षेत्रमा भइरहेका कार्यहरूको बारे अपडेट हुन्छन् । जीवन नेपालमा प्रकाशन भइरहने पत्रपत्रिकादेखि अनलाइनमा आएका समाचारबाट जानकारी लिन्छन् । यसबाहेक यहाँका चिनजानका साथीभाई र इस्टमित्रबाट सूचना लिने काम त छँदैछ । ‘म आफै वैज्ञानिक भएकाले म स्वास्थ्य सम्बन्धी विषयमा बढी अध्ययन र अनुसन्धान गर्छु । त्यसबाट निस्किएका मानव स्वास्थ्यसँग सरोकार राख्ने कुरालाई पुस्तकमा समेट्छु’, हालैको भेटमा उनले भने, ‘म नेपाल आइरहँदा पनि यहाँको मानव स्वास्थ्यसँग सरोकार राख्ने विषयमा अध्ययन र अनुसन्धान गरिरहन्छु । ती अध्ययन अनुसन्धानबाट प्राप्त परिणामलाई जनतामाझ पु-याएर कसरी सुसूचित गराउन सकिन्छ भन्ने कुरामा चिन्तन गर्छु । ती परिणामलाई विज्ञानसँग जोडेर साहित्य लेखनको शैलीमा आम जनतालाई कसरी बुझाउन सकिन्छ भनेर सामान्य भाषामा पुस्तक लेख्ने गर्छु ।’

जीवन आफुले अरुबाट प्रेरणा नलिई आफै प्रेरित भएर पुस्तक लेखेको सुनाउँछन् । ‘म अन्य लेखकबाट प्रेरित भएर लेखक भएको होइन । मेरो क्षेत्र मेडिकल रिसर्चसँग सम्बन्धित छ । मैले गरेका रिसर्चहरू, मेरो ज्ञानमा भएका कुराहरू जनताहरूलाई नेपाली भाषामै कसरी पु-याउन सकिन्छ भनेर पुस्तक लेख्न थालेको हुँ’, उनले भने, ‘मेडिकल विषयमा विज्ञानले के भन्छ । त्यो कुरामा सामाजिक र साहित्यीक पक्षलाई पनि जोडेर सर्वसाधारणले बुझ्ने भाषामा पुस्तकमा उतार्छु ।’

जीवनले दुई दशकभन्दा बढि समयदेखि जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका बारेमा अनुसन्धान गर्दै आएका छन् । वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँगसमेत आबद्ध प्रसाईं जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी प्राप्त हुन् ।

उनले नयाँ पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जंगलमा मंगल’, ‘जोगाऔं हरियाली’, ‘गुणकारीलाई चिनौं’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शीर्षक र उपशीर्षकहरूमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरू समेटेका छन् । पुस्तकमा शरीरलाई आवश्यक पोषक तत्वको बयान गर्दै हाम्रै वरपरका तरुल, तामा, गुन्द्रुक, मस्यौरा, साग र सिस्नुलगायतको वर्णन गरेका छन् ।

जीवनका अघिल्ला दुई पुस्तक जीवनशैली र खानपानमा केन्द्रित थिए । ‘तेस्रो पुस्तक हाम्रो वरीपरीको वातावरणसँग सम्बन्धित छ । विश्व विकास र समृद्धिमा धेरै अगाडि बढिसकेको छ । तर त्योसँगै वातावरणसँग जोडिएका समस्या विकराल रूपमा आइरहेको छ । त्यसैलाई यो पुस्तकमा समेटेको छु’, प्रसाईं खुले, ‘मैले निश्चित पाठकलाई लक्षित गरेर पुस्तक लेखेको छैन । यो पुस्तक सबै पाठकका लागि हो । विज्ञानमा भएका चमत्कारलाई सामान्य भन्दा सामान्य रूपमा बुझाउने कोशिस गर्छु । तर हामीमा बुझ्ने क्षमता कति छ । त्यसमा पनि भर पर्छ ।’

उनले नेपाली समाजमा पुस्तक भन्नासाथ साहित्यीक विधालाई मात्र बुझ्ने मानसिकता रहेको उल्लेख गर्दै अन्य विधालाई पनि पुस्तकका रूपमा स्वीकार्न आग्रह गरे । ‘अहिले हामीले लेख्न सुरु ग-यौं भने भविष्यमा अरुले पनि लेख्लान् । मान्छेको जीवनमा अलिकति भए पनि ज्ञान वा परिवर्तन त आउला नि’, उनले भने, ‘पाठकलाई मात्र नभएर यो चाहिँ चेतनाको अभिवृद्धिका लागि लेखेको हुँ । यसमा मिठास् होस् भनेर साहित्यीकसँगै सामाजिक पक्षलाई जोडेको छु ।’

जीवनले आफ्नो पुस्तक जनजागरणको लागि एक प्याकेज भएको दाबी गरे । ‘तर यो केवल सूचना दिने मात्रै होइन् । यसमा इतिहास र दर्शन पनि छन् । यो विज्ञान र वातावरणका विषयमा पाठकलाई जानकारी दिने सूचनामूलक पुस्तक हो । यसमा काल्पनिक कुरा छैनन् । तथ्यपरक कुरामात्र छन् । उपन्यास नै पढ्न रुचाउने पाठकले पनि यो पुस्तक पढ्दा बोर मान्दैन’, उनको दाबी थियो । अमेरिका जानु अघि जीवनले त्रिभूवन विश्वविद्यालयमा झन्डै चार वर्ष क्यामेस्ट्री पढाएका थिए । अघिल्ला दुई पुस्तकझैं जीवनको तेस्रो पुस्तकलाई पनि पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो ।

पब्लिकेसन नेपालयका अर्पण शर्माले जीवनको पुस्तक अन्य लेखकको भन्दा केही किसिमले भिन्न रहेको दाबी गर्छन् । ‘उहाँको लेखाईमा तथ्यगत विषय बढी छन् । हामीले पढ्दै आएका अधिकांश पुस्तकमा ‘रे’ भन्ने कुरा जोडिएको हुन्छ । तर उहाँले सन्दर्भसूचीसहित विषयलाई पुस्तकमा समेट्नु भएको छ’, शर्माले भने, ‘पत्रकार नारायण वाग्लेमार्फत हामीले जीवन प्रसाईंलाई चिनेका हौं । उहाँले पुस्तकको विषयबस्तु बताउँदा हामी केही डराएका थियौं । तर पनि एकपटक प्रयास गरौं न भनेर ‘जीवन जिउने कला’ प्रकाशन गरेका थियौं । यो पुस्तकले यति राम्रो प्रतिक्रिया पायो कि त्यसबाट प्रभावित भई दोस्रो हुँदै अहिले तेस्रो पुस्तक प्रकाशन गरेका हौं ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App