५ वैशाख २०८१ बुधबार
कला

अमेरिकामा ‘सिस्नुपानी’को देउसी

काठमाडौं – नेपाली हास्यव्यङ्ग्य साहित्यकलाको प्रचारप्रसार, प्रवद्र्धन र व्यङ्ग्य साहित्यमार्फत राज्यलाई खबरदारी गर्दै आएको अभियन्ता संस्था सिस्नुपानी नेपालले हालै अमेरिकाका विभिन्न राज्यहरूमा ‘सिस्नुपानी हास्यव्यङ्ग्य यात्रा’ कार्यक्रम गरेको छ। युएइ, कतार, मलेसिया, बहराइन, ओमानलगायतका मलुकमा ‘दुईथोपा हाँसो’ शीर्षकमा हास्यव्यङ्ग्य कार्यक्रम गरेको सिस्नुपानीले अमेरिकामा भने पहिलोपटक कार्यक्रम आयोजना गरेको हो।

नयाँ वर्ष २०७६ को अवसर पारेर नेपाली समाज टेक्सास (एनएसटी) को निमन्त्रणामा संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष अर्जुन पराजुली र महासचिव टंक आचार्यसहित तीन सदस्यीय टोली अमेरिका पुगेका थिए। एनएसटी र इन्द्रेणी सांस्कृतिक परिवारको संयुक्त आयोजनामा गत वर्षको चैत ३० गते टेक्सास राज्यको ड्यालसमा आयोजना गरिएको एक कार्यक्रमबाट ‘सिस्नुपानी नेपालको हास्यव्यङ्ग्य यात्रा’ प्रारम्भ गरिएको थियो।

एनएसटीका अध्यक्ष सुमन थापाको अध्यक्षतामा भएको कार्यक्रममा गायकहरू नीमा रूम्बा, भगवान भण्डारी, शीला आलेलगायतका कलाकारहरूले गीतबाट मनोरन्जन दिएका थिए। सिस्नुपानी नेपालका तर्फबाट कविहरू लक्ष्मण गाम्नागे, अर्जुन पराजुली र टंक आचार्यले व्यङग्य कविता सुनाएका थिए।

त्यस्तै गत वैशाख ७ गते टेक्सासको राजधानी अस्टिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्टिनको आयोजनामा भएको कार्यक्रममा स्थानीय कवि देवराज न्यौपाने लगायतले कविता र कलाकारहरूले नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए। दुई घण्टासम्म चलेको कार्यक्रममा स्थानीय दर्शकस्रोताको विशेष माग भएका कारण सिस्नुपानीले नेपाल र अमेरिकाका समसामयिक विषय समेटिएको नमूना देउसी प्रस्तुत गरेको थियो।

यस्तै गत वैशाख ८ गते नेपाली समाज टेक्सस (एनएसटी) को आयोजनामा डलासस्थित पशुपति मन्दिरमा, वैशाख १५ गते कनेक्टिकट राज्यको हार्डफोर्डमा, वैशाख २१ गते भर्जिनियाँ राज्यको फेयरफ्याक्समा पनि कार्यक्रम गरिएको थियो। भर्जिनियाँको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुनबहादुर कार्की प्रमुख अतिथि थिए।

त्यस्तै बाल्टिमोर नेप्लिज एसोसिएसन इन अमेरिका(बाना)ले वैशाख २२ गते मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली महावाणिज्य दुत एवं कलाकार प्रेमराजा महतको आतिथ्यतामा कार्यक्रम गरेको थियो। यसैगरी वैशाख २३ गते राजदुत निवासको सभाकक्ष वासिङटन डिसीमा कार्यक्रम गरी यात्रा सम्पन्न गरेको थियो। कार्यक्रममा साहित्यकार सीता पाण्डे, प्रेम संग्रौलालगायतले कविता वाचन गरेका थिए।

प्रकाशित: ३१ वैशाख २०७६ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App