coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हँसाउने सुनकाण्डमा ‘जात्रै जात्रा’

काठमाडौं – नेपाली समाजमा ‘सुन’सँग जोडिएका घटनाहरू धेरै छन्। चाहे त्यो ३३ किलो सुन पक्राउ प्रकरण होस् या सुनकै लागि हुने आपराधिक क्रियाकलाप नै किन नहुन्। सुनकै चर्चा चलिरहँदा यस्तै विषयमा नयाँ फिल्म ‘जात्रै जात्रा’ निर्माण गरिएको छ।

आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्मले पैसासँगै सुनको कथालाई पनि जोड्नेछ। झण्डै तीन वर्ष अघि निर्माण भएको फिल्म ‘जात्रा’को सिक्वेल रहेको ‘जात्रै जात्रा’को कथामा दर्शकले पैसासँगै सुनको स्वाद पाउनेछन्। फिल्म ‘जात्रा’बाट निर्देशनमा ‘डेब्यू’ गरेका निर्देशक प्रदीप भट्टराईले नै ‘जात्रै जात्रा’को निर्देशन गरेका हुन्।

‘फिल्मको पहिलो संस्करण प्रमुख तीन पात्र र दुई करोड ८० लाख रुपैयाँ वरपर घुमेको थियो। तर यसपटक सुन पनि जोडिएको छ। हामीले पहिलादेखि नै सुनको विषय जोड्न खोजेका थियौं। ३३ किलो चाहिँ संयोग मात्र परेको हो’, प्रदीपले भने, ‘३३ किलोको घटनाले कसैका श्रीमान लुकेका थिए। कसैको बाउ बितेका थिए। धेरैका आँखाबाट आँशु निकालेको थियो। तर हामीले फिल्ममा हाँसो दिने १० किलो सुनको कथा मात्र राखेका छौं। ३३ किलो सुनसँग फिल्मको कहिँकतैबाट पनि सम्बन्ध छैन। यो हँसाउने सुनकाण्ड हो। यसले कसैलाई रुवाउने र दुःख दिने काम गर्दैन।’

फिल्मको ट्रेलरमा एक पात्रलाई करेन्ट लगाइएको देखाइएको छ। ‘कमेडी फिल्ममा करेन्ट लगाउने चलन पहिलेदेखिकै हो। फिल्ममा सुनसँग करेन्ट पनि आएकाले दर्शकले ३३ किलो सुनकाण्ड घटना सम्झिए’, प्रदीप खुले, ‘किनभने धेरै पहिलादेखि नै फिल्ममा रमाइलो दृश्य देखाउनलाई पात्रलाई करेन्ट लगाउने, करेन्ट लगाउँदा कपाल ठाडो पार्ने चलन थियो। तर हामीले त्यतिसम्म गरेको छैन।

हामीलाई त्यतातिर जानु नै थिएन।’ प्रदीपले एसियाली राष्ट्रमा सुनलाई ‘सगुन’कै जस्तो सम्पत्ति मानिने भएकाले फिल्ममा सुन जोडिएको खुलाए। ‘सुनले बहुसंख्यक मानिसलाई प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछ’, उनले भने।

३३ किलो सुनसँग फिल्मको कहिँकतैबाट पनि सम्बन्ध छैन। यो हँसाउने सुनकाण्ड हो। यसले कसैलाई रुवाउने र दुःख दिने काम गर्दैन।

प्रदीपले दर्शकको माग अनुसार नै ‘जात्रा’को सिक्वेल बनाउनु परेको दाबी गरे। ‘हामीले जात्रामै फिल्मको कथा टुंग्याएका थियौं। तर दर्शकले त्यो कथालाई निरन्तरता दिनुप¥यो भनेपछि सिक्वेल बनाएका हौं’, उनले भने , ‘सिक्वेलमा दर्शकले फिल्मका प्रमुख तीन पात्रहरूको जेलजीवन कसरी बित्यो ? जेलमा कस्ता दुःख पाए ? जेलबाट निस्किएपछि समाजमा जीवनयापनमा कस्ता समस्या भोगे भन्ने कुराको जात्रै जात्रा हेर्न पाउनुहुनेछ।’

प्रदीपले ‘जात्रा’ र ‘जात्रै जात्रा’लाई कमेडी फिल्म भनेर नबुझ्न दर्शकसँग आग्रह गरे। ‘हामीले कमेडी फिल्म भनेर बनाएको होइन। यी फिल्म सोसियल ड्रामाका फिल्म हुन्। किनभने हामीले दर्शक हँसाउनका लागि दिमाग चलाएको छैन। चरित्रहरूले भोग्ने परिस्थिति र संवादले दर्शक हँसाएको हो। हामीले सोसियल ड्रामा ह्युमर बेसमा फिल्म बनाएका छौं।’

फिल्मका निर्माता रविन्द्रसिंह बानियाँले दर्शकले ‘जात्रै जात्रा’मा केही फरक नपाउने बताए। ‘सिक्वेलका फिल्महरूको पहिल्यै सेटिङ भइसकेको हुँदोरहेछ। त्यसकारण सबै कुरा त्यही सेटिङमै आउनुपर्दोरहेछ। दर्शकले ‘जात्रै जात्रा’मा केही फरक पाउनुहुन्न’, रविन्द्रले प्रष्ट्याए, ‘हामीले फरक बनाएकै होइन।

त्यही मान्छे, त्यही पात्रको आगामी जीवन कस्तो भइरहेको छ भन्ने देखाउन खोजेको छौं।’ फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, दयाहाङ राईलगायतको अभिनय छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App