८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

थप कर वृद्धि गर्दै बेइजिङ

बेइजिङ – संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध नयाँ मोडमा पुगेको छ। चीनले ६० अर्ब डलरबराबरको अमेरिकी सामान आयातमा जुन १ देखि लागू हुने गरी थप कर वृद्धि गर्ने घोषणा गरेसँगै विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापार युद्धले नयाँ मोड लिएको हो।

वासिङ्टनले दुई सय अर्ब डलरबराबरको चिनियाँ सामान आयातमा करको दायरालाई दोब्बर गरेको तीन दिनपछि चीनले यस्तो कदम चालेको बिबिसीले उल्लेख गरेको छ। चिनियाँ निर्णय आउनु भन्दा केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा अमेरिकी उपभोक्ताले महँगो कर तिर्नुपर्ने हुनसक्ने भन्ने विवरणलाई अस्वीकार गरेका थिए। उनले यस्तो नगर्न चीनलाई पनि चेतावनी दिएका थिए। तर बेइजिङले भने ङले भने आफ्नो राष्ट्रिय स्वार्थलाई हानी हुने खालको कुनै पनि ‘खराब फल’ ननिल्ने बताएको थियो।

चीनले जारी गरेको नयाँ कर वृद्धि अमेरिकाबाट चीन निर्यात हुने करिब पाँच हजार सामानमा लागू हुने र त्यस्तो करके दायरा पाँचदेखि २५ प्रतिशतसम्म रहने बताइएको छ। चिनियाँ मन्त्रिपरिष्दको राज्य काउन्सिल, चीनको कर नीति आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकी सामानमा थप कर वृद्धिको घोषणा गरेको हो।

‘बाह्य दबावसामु चीनले कहिले पनि आत्मसमर्पण नगर्ने’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङले राजधानी बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा बताए। ‘चीनले बदला लियो भने त्यसले उसैलाई हानी गर्छ,’ चिनियाँ निर्णयको समाचार बाहिरिनु पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्विट उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
चीनले लामो समयदेखि अमेरिकाको फाइदा लिइरहेको पनि ट्रम्पले आरोप लगाएका छन्। उनले अन्य स्रोतबाट उत्पादन हुने उही उत्पादनलाई किनेर अमेरिकी उपभोक्ताले चिनियाँ सामानमा लागेको करबाट छुट्कारा पाउने पनि बताए।

‘अमेरिकी कर वृद्धिपछि थुप्रै कम्पनी चीन छोडेर भियतनाम वा अन्य एसियाली मुलुकतर्फ लाग्ने छन्। त्यसकारण पनि चीनले हतारहतारमा खराब तरिकाको व्यापार सम्झौता गर्न चाहेको थियो,’ ट्रम्पको ट्विट उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। चीनले अमेरिकी सामानमा थप कर वृद्धि गर्ने घोषणा बाहिरिएलगत्तै विश्वभरका सेयर बजारमा गिरावट आएको छ।

अमेरिकासँगको चीनको अतिरिक्त व्यापार फाइदा उसले लिइरहेको अनुचित अभ्यासको नतिजा भएको अमेरिकी दाबी छ। स्वदेशी कम्पनीलाई राज्यको समर्थन पनि अर्को कारण भएको वासिङ्टनको भनाइ छ। अमेरिकाले चीनलाई अमेरिकी कम्पनीबाट बौद्धिक चोरी गरिरहेको आरोप पनि लगाउँदै आएको छ।

अमेरिका र चीनबीचको पछिल्लो व्यापार वार्ता गत शुक्रबार बिना कुनै सम्झौता वासिङ्टनमा टुंगिएको थियो। चीनसँगको व्यापार विवादबारे अमेरिकी राष्ट्रपति आफैं पनि समस्यामा परेको बताइएको छ। उनकै प्रमुख आर्थिक सल्लाहकार ल्यारी कुड्लोले अमेरिका–चीन व्यापार युद्धले ‘दुवै देशलाई असर पर्ने’ बताएपछि ट्रम्प समस्यामा परेको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App