८ वैशाख २०८१ शनिबार
समाज

मध्यपश्चिम विश्वविद्यालयमा ‘लोकवार्ता विज्ञान’ को पढाई

सुर्खेत-नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ। मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो।

चार सेमेष्टरमा शिक्षण गराइने उक्त विषयको अवधि दुई वर्ष हुने मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन खोपीराम लम्सालले जानकारी दिए।    
नेपालमै पहिलोपटक कर्णालीबाट नौलो विषय ‘लोकवार्ता विज्ञान’ शुरुआत हुनुले गौरवान्वित बनाएको बताउँदै डिन लम्सालले भने, “यसको अध्ययन अध्यापनले यहाँको मौलिक संस्कार, संस्कृति, सम्पदा र सभ्यताको मात्र अनुसन्धान हुने छैन, समुदायमा विद्यमान जनबोली, सामाजिक विश्वास, कला, साहित्य, विभिन्न पर्व, धर्म र परम्परागत प्रथाहरुको खोज र अन्वेषण पनि गर्नेछ।”    
“कर्णाली बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त प्रदेश हो”, उनले थपे, “यसको अध्ययन अध्यापनले यहाँको इतिहास, पुरातत्व र संस्कृतिलाई उत्खनन, पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।” त्यसका साथै कर्णाली प्रदेशमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान दिने जनशक्ति उत्पादन गर्ने उनको जिकिर थियो।    
उनका अनुसार प्राचीन सिल्करोड, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको समेत अध्ययन अनुसन्धान हुने भएकाले नयाँ आयाम थपिने छ। पहिलोपटक प्रारम्भ गरिएको ‘लोकवार्ता विज्ञान’ले कर्णाली र नेपाल मात्र नभई दक्षिण एशियाकै परम्परागत संरचना, संस्कृति, संस्कार र मौलिकताको खोज अनुसन्धानसहित राष्ट्रियताको बोध गराउने जनाइएको छ। रासस    
 

प्रकाशित: ३१ वैशाख २०७६ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App