५ वैशाख २०८१ बुधबार
खेल

अनुभव काम लागेन: धोनी

हैदराबाद –चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो टोली अनुभवी खेलाडीले भरिए पनि त्यो अनुभवको भरपूर सदुपयोग गर्न नसक्दा इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इन्डियन्सलाई सुम्पिन बाध्य भएको बताएका छन्।

आइतबार भएको फाइनलमा मुम्बईले चेन्नईमाथि १ रनको सनसनीपूर्ण जितका साथ चौथो पटक आइपिएलको उपाधि जितेको हो। १ सय ५० रनको विजयलक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन मात्र जोड्न सक्यो। ५९ बलमा ८० रन बनाएर खेलिरहेका ओपनर शेन वाट्सन अन्तिम ओभरको दोस्रो बलमा रनआउट भएपछि खेल मुम्बईको पक्षमा ढल्किएको थियो।

चेन्नईलाई जितका लागि अन्तिम बलमा २ रन आवश्यक हुँदा लासिथ मालिङ्गाले शार्दूल ठाकुरलाई एलबिडब्लुको सिकार बनाउँदै मुम्बईलाई कीर्तिमानी चौथो आइपिएल उपाधि जिताएका थिए। जारी सिजन चेन्नईले मुम्बईलाई नतिजा सुम्पिएको यो चौथो पटक हो। यसअघि लिग चरणका २ खेल र प्लेअफमा समेत मुम्बईले चेन्नईलाई निराश पारेको थियो।

‘हामीले टोलीबारे गम्भीर समीक्षा गर्न आवश्यक छ,’ धोनीले भने, ‘हामीले उत्कृष्ट प्रदर्शनका आधारमा भन्दा पनि भाग्यले साथ दिँदा फाइनलमा स्थान पक्का गरेका थियौं। टोलीका बलरप्रति मलाई कुनै गुनासो छैन, तर ब्याटिङ पक्षमा भने हामीले गम्भीर हुन आवश्यक छ।’ चेन्नईले हालसम्म ३ पटक आइपिएलको उपाधि जितेको छ। जारी सिजन चेन्नईका कुनै पनि ब्याट्सम्यान सर्वाधिक रनकर्ताको शीर्ष १० मा समेत अटाउन सकेनन्। धोनीले टोलीका लागि सर्वाधिक ४ सय १६ रन जोडे।जसमा ३ अर्धशतक समावेश छ।

वाट्सनले यसै सिजनबाट अस्ट्रेलियाको बिगब्यास लिगबाट संन्यास लिएसँगै उनले अर्को सिजन आइपिएल खेल्नेमा समेत दुबिधा छ। आइतबार भएको फाइनलमा धोनी मात्र २ रन जोड्दै रनआउट भएका थिए। धोनी पवेलियन फर्कंदा टोली ८२–४ को कठिन स्थितिमा थियो। ‘हामीले खेलमा एक पछि अर्को गल्ती ग-यौं र मुम्बईले पनि केही गल्ती ग-यो,’ धोनीले भने, ‘खेलको अन्त्यमा त्यही टोलीले उपाधि जित्यो जसले हाम्रो भन्दा एक गल्ती कम गरेको थियो।’

यसअघि काइरोन पोलार्डले २५ बलमा ४१ रन जोडेसँगै मुम्बईले सम्मानजनक स्कोर खडा गरेको थियो। ‘हामीले उत्कृष्ट प्रदर्शन ग-यौं,’ मुम्बईका कप्तान रोहित शर्माले भने, ‘हामीले शीर्ष २ मा पर्दै यसको प्रमाण दिइसकेका थियाैं। समग्र प्रतियोगितामा हाम्रा बलरले उत्कृष्ट प्रदर्शन गरे।’

‘हामीले उत्कृष्ट प्रदर्शनका आधारमा भन्दा पनि भाग्यले साथ दिँदा फाइनलमा स्थान पक्का गरेका थियौं। टोलीका बलरप्रति मलाई कुनै गुनासो छैन, तर ब्याटिङ पक्षमा भने हामीले गम्भीर हुन आवश्यक छ।’

प्रकाशित: ३१ वैशाख २०७६ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App