८ वैशाख २०८१ शनिबार
समाज

जानकी नवमीलाई ‘राष्ट्रिय पर्व’ का रूपमा मनाउनुपर्छ : राष्ट्रपति

जानकी मन्दिर परिसरमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारी । जानकी नवमी अवसरमा राम र सीताको भेषमा सजिएका श्रद्धालु सँग भलाकुसारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः अमरेन्द्रकुमार यादव/नागरिक

सुरेश यादव/कमलेश ठाकुर
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसरमा राष्ट्रिय उत्सव मनाउनुपर्ने बताएकी छिन्। सोमबार जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि जानकी नवमी महामहोत्सवलाई सम्बोधन गर्दै उनले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदा राष्ट्रिय एकता कायम गर्न टेवा पुग्ने बताइन्।

राष्ट्रपति भण्डारीले प्राचीनकालदेखि शिक्षा र सभ्यताका लागि अग्रस्थानमा रहेको जनकपुरको गरिमालाई विश्वस्तरमै फैलाउन सो दिन सम्पूर्ण नेपाली र विदेशमा रहेका हिन्दू सम्प्रदायले उत्सव मनाउनुपर्ने धारणा राखिन्। साथै उनले राष्ट्रिय गौरवको रूपमा रहेको जानकी मन्दिरलगायत जनकपुरस्थित विभिन्न मठमन्दिरको जग्गा संरक्षणका लागि सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण गराइन्। ‘वेदको उद्गमस्थल भनेर विश्वमा चिनिने जनकपुरको महŒवलाई सामान्य सामाजिक विकृतिको आधारमा छायामा पार्नुहँुदैन,’ उनले भनिन्, ‘मठमन्दिरको जग्गा अतिक्रमण तथा बेचबिखन भइरहेको कार्य ठीक होइन।’

कार्यक्रममा राष्ट्रति भण्डारीले कृषिका लागि उर्वर भूमि तराई मधेसमा उब्जनी घटेकोप्रति चिन्ता व्यक्त गरिन्। कृषिमा आधुनिकीकरणको माध्यमले उत्पादनमा वृद्धि ल्याउन प्रदेश सरकारलाई सुझाउँदै उनले चुरे संरक्षण गरी पर्यावरण सन्तुलनमा पनि जोड दिइन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रशंसा गर्दै उनले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानले प्रदेशको शिक्षा र संस्कृतिमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको रूपमा रहेको जानकी मन्दिरलगायत जनकपुरस्थित विभिन्न मठमन्दिरको जग्गा संरक्षणका लागि सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण गराइन् ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुरका मठमन्दिरको जग्गालगायत चलअचल सम्पत्ति संरक्षण तथा संवद्र्धन गर्न उच्चस्तरीय समिति गठन गरेको बताए। मठमन्दिरको जग्गा हडप्न फोहोरी राजनीति भइरहेको संकेत गर्दै मन्त्री महासेठले तत्कालै स्थलगत अध्ययन गरी अतिक्रमण रोक्न र अतिक्रमण भइसकेको जग्गा व्यवस्थापनका लागि संघीय सरकारले गम्भीरतापूर्वक काम गरिरहेको दाबी गरे। उनले धर्मको नाममा मठमन्दिरलाई श्रद्धालु भक्तजनले दान गरेको जग्गा यतिबेला राजनीतिक आडमा अतिक्रमण हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै गुम्बा र मस्जिदको जग्गा अतिक्रमणबारे पनि जाँचबुझ हुने बताए। साथै उनले जानकी मन्दिर क्षेत्रलाई विश्वसम्पदाको सूचीमा दर्ता गराउन सबै पक्षलाई सक्रियताका साथ पहल गर्न आग्रह गरे।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय विभूति जानकीलाई संघीय सरकारले उपेक्षा गरेको आरोप लगाए। ‘आज जानकी नवमीको दिन राष्ट्रिय बिदा घोषणा नभएकाले प्रदेश सरकारले प्रादेशिक उत्सव मनाउन सार्वजनिक बिदाको घोषणा गरी सबैलाई उत्सवमा सहभागिताका लागि आह्वान गरेको छ,’ उनले भने। प्रदेश सरकारले जानकी मन्दिरलाई अपनत्व ग्रहण गरी चालु आवभित्रै सम्पन्न हुनेगरी स्थायी प्रकृतिको सौन्दर्यीकरण कार्य सुरु गरेको उनले बताए।

‘जगत जननी जानकी मन्दिर रहेको जनकपुर प्रदेश २ को धार्मिक पर्यटकीय दृष्टिकोणले आस्थाको केन्द्र हो,’ मुख्यमन्त्री राउतले भने, ‘जानकी मन्दिरले धार्मिक मात्र नभएर शिक्षा, संस्कृति र संस्कारको क्षेत्रमा पनि विशेष महŒव राख्छ।’ प्राचीनकालमा तत्कालीन प्रजाहरूको संकट निवारण गर्न स्वयं महर्षि राजा जनकले हलो जोतेको प्रसंग वर्तमान समयमा पनि विभिन्न मुलुकका निरंकुश शासकलाई शासन व्यवस्था परिवर्तन गर्न प्रेरणाको स्रोत रहेको उनले दाबी गरे।

महामहोत्सवमा राष्ट्रपति भण्डारीलाई मन्दिरको तर्फबाट मन्दिर अंकित मायाको चिनो प्रदान गरिएको थियो। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् तथा जनकपुरधाम उपमहानगरले उनको सम्मान तथा अभिनन्दन गरेको थियो। मन्दिरका उत्तराधिकारी महन्त दासले जानकी नवमीलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने वातावरण बनाउन पहलका लागि राष्ट्रपति भण्डारीसँग आग्रह गरे।

कडा सुरक्षाबीच राष्ट्रपतिको सम्बोधन
तीन वर्षअगाडि रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिर दर्शन गर्न आएकी राष्ट्रपति भण्डारीविरुद्ध उग्र प्रदर्शन भएको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। उक्त घटनामा संलग्न करिब एक दर्जन प्रदर्शनकारी अहिले पनि जिल्ला अदालतमा तारेख धाइरहेका छन्। सोही घटनालाई ध्यानमा राख्दै सोमबार जिल्ला प्रहरी, प्रदेश प्रहरी तथा संघीय प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था मिलाएको थियो।

जानकी मन्दिरपरिसर तथा आसपासमा मात्रै करिब चार सयको संख्यामा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका एक अधिकृतले बताए। मन्दिरमा पूजा गरेपछि राष्ट्रपति भण्डारीले सम्बोधन गरेको मन्दिरपरिसरमा मात्रै पण्डालभित्र र बाहिर गरी करिब डेढ सयभन्दा बढी प्रहरी परिचालित थिए। तर, यसपालि आशंका गरेजस्तो कुनै प्रकारको विरोध प्रदर्शन नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App