coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सीता महान् नारी हुन् : उपराष्ट्रपति पुन

रौतहट - उपराष्ट्रपति नन्दबहादुर पुनले सीतालाई महान् नारीको संज्ञा दिएका छन्। सीताको त्याग र समर्पणले उनलाई विश्वमा महान् नारीका रूपमा स्थापित गराएको बताउँदै उपराष्ट्रपति पुनले भने, ‘आदर्श, त्याग, समर्पण, तपस्या, सतित्व र मातृत्व वात्सल्यका कारण माता सीताको आदर्श विश्वमा स्थापित भएको छ।’

रौतहटको कटहरिया नगरपालिकाद्वारा कटहरिया बजारमा जानकी जयन्ती समारोहका अवसरमा सोमबार आयोजित जानकी महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महोत्सवले समाजमा उत्पन्न महिलाहरूप्रतिको विभेद, हिंसा एवं उत्पीडनका घटना अन्त्य गर्न मद्दत पुगोस् भनी शुभकामना दिए। ‘नेपाल बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक राष्ट्र भएकाले सबै समुदायको धर्मसंस्कृति जगेर्नाले मात्रै राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने स्पष्ट पारे। हिमाल, पहाड, चुरे, तराई–मधेसलाई एकताको सूत्रमा यही धार्मिक संस्कृतिले एकताबद्ध गरेर राखेको उल्लेख गर्दै उनले सदियौंदेखि सुन्दर देश नेपाल विभिन्न कालखण्डमा उठेका आन्दोलन एवं आवाजहरूलाई समयअनुसार सम्बोधन गर्दै बढे आपसी एकता बलियो हुने विश्वास व्यक्त गरे।

विभिन्न असमानताका कारण पछिल्ला केही वर्षयता मधेस, आदिवासी आन्दोलनसमेत भएको चर्चा गर्दै त्यस्ता आन्दोलनबाट आएका मागहरूलाई संविधानमा समावेश गरिएको उनको भनाइ थियो। मधेसका जनता सिमानामा ढाल बनेर अनवरत रूपमा देशको रक्षा गर्दै आएको बताउँदै आफ्नो मातृभूमिको रक्षा गर्न सबै नेपालीको कर्तव्य हुनुपर्नेमा उनले जोड दिए। ‘स्थायी शान्ति भएपछि मात्रै दिगो विकासको परिकल्पना गर्न सकिनेछ, हरेक जनताको आर्थिक रूपान्तरणमा समान ढंगबाट सम्बोधन गरी अघि बढे मात्रै मुलुक समृद्ध भई नेपालीहरू सुखी बन्नेछन्।’

विभिन्न समयमा राणाशासन हटाउन, राजतन्त्र अन्त्य गर्न र लोकतन्त्रलगायत राजनितिक अधिकार स्थापित गर्न साझा रूपमा अघि बढेर प्राप्त उपलब्धिलाई संस्थागत गराउन विकास र समृद्धिका लागि पनि संयुक्त रूपमा राजनीतिक सन्तुलन कायम हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। मुलुकमा व्याप्त भ्रष्टाचार जनस्तरबाटै समाप्त पारी सुशासन कायम गराउनमा मद्दत पुयाउनु सबैको कर्तव्य रहेको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले प्रदेश–प्रदेशबीच विकास निर्माण तथा जनतालाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरे नेपाल केही वर्षभित्रै विकसित मुलुकको पंक्तिमा उभिने भएकाले आपसी मतभेद बिर्सेर विकासको कार्यमा अघि बढ्न तथा जनमुखी कार्यमा अग्रसर हुन प्रदेश प्रमुखलाई सुझाव दिए।
नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले माता जानकीको जन्मदिनको अवसरमा जनकपुरबाहेक अन्य स्थानमा कुनै कार्यक्रम नहुँदा जानकीको योग्दानबारे जनमानसमा खासै जानकारी नभएकोमा पहिलोपल्ट जनकपुरबाहेक कटहरियामा यस महोत्सवको आयोजना गरिएको जानकारी दिए। महोत्सवको माध्यमबाट समाजमा फैलिएको अन्धविश्वास, रूढीवाद, हिंसा, उत्पीडनको सिकार बनिरहेका महिलाहरू तथा यस्ता घटना गराउनमा संलग्न रहेकाहरूमा चेतना जागृत गराउनमा मद्दत पुग्ने विश्वास लिइएको उनको भनाइ थियो।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App