४ वैशाख २०८१ मंगलबार
समाज

इँटाभट्टाले फाल्ने धुवाँको ‘कुहिरो’मा जनता

सिरहा - सिरहा नगरपालिकाको पूर्व–दक्षिणमा पर्छ सुखचैना गाउँ। यो गाउँभन्दा पश्चिममा नवटोली (मुस्लिम बस्ती) र माडर गाउँ छन्। उत्तरमा नवटोली (धानुक टोल) र मुसहरी बस्ती। दक्षिणमा छ भारतीय सीमा। यही मानवबस्ती बीचमा अर्थात् सिरहा–१५ सुखचैना टोलमा सञ्चालित छ ऋषि इँटाभट्टा।

यो इँटाभट्टाको चिम्नीबाट बिहानदेखि बेलुकीसम्म निरन्तर धुवाँको मुस्लो निस्किरहेको हुन्छ, जसले गर्दा सेरोफेरोको मानव बस्ती दिनरात निसासिने गर्छ। ‘सुकाउन राखिएका सेता लुगा पनि उठाउने बेलासम्म कालो भइसक्छ, घरको छानो र भित्ताहरू पनि काला भएका छन्,’ भट्टासँगै बस्ती नवटोलीकी सहारुन खातुनले भनिन्।‘भट्टाको धुवाँ गाउँभरि फैलिन्छ, बिहान उठ्नेबित्तिकैदेखि कोइलाको गन्ध मिसिएको सास फेर्नुपर्छ, कालो नहुने कुनै ठाउँ हुँदैन,’ उनले सुनाइन्। टोलमा पूर्वी हावा चल्दा घरमा बसिनसक्नु हुन्छ। हावासँगै फैलिने कोइलाका कण खानामा पर्दा स्थानीय वाक्कदिक्क हुन्छन्। घरनजिकै भट्टा बनाइएपछि स्थानीयको जीवन दुस्कर भएको उल्लेख गर्दै सहारुनले भनिन्, ‘कालो कण केलाएर खाने गरेका छौं। घर छाडेर अन्यत्र जाने ठाउँ छैन, यहाँ बस्न पनि मन छैन।’

इँटाभट्टाको प्रदूषणले स्थानीयको स्वास्थ्यमा असर पारेको त छ नै खेतीयोग्य जमिनको उर्वराशक्ति पनि घट्दै गएको छ। पछि यस्तै समस्या आइलाग्छ भनेर स्थानीयले इँटाभट्टा बनाउन थाल्दा नै विरोध गरेका थिए। बस्तीबीचमा इँटाभट्टा बनाउन नदिन गाउँलेले नगरपालिका कार्यालय, घरेलु कार्यालय, प्रहरी, नेता, पत्रकार सबैलाई गुहारेका थिए। तर, उनीहरूको गुनासोलाई कसैले गम्भीरतापूर्वक लिएनन्। त्यसबेला गाउँलेको आवाज र हारगुहार कसैले नसुनेको उल्लेख गर्दै नवटोलीका मोहम्मद सरिफले भने, ‘ढौवा (पैसा)वालाको अगाडि हाम्रो गुनासोको कुनै महत्त्व भएन।’ बस्ती बीचमा इँटाभट्टा सञ्चालन हुन लागेको सुइँको पाएपछि त्यसको दर्ता रोक्नुपर्ने मागसहित नवटोली मुस्लिम बस्तीका नागरिकले सिरहा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दर्ता गराएका थिए। तर, निवेदनउपर कुनै सुनुवाइ भएन।

नगरपालिका, घरेलु कार्यालय र राजनीतिक दलका नेताहरूसमेत मिलेर मानव बस्तीलाई प्रदूषणभित्र डुबाएको स्थानीयको आरोप छ।

‘जब धन बोल्छ तब सबैथोक फिका पर्दोरहेछ,’ सरिफले नागरिकसँग भने, ‘इँटाभट्टा सञ्चालन गर्न नदिन बस्तीका सबैजनाले लिखित निवेदन गर्ता गराउँदासमेत कुनै सुनुवाइ भएन। अहिले सिंगो बस्ती विस्थापित हुने अवस्था आइलागेको छ।’ इँटाभट्टा सञ्चालनको सुरसार हुँदैगर्दा गाउँलेले राजनीतिक दलका स्थानीय नेतासमक्ष गुहार लगाए। तर केहीले आफू यसमा ‘एक्सपोज हुन नसक्ने’ जवाफ दिए भने केहीले खुलेरै इँटाभट्टा सञ्चालनको पक्षमा वकालत गरे। केहीले आफूलाई उद्धृत नगरी सम्बन्धित निकायमा उजुर गर्न सुझाए। त्यसपछि इँटाभट्टाको दर्ता रोक्न स्थानीयले कारण खुलाएर सिरहा नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय लहानमा विरोध निवेदन दर्ता गराए।

इँटाभट्टाको सिफारिस रोक्न २०७२ चैत २५ गते स्थानीय मोहम्मद इशा राईन, मोहम्मद मन्जुर मियाँलगायत डेढ सयको हस्ताक्षरसहित सिरहा नगरपालिकामा निवेदन दिइएको थियो, जसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको वातावरण शाखालाई जानकारी गराइएको थियो। गाउँको वातावरण संरक्षणका लागि इँटाभट्टाको दर्ता रोक्न स्थानीयले २०७३ वैशाख ५ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा पनि निवेदन दर्ता गराए। तर, यी निकायहरूले निवेदन परेको नपरेकोतर्फ कुनै ध्यान दिएनन्, इँटाभट्टा सञ्चालनका लागि अनुमति दिए। सो इँटाभट्टाको ५० मिटर उत्तर–पश्चिममा नवटोली मुस्लिम बस्ती छ। सय मिटर उत्तर–पश्चिममा मस्जिद छ। पाँच सय मिटर पूर्व दलितदीप अधारभूत विद्यालय छ। एक किलोमिटर दक्षिण भारतीय गाउँ जोगिया छ। स्थानीयका अनुसार सो भट्टाका कारण नवटोलीको मस्जिद र विद्यालयमा नकारात्मक असर परेको छ। माडर, खिरौना, नवटोली र पर्साही गरी चार टोलवासी प्रदूषणको प्रत्यक्ष मार खेपिरहेका छन्। नगरपालिका, घरेलु कार्यालय र राजनीतिक दलका नेताहरूसमेत मिलेर मानव बस्तीलाई प्रदूषणभित्र डुबाएको स्थानीयको आरोप छ।

लहान नगरपालिका–२२ सिसवनीस्थित पाँचुनाथ आधारभूत विद्यालयका बालबालिकालाई बाह्रै महिना सकसक हुन्छ। रुघाखोकी र ज्वरोले थलिएर धेरै विद्यार्थी स्कुल जान पाउँदैनन्। धेरैजसो विद्यार्थीमा छाला चिलाउने, आँखा पोल्ने र आँखा रातो हुने, रुघाखोकी र ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या देखिन्छन्। विद्यालयका प्रधानाध्यपक हरिहर चौधरीले विद्यालयको पश्चिमतर्फ लहरै रहेका चारवटा इँटाभट्टाको धुवाँले सबैलाई सताउने गरेको बताए। उनले भने, ‘बालबालिकालाई धुवाँले चाँडै असर गर्दोरहेछ। पछिया हावा चल्दा विद्यालयमा बसिनसक्नु भएर बिदा नै दिनुपर्छ।’ नेपालको संविधानमा स्वच्छ वातावरणमा बाँच्न पाउने जनताको अधिकारलाई मौलिक हकमा राखिएको छ। जनता स्वच्छ वातावरणमा सास फेर्न पाउने संवैधानिक अधिकारप्राप्त छन्। तर, सिरहाको हकमा अधिकतर जनता यो अधिकारबाट वञ्चित बनाइएका छन्।

सिरहाको गोलबजार नगरपालिकाका प्रायः मानव बस्तीलाई चारैतिरबाट इँटाभट्टाले घेरेको छ। इँटाभट्टाको फैलिँदो सञ्जालले बस्तीमा वायु प्रदूषण, खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदै छ। गोलबजार नगरपालिकामा २२ वटा इँटा उद्योग सञ्चालित छन्। केही वडामा पाँचवटासम्म भट्टा छन्। ती भट्टाबाट निस्कने धुवाँको असर श्वासप्रश्वाससम्बन्धी रोगबाट संक्रमित जनताको तथ्यांक, धाँजा फाटेका खेत र आँपका रुखहरूको घट्दो उत्पादनमा प्रतिविम्बत भइरहेको छ। धुवाँ र प्रदूषणले गर्दा भट्टा वरपरका बगैंचामा आँप फल्न छोडेका छन्। खेतबारीमा अन्नबाली उत्पादन घटेको छ। जनता श्वासप्रश्वास समस्याले पीडित छन्। इलाका स्वास्थ्य चौकी गोलबजारका प्रमुख निरञ्जन शाक्यका अनुसार यस चौकीमा क्षयरोगको नियमित औषधी सेवन गर्न आउनेको संख्या १४ छ। यस इलाकामा २५ जनाजति क्षयरोगका बिरामीहरू छन्।

गोलबजार मुसहरी बस्तीका श्याम सदा क्षयरोगबाट थलिएका छन्। गाउँकै इँटाभट्टामा मजदुरी गर्ने उनी भन्छन्, ‘सुरुमा खोकी लाग्यो, जचाउँदा टिबी रहेको थाहा पाएँ।’ बिसेक हुनका लागि उनले सरकारी अस्पतालबाट निःशुल्क औषधि त पाएका छन् तर कामको चापले नियमित सेवन गर्न नपाउँदा रोगले झनझनै च्याप्दै गएको छ। मुसहर बस्तीका बासिन्दा बर्खाको तीन महिनाबाहेकको समय भट्टामा काम गरेर गुजारा गर्छन्। बस्तीसँगै भट्टा रहेकाले धुवाँको पहिलो सिकार पनि उनीहरू नै हुन्छन्। श्याम सदा भन्छन्, ‘बच्चादेखि वृद्धसम्म सबैको नाकमा वर्षैभरि सकसक भइरहन्छ। बिहान उठ्दा नाकबाट कालैकालो पदार्थ निस्कन्छ।’

इलाका स्वास्थ्य चौकी गोलबजारका प्रमुख निरञ्जन शाक्यका अनुसार यस क्षेत्रका बासिन्दामा श्वासप्रश्वास, दम, क्षयरोगसम्बन्धी स्वास्थ्य समस्या बढिरहेको छ। दैनिक जँचाउन आउने बिरामीमध्ये अधिकतरमा सकसक र श्वासप्रश्वासका बिरामी रहेको उनको भनाइ छ। इँटाभट्टाको धुँवाले वायुमा मात्र नभई पानी र माटोमा पनि नकारात्मक प्रभाव पार्ने शाक्यले बताए। ‘इँटाभट्टाको कालो–मुस्लोपीडित हामीले न्यायका लागि अदालतको ढोकासमेत ढकढक्यायौं,’ गोलबजार–८ सिडिओटोलाका रामचन्द्र प्रसाद धमला भन्छन्, ‘तर, हामी हार खायौं। अ·ा–अदालत सबै चहार्‍यौं तर हाम्रो कुनै सीप लागेन।’

बस्तीको बीचमा र एकै ठाउँ धेरै संख्यामा इँटाभट्टा सञ्चालन गर्न अनुमति कसरी दिइयो ? इँटाभट्टापीडित स्थानीयको प्रश्न छ। स्थलगत रूपमा नखटिई, पैसाको प्रभावमा परेर कर्मचारीहरूले वातावरण मूल्यांकन प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा इँटाभट्टा सञ्चालनका लागि अनुमति दिइने गरेको उनीहरूको आरोप छ।
धमलामा अनुसार स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको भए यस्तो अवस्था आउने थिएन। राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकहरूको प्रतिकार गर्ने साहस सीमान्तकृत गाउँलेसँग छैन। त्यसैले उनीहरू जति दुःख बेहोर्नुपरे पनि चुपचाप सहन बाध्य छन्।

इँटाभट्टाका कारण हुने प्रदूषणको मारमा गाउँका मात्र होइन, गोलबजारलगायत बजारक्षेत्रका बासिन्दा धुवाँको कुहिरोमा निसासिन बाध्य छन्। गोलबजारकी गंगा थापा भन्छिन्, ‘हावा नचलुन्जेल त जसोतसो बसिन्छ, हावा चलेपछि आगोले पोलेजस्तो हुन्छ। बसिनसक्नु हुन्छ। हावाले उडाएर ल्याउने कालोधुलो खानामै झर्छ।’ एउटै नगरमा यति धेरै इँटा उद्योग हुने गोलबजार सम्भवतः देशकै एकमात्र नगरपालिका हो। यति धेरै उद्योगबाट निस्किएको धुवाँको नराम्रो असर जनजीवनमा दिनदिनै बढ्दै छ।’ इँटाभट्टाका चिमनीले फाल्ने हानीकारक धुवाँको प्रभावले गोलबजारमा मात्र होइन सेरोफेरोका गाउँमा समेत खाद्यान्न उत्पादन घटेको छ। जिल्ला कृषि कार्यालयले तीन वर्ष पहिला गरेको सर्वेक्षणले यी ठाउँमा सञ्चालित इँटाभट्टाको धुवाँले उत्पादनमा असर पुर्‍याएको निष्कर्ष निकालेको थियो। सो कार्यालयका अनुसार आँप, गहुँ, धानलगायत उत्पादन अन्य क्षेत्रको तुलनामा यहाँ अत्यन्त कम छ।
...

गोलबजार नगरपालिकामा बस्तीका बिचमा सञ्चालित इँटाभट्टाहरूले फालिरहेको कालोधुँवा। तस्बिरः मिथिलेश÷नागरिक

प्रकाशित: ३१ वैशाख २०७६ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App