८ वैशाख २०८१ शनिबार
समाज

‘मेरो जीवन ईश्वरको वरदान’

ललितपुर - अल्छी लाग्दा ढिलैसम्म सुत्ने र बिउँझिसकेर पनि ओछ्यानमै किताब पढ्ने बानी भएका शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार भने अलि चाँडै उठ्नुप-यो। उमेरले शताब्दी चुम्ने दिन भएकाले उनले आँखा खुलेपछि केही बेर ओछ्यानमै रहेर जीवनबारे चिन्तन गरे।

आफू ओछ्यानमा हुँदै शुभकामना दिन आउनेहरूको भीड लागिसकेका कारण उनले अरू दिनको तुलनामा चाँडै उठ्नुपरेको थियो। यसकारण आफ्नो जन्मोत्सव मनाउने ऐतिहासिक दिनको आरम्भ उनका लागि पहिलाभन्दा पृथक् बन्न पुग्यो। बिहान ६ बजेतिर सत्यमोहनको घरअगाडि आँगनमा उनीसहितका बूढापाकाले ‘नाम संंगीति भजन’ पाठ वाचन गरे। त्यसपछि उनले पाहुनाले सगुनका रूपमा ल्याइदिएका कोसेलीसँगै चिया पिए।

त्यति बेलासम्म बिहानको ६ः३० बजिसकेको थियो। घरबाहिर उनलाई शुभकामना दिन आउने स्थानीय, आफन्तजन र अन्य शुभचिन्तकको भीड बढ्दै थियो। उपस्थित हुनेहरूले उनलाई पालैपालो शुभकामना दिँदै गए। करिब ८ बजेतिर राष्ट्रपति कार्यालयबाट आएका प्रेस सल्लाहकार माधव शर्मा र शिव भट्टराईले राष्ट्रपतिले पठाएको शुभकामना सन्देश पढेर सुनाए। ९ बज्दासम्म उनलाई शुभकामना दिन आउनेको लस्कर घटेको थिएन।

त्यहीबीचमा मेसो मिलाएर उनले घरको दलानमा बसेर सदाझैं दाल, भात, तरकारी, दूध आदि भोजनका रूपमा लिए। भोजन गर्ने समयका सन्दर्भमा उनी चुस्त छन्। जस्तोसुकै काम छुटाएर पनि उनी सो समय तलमाथि हुन दिँदैनन्। सय वर्षको पुगेको दिन सोमबार बखुमबहालस्थित जोशीको घर पुगेर उनको दैनिकीलाई पछ्याइरहँदा अरू दिनभन्दा भिन्न दृश्य देखियो। आफन्त, शुभचिन्तक, सरकारी निकायका पदाधिकारी, स्थानीयको भीड थियो। करिब ११ बजेसम्म उनको निवासमै शुभकामना दिने व्यवस्था मिलाइएको थियो।

त्यसपछि ललितपुर महानगरपालिकाद्वारा आयोजित नगरपरिक्रमा रहेकाले ११ः३० तिर उनलाई घरबाट हिँडाइयो। पाटन मंगलबजारसम्म उनी बिस्तारै हिँडेरै आए। त्यहाँसम्म आइपुग्दा उनलाई शुभकामना दिन बाटाका दुई छेउमा उभिनेहरू थुप्रै भेटिए। मंगलबजारदेखि नेपाली सेनाको बग्गीमा राखेर उनलाई लगनखेल, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा ल्याइयो। उनी त्यहाँ आयोजित कार्यक्रममा सहभागी भए। त्यहाँ पुगेको केही बेरमै उनको जन्मदिनको औपचारिक कार्यक्रम सुरु भयो।

‘संस्कृति राष्ट्रको गहना हो। यसले देशको समृद्धिमा उल्लेखनीय भूमिका खेलेको हुन्छ। भाषा, साहित्य, कला–संस्कृतिलाई माध्यम बनाएर देशको प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो।’

आफ्नो जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा उनले लामो मन्तव्य राखे। त्यसक्रममा उनले लामो समय कसरी बाँच्ने, खुसी कसरी रहने, कसरी चिन्तन गर्ने भन्ने विषयमा गहकिला विचार प्रस्तुत गरे। युवादेखि वृद्धसम्मलाई मिल्ने उनको सुझाव कार्यक्रममा उपस्थित सबैले एकाग्र भई सुनिरहे। ‘यहाँ एउटै मात्र संस्कृति छैन। विभिन्न जाति–जनजातिका मातृभाषा छन्। उनीहरूका धर्म, रहनसहन, संस्कृति, बाजागाजा, जात्रा, वेशभूषा, रीतिथितिलगायत भिन्नभिन्न छन्,’ उनले नेपालको कला–संस्कृतिको सन्दर्भ जोड्दै भने, ‘यस्तो परिस्थितिले नेपाललाई विविधीकरण गरेको छ। संस्कृति राष्ट्रको गहना हो। यसले देशको समृद्धिमा उल्लेखनीय भूमिका खेलेको हुन्छ। भाषा, साहित्य, कला–संस्कृतिलाई माध्यम बनाएर देशको प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो।’

प्रवचनकै क्रममा उनले नेपाली संस्कृतिलाई विश्वसामु चिनाउन सबै निकाय मिलेर सहकार्य गर्नुपर्ने उल्लेख गरे। ‘नेपाल अथक कला संस्कृति र इतिहास बोकेको देश हो, यहाँका कला–संस्कृतिको गहिराइ खोज्न सामान्य अध्ययनले पुग्दैन। त्यसकारण सरकारले यहाँको कला–संस्कृति बुझ्नु आवश्यक छ,’ उनले भने। उनले आफ्नो जीवनलाई ईश्वरको वरदान भएको उल्लेख गरे। ‘कसैले नदेख्नेगरी ईश्वरले दिएको वरदान हो मेरो जीवन।’

पाँच वर्षअघि आफूले लेखेको एउटा किताबमा शताब्दी पुरुष लेखिएकाले पनि त्यसले आफूलाई लामो आयु बाँच्न प्रेरित गरेको उनको भनाइ थियो। ‘मैले नइ प्रकाशनका कारण आफूलाई शताब्दी पुरुष बनाउने हौसला पाएको छु। म ९५ वर्षको हुँदै प्रकाशनले मेरो नामको अगाडि शताब्दी पुरुष भनेर राखिदिएको थियो,’ उनले भने, ‘वास्तवमा त्यो मेरो लागि निकै ठूलो ऊर्जा थियो। आज यसरी जन्मदिन मनाउन पाएको छु। मेरो आयु थपिएको छ।’

उनलाई गत वर्ष महानगरपालिकाले सुविधाका रूपमा सवारी र चालक दिएको थियो। उनको सम्मानप्रति धारणा राख्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भाषा, साहित्य र संस्कृतिमा उनको अतुलनीय योगदान रहेकाले त्यस किसिमको कार्यक्रम गरिएको स्पष्ट पारे। ‘यस्ता व्यक्ति हाम्रा जिउँदा इतिहास हुनुहुन्छ, हामीले उहाँको सम्मान गर्नु भनेको देशको कला संस्कृति र इतिहासको सम्मान गर्नु हो,’ उनले भने। रक्षामन्त्री ईश्वर पोखे्रलले सत्यमोहन जोशीको सम्मानमा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘उहाँ हाम्रा संस्कृतिका धरोहर हुनुहुन्छ। हामीले उहाँको सम्मानका लागि यसबाहेक अन्य सहयोग गर्न पनि तयार छौं,’ उनले भने। प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले सत्यमोहन जोशीलाई एक स्वतन्त्र स्रष्टाका रूपमा चिनाए। उनले सत्यमोहनले राजनीतिक प्रभावबाट टाढा बसेर समाज र संस्कृति जगेर्नाको क्षेत्रमा बृहत्तर कार्य गरेकाले उनको सम्मानमा जतिसुकै कार्यक्रम गरे पनि अपुग हुने धारणा राखे। ‘सत्यमोहन जोशीलाई कुनै राजनीतिक क्षेत्रसँग जोड्न मिल्दैन, उहाँ स्वतन्त्र व्यक्ति हुनुहुन्छ, नेपालको सांस्कृतिक गरगहना जोगाउन उहाँको भूमिका उच्च छ,’ उनले भने।

जोशीको जन्म १९७७ वैशाख ३० गते पाटन मंगलबजारमा भएको हो। ९९ वर्ष पार गरी सय वर्षमा पाइला टेकेका जोशीको जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिकाले सोमबार महानगरभित्र सार्वजनिक बिदा गरेको थियो। गत वर्ष पनि महानगरपालिकाले विविध कार्यक्रम गरी उनको जन्मोत्सव मनाएको थियो। यसपालि उनको सम्मान र कदरका लागि महानगरले थप कार्यक्रम आयोजना गरेको थियो।

उनको सम्मान गर्दै पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, उपत्यका मेयर फोरमलगायतले दोसल्ला ओढाई सम्मानपत्र र कदरपत्र प्रदान गरे। सोमबार बेलुकासम्म उनलाई शुभकामना दिनेहरूको लर्को सकिएको थिएन।

प्रकाशित: ३१ वैशाख २०७६ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App