७ वैशाख २०८१ शुक्रबार
समाज

१२ वर्षदेखि धुलो खाइरहेछन् गैरवासी

नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरमा सवारीसाधनले उडाएको धुलो।

सर्लाही – झ्याल खोल्दा धुलोको मुस्लो पस्ने गरेपछि नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरबजार निवासी रजनिकान्त झाले झ्याललाई फिक्स (सधैंका लागि बन्द) नै गरेका छन्।

‘हावा खान भनेर झ्याल खोल्ने बितिकै धुलोको मुस्लो घरभित्र छिर्छ, धुलो खानुभन्दा त बरु गर्मी नै सहन बेस ठाँनेर झ्याल नै नखुल्ने गरी किला कब्जा ठोकिदिएको छु’, पूर्वप्रधानाध्यापकसमेत रहेका झाले गुनासो गरे, ‘वर्ष दिनअघि सुरु भएको खोकी र घाँटीको खाँसी कहिल्यै बिसेक भएन, सडक कालोपत्रे नहुँदा सवारी साधनले उडाएको धुलोले हाम्रो हरिबिजोग बनाएको छ।’

त्यस्तै गैरबजारस्थित सडक किनारमा सिलाईको काम गर्दै आएका उमेश साह पनि धुलोको पीडाबाट आजित छन्। बिहान सबेरैदेखि साँझसम्म सडक किनारमा रहेको आफ्नाे कठघेरा अगाडि खुला स्थानमा सिलाईको काम गर्दै आएका साह धुलोले छपक्कै हुने गरेको बताउँछन्। ‘दिनको सय ग्राम धुलो त खाइन्छ होला’, साहले भने, ‘के गर्नु धुलो छ भनेर काम नगरौं भने परिवार धान्नै परो, अनि कुनै पर्बाह नगरी धुलाम्मे सडक किनारमा बस्नुको विकल्प छैन।’

झा र साह त यस भेगमा दिनहुँ धुलो खाने पात्र हुन्। सडक दायाँबायाँका बासिन्दा, पैदल तथा साइकल तथा मोटरसाइकल यात्रु दैनिक गुड्ने सयौं ठूला सवारी साधनले उडाउने धुलोको कुइरीमण्डलभित्र हराउन बाध्य छन्। पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम मलंगवा जोड्ने मुख्य नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत ६ किलोमिटर सडक कालोपत्रे नहुँदा लक्ष्मीपुर, हरैया, गैरलगायत बजारका बासिन्दा अझै धुलोको शिकारबाट ग्रसित बनिरहेका छन्।

‘ठेकेदारले न सडकमा पानी छर्किन्छ न त कालोपत्रेको काम नै भटाभट गर्छ, हामी त धुलोले हैरान भइसक्यौं’, अर्का धुलोपीडित सुरेश रायले भने, ‘स्थानीय प्रशासनसहित सरकार पनि आँखा चिम्लेर बसिरहेको छ।’ पटक–पटक राजमार्गमा अवरोध पु¥याउँदा स्थानीय प्रहरी प्रशासन, ठेकेदार र गाउँलेबीच सहमति भए पनि कालोपत्रेको काम अघि नबढेको तथा सडकमा पानी हाल्ने काम पनि नभएको रायको गुनासो छ।

२५ किलोमिटर ५ सय ९४ मिटर सडकखण्डका लागि दुई वटा प्याकेजमा नालासहितको कालोपत्रे गर्न २०७३ भदौमा पछिल्लो पटक दुईवटा निर्माण कम्पनीसँग हुलाकी राजमार्ग आयोजनाले सम्झौता गरेको थियो। नवलपुर–गैर खण्डका लागि हिमडुङ एण्ड ठोकर÷हीरा एण्ड नमिता जेभीले २६ करोड ७१ लाख ५८ हजार ३ सय ५५ रुपैयाँ तथा गैर–मलंगवा खण्डका लागि रमन–आश्रय जेभीले पनि २६ करोड ७१ लाख ५८ हजार ३ सय ५५ रुपैयाँमै टेण्डर सकारेको हो।

तर दुवै कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेनन्। कालोपत्रेसहित सम्पूर्ण काम सक्ने म्याद सकिएको ८ महिना बितिसकेको छ। गैर–मलंगवा खण्डको भने थोरै मात्र कालोपत्रेको काम बाँकी छ। नवलपुर–गैर खण्डमा भने ६ किलोमिटर कालोपत्रे नभएकाले सर्वसाधारण अझै धुलो खान बाध्य छन्।

हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले नवलपुर–गैर खण्डको ठेकेदार कम्पनीले काम नगरेका कारण पत्रिकामा सूचना नै प्रकाशित गरिएको बताए। ‘तल्लो गैर–मलंगवा खण्डमा त झण्डै झण्डै सकिन लागिसक्यो, तर नवलपुर–गैर खण्डमा भने ठेकेदार कम्पनी सम्पर्कमै आएन’, साहले भने, ‘अनि हामीले बाध्य भएर पत्रिकामै सूचना प्रकाशित ग-यौं र दुई दिनअघि सम्पर्कमा आएर काम सुरु गर्ने प्रतिबद्धता जनाएको छ।’

काम सम्पन्न गर्ने सम्झौता अवधि गुज्रिसकेको उल्लेख गर्दै प्रमुख दासले यही ठेकेदार कम्पनीलाई म्याद थप्नुको विकल्प नरहेको बताए। समयमै काम सम्पन्न गर्न नसक्नुको मनासिव कारण पेस गर्न नसके ठेकेदारलाई जरिवानासमेत तिराइने प्रमुख दासले चेतावनी दिए।

२०६४ सालदेखि जीर्ण सडकअन्तर्गत आवश्यक कल्भर्ट, नाला निर्माणसहित कालोपत्रेका लागि २०६९ साल चैत १४ गते तत्कालीन भारतीय राजदूत जयन्त प्रसादले शिलान्यास गरेका थिए। भारतीय सरकारले नै आह्वान गरेको टेण्डर प्रक्रियाबाट छनोट भएको भारतीय निर्माण कम्पनी भिष्वा कन्ट्रक्सनले झण्डै दुई वर्षसम्म ५ प्रतिशत पनि काम नगरी बीचैमा छाडेर हिँडेको थियो।

यसरी पटक–पटक ठेक्का लाग्ने तर समयमै काम नहुने गरेका कारण १२ वर्षदेखि सर्वसाधारण धुलोबाट आजित बनिरहेका छन्।

 

प्रकाशित: ३० वैशाख २०७६ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App