७ वैशाख २०८१ शुक्रबार
अन्य

बीपी बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार

व्यास–३ स्थित बीपी खेलमैदान निर्माणका लागि प्रस्ताव गरिएको बिपी बहुउद्देश्यीय रंगशालाको डिपिआर डिजाइन।

तनहुँ– व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिका परिसरमा निर्माणका लागि प्रस्ताव गरिएको बिपी बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार भएको छ।

भ्यान्कटेस इन्जिनियरिङ एसोसियटले तयार पारेको डिपिआरबारे जानकारी दिँदै संस्थाका डाइरेक्टर तथा इन्जिनियर भूपेन्द्र श्रेष्ठले मुख्य प्याराफिटमा तीन हजार र मिनि प्याराफिटमा दुई हजार गरी ५ हजार दर्शक क्षमताको मैदान डिजाइन गरिएको जानकारी दिए। रंगशालामा इलाभेन साइडको फुटबल मैदानसहित दुईब्याडमिन्टन कोर्ट र भलिबल कोर्टसमेत निर्माण गरिने भएको छ।

योजनाको प्रारम्भिक चरणमा व्यास नगरपालिकाले ४० लाख र एन्फा तनहुँले १० लाग गरी ५० लाग बजेट छुट्याएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

कुल १८ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त बहुउद्देश्यीय  रंगशालाको काममा कुनै बाधा नआए साढे दुई वर्षभित्र निर्माण सम्पन्न हुने व्यास नगरपालिकाले जनाएकोछ।

खेल क्षेत्रमा उत्साहित भएर पनि राम्रो खेलमैदानको अभाव झेल्दै आएका तनहुँबासीलाई दमौलीमा निर्माण हुने उक्त रंगशालाले खेल क्षेत्रमा सहयोग पुग्ने खेलप्रेमीहरूको विश्वास छ। रंगशाला निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र एन्फाको समेत आर्थिक सहयोग रहने व्यास नगरपालिकाले जनाएको छ।

व्यास–३ का स्थानीय सुन्दरलाल मुलले रंगशाला निर्माणपछि खेलाडी तथा दर्शकलाई सहयोग पुग्ने बताए। ‘अहिले उचित खेलमैदान नहुँदा खेल खेल्नेलाई मात्र नभई हेर्ने आमसर्वसाधारणलाई समेत उभिएर हेनुपर्ने समस्या छ, रंगशाला निर्माणपछि यस्तो समस्या समाधान हुन्छ,’ उनले भने।

हालसम्म उचित खेल मैदानको अभावका कारण खेल पारखीहरूलाई फुटबललगायतका खेल खेल्न समस्या हुँदै आएको छ। दमौलीका स्थानीयहरू रंगशाला निर्माण हुने भएपछि हर्षित भएका छन्।

आइतबार व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा खेलमैदानमा प्रस्तावित बहुउद्देश्यीय बिपी रंगशालाको डिपिआर डिजाइनका बारेमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो। अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले डिपिआरका विषयमा जिज्ञासा राखेका थिए भने डिपिआर अनुसार कामलाई तीव्रता दिन आवश्यक रहेको बताएका थिए।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले खेल मानिसको जीवनका लागि अत्यावश्यक रहेको र खेलको विकासका लागि रंगशाला अत्यावश्यक रहेको बताए। खेल क्षेत्रको विकाससँगै पर्यटनको विकास गर्न समेत रंगशालाले सहयोग पुग्ने उनको भनाइ थियो।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले दमौलीमा रंगशालाको महसुस भएपछि निर्माणका लागि तयारी थालिएको बताए। ‘दमौलीमा खेल रंगशाला अत्यन्त आवश्यक छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गरेर चाँडोभन्दा चाँडो निर्माणको काम सक्नुपर्छ।’ खेलले केवल मनोरञ्जन मात्र नभई मानिसको शारीरिक एवं बौद्धिक विकासमा समेत सहयोग पुग्ने समन्वय प्रमुख वाग्लेको भनाइ छ।

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले रंगशाला आवश्यक भएकाले रंगशाला निर्माणका लागि डिपिआर तयार पारिएको बताए। युवालाई खेलतर्फ आकर्षित गर्न रंगशाला सार्थक हुने नगरप्रमुख न्यौपानेले जिकिर गरे। ‘युवाको शारीरिक मात्र नभई मानसिक विकासमा समेत रंगशाला महत्वपूर्ण हुन्छ,’ उनले भने।

कार्यक्रममा  व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, वडा सदस्य रबिन पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुुषाल, व्यास नगर ब्याडमिन्टन संघका अध्यक्ष जीवन गुरुङलगायतले राय राख्दै सबै पक्षले रंगशाला निर्माण गर्नु सकारात्मक भएको बताए।

प्रकाशित: ३० वैशाख २०७६ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App