७ वैशाख २०८१ शुक्रबार
कला

‘ओशो अचम्म जो मैले देखें’

काठमाडौं – बोधिसत्व स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखें’ सार्वजनिक भएको छ। ओशो तपोवनमा गत शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणी दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

पुस्तक विमोचन गर्नुअघि ५ मिनेट ध्यान गरिएको थियो। कार्यक्रममा काँग्रेस नेता गिरिले माक्र्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म सो दर्शनले आध्यात्मलाई सही परिप्रेक्षमा बुझ्न नसक्ने दाबी गरे। उनले स्वामी अरुणको यो पुस्तकले आध्यात्मको रहस्यमय आयामलाई सही रूपले प्रतिनिधित्व गर्ने बताए।

नेकपाका प्रवक्ता श्रेष्ठले कृतिले मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनाको गाथा प्रस्तुत गरेको बताए। नागरिक अगुवा डा. दीक्षितले गहन आध्यात्मिक संस्मरणात्मक पुस्तकले पाठक र लेखक दुबैलाई मंगल गर्ने  बताए।

सम्पादक त्रिपाठीले कृतिले गुरु र शिष्यको सम्बन्धलाई एक नयाँ उचाईमा प्रस्तुत गरेको जनाए। नागरिक दैनिकका प्रधान सम्पादक लुईंटेलले कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम संगालो भएको बताए। पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सांन्निध्यमा आफुले भोगेका कुराहरू लेखेको बताउदै ओशो एक क्रान्तिकारी दृष्टा तथा भविष्यका मसिहा भएको बताए। अरुणले नेपालका धार्मिक स्थलहरूलाई विश्व मानचित्रमा चिनाउनु पर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार निखिल उप्रेती, अभिनेत्री सन्चिता लुईटेल, पत्रकार हरिहर विरही, टिकाराम यात्री, डा. ऋषि काफ्ले, काँग्रेस नेता लक्ष्मण घिमिरे, लोकेश ढकाल, पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, साहित्यकार शारदा शर्मा, अमर न्यौपाने, जलश्रोत विज्ञ अरुण सुवेदी, सांसद रामवीर मानन्धर, नेपाल सरकारका सचिव देवेन्द्र कार्कीलगायतको उपस्थिति थियो। बु्कहिल्स् पब्लिकेशनले प्रकाशन र वितरण गरेको पुस्तक शनिबार देखिनै देशका प्रमुख पुस्तक पसल तथा ओशो केन्द्रहरूमा उपलब्ध छ।   

 

प्रकाशित: ३० वैशाख २०७६ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App