coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आँखाको नानीको दाग क्यान्सर त होइन?

कामठाडौं - तपाईंको शिशुको आँखामा सेतो दाग छ ? फोटो खिच्दा आँखामा सेतो दाग देखिन्छ ? यदि यस्ता चिह्न देखिए भने बच्चाको आँखामा क्यान्सर पनि भएको हुन सक्छ। बेलैमा सर्तक भई समयमै शिशुको आँखा परीक्षण गराउनु होला। शिशु जन्मेपछि एक पटक अनिवार्य आँखा जाँच गराए आँखाको क्यान्सरबाट मृत्यु हुने सम्भावना टार्न सकिन्छ।

रेटिनोब्लास्टो (आँखा) को क्यान्सर पाँच वर्ष मुनिका बालबालिकाहरुलाई हुने गर्छ। ७ वर्षसम्मका केही बालबालिकामा पनि यो रोग देखिन सक्छ। यो रोगको संक्रमण आँखाको भित्री भागबाट पलाएर पूरै आँखामा फैलिन्छ र अन्धोपना हुन्छ। यदि यो रोगको समयमै पत्ता लागेन र सही उपचार हुन सकेन भने शरीरको अन्य भागमा पनि फैलिन सक्छ र शिशुको ज्यानै जान सक्छ। आँखाको नानीको भाग सेतो तथा रातो हुने लक्षण देखिएर रोग छिप्पिँदै गएमा आँखा डेढो हुने, आँखाको डल्लो बाहिर निस्कने, वच्चा पटकपटक ठोक्किने जस्ता लक्षण देखिन्छन्।

तिलगंगा आँखा अस्पतालका चिकित्सकहरु ती वच्चाहरु सम्झेर भावुक हुन्छन्, जो पैसा र जनचेतनाको अभावले ढिला उपचारमा पुगे र आँखा क्यान्सर छिप्पिएर ज्यानै गुमाए। अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. वेन लिम्बुले आइतबार चार वर्षअघि कैलालीबाट आँखा उपचारमा आएका दुई वर्षीय बालकलाई सम्झेर भावुक बने। विपन्न परिवारका चौधरी थरका ती बालकको आँखामा क्यान्सर भएको थियो। यसको उपचार अविभावकलाई आँखाको डल्लो निकालेर फाल्नुपर्ने कुरा जानकारी दिए। उनको जानकारी सुनेका अविभावक आश्चर्यमा परेर फेरि आउने भन्दै घर फर्के।

पैसा अभाव भएका चौधरी दम्पत्ती ६ महिनापछि पुनः तीलगंगा पुगे। जतिबेला छोराको दुवै आँखाको क्यान्सर छिपिप्सकेको थियो। चिकित्कसले उपचारको क्रममा पहिला एउटा आँखा निकाले तर छ महिनापछि अर्को आँखामा पनि क्यान्सरको ट्यिुमर पलायो। चिकित्सकले त्यसलाई पनि निकाले तर शरीरमा फैलिएको क्यान्सर फाल्न सकेनन्। अन्ततः बाललको मृत्यु भयो। ढिला उपचारमा पुगेको कारणले ती बालकको मृत्यु भएको डा. लिम्बु बताउँछन्। ‘अहिले मलाई त्यही कुराले पछुतो लागिरहेको छ। मैले बुझाउन सकिनछु। सायद सुरुमै बुझाउन सकेको भए बच्चालाई बचाउन सकिन्थ्यो,’ लिम्बुले भने। ६ महिनापछि आउने क्रममा चौधरी दम्पत्तीले जग्गा बेचेर आएको कुरा उनले स्मरण गरे। चौधरी बालक मात्रै हैन यो ढिला उपचारमा पुगेका अन्य बालकले पनि यसरी नै मृत्युवरण गरिरहेका छन्।

अस्पतालमै ढिला उपचारमा पुगेर मृत्यु भएका बालबालिका सम्झेर अस्पतालका अर्का अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजु पनि दुःखित छन्। अस्पतालले केही वर्षअघि गरेको अध्ययन अनुसार प्रति सय जना यस्ता बिरामी मध्ये ७० प्रतिशतको मृत्यु हुन्छ। पछिल्लो समय यो रोगमा आएको जनचेतना र उपचारमा आएको सुधारको कारण घटेर ६० प्रतिशत पुगेको छ। चिकित्सकका अनुसार आँखाको क्यान्सर भएर ढिला उपचारमा पुगेका शिशुलाई बचाउन सकिँदैन तर समयमै उपचारमा पुगेका शिशुहरु बाँचेका छन्। त्यति मात्रै होइन समयमै उपचारमा पुग्नेको आँखाको दृष्टिसमेत सुरक्षित हुन्छ। उपचारमा ढिला पुगेका बालबालिकाहरुको कतिपय आँखाको डल्लो निकालेर शल्यक्रिया गरी उपचार गरिन्छ र बिरामी मात्र बचाउन सकिन्छ भने कपियको दुवै आँखा निकाल्ने र आँखा नजिकको भागको पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ।

चिकित्सकका अनुसार विकसित देशमा शिशु जन्मिने बित्तिकै नियमित आँखा परीक्षण गर्ने चलनले सुरुमै रोग पहिचान हुन्छ। जसले गर्दा विकसित देशमा ९९ प्रतिशत रेटिनोब्लास्टो रोगको सफल उपचार हुन्छ। रोगको पहिचान ढिलो हुनु तथा उपचारमा ढिला पुगेका कारण नेपालमा ७० प्रतिशत बालबालिकाले यो रोगका कारण ज्यान गुमाउँछन्। नवजात शिशुको एक महिनाभित्र आँखा परीक्षण गरेमा जन्मजात हुने सबै आँखाका रोगहरुबाट बच्न सकिने डा. सैंजुको सुझाव छ।

यसबाहेक बच्चाको आँखा घरेलु तरिकाले पनि परिक्षण गर्न सकिन्छ। आँखाको नानीमा सेतो दाग देखिए, डिजिटल मोबाइल या क्यामेराले फोटो खिच्दा फोटोमा आँखाको नानीमा सेतो भाग देखिए, आँखा छड्के भए, बच्चा हिँड्दा घरीघरी ठोक्किए आँखाको क्यान्सर भएको हुनसक्छ। यी लक्षण देखिए समयमै चिकित्सकको परामर्श लिन विज्ञहरु सुझाउँछन्। नेपालमा प्रतिवर्ष ३० देखि ४० जना आँखा क्यान्सरका नयाँ बिरामी आउँछन्। नयाँ पुराना गरी ६० जना मात्र उपचारमा पुग्छन्। नेपालमा बालबालिकामा कति जना आँखाको क्यान्सर छ भन्ने यकिन हुन सकेको छैन। प्रति वर्ष औसत ३५ जना क्यान्सरका नयाँ बिरामी थपिन्छन्। अर्थात् प्रति १५ हजार बालबालिका जन्म मध्ये एक जनालाई आँखाको क्यान्सर हुन्छ।

तिलगंगा आँखा अस्पतालमा उपचार गर्न आउने बालबालिका मध्ये ६० प्रतिशत एउटा आँखामा र ४० प्रतिशत दुवै आँखामा क्यान्सर भएका छन्। विकसित देशमा जनचेतना, उपचारको पहुँच र प्रविधिको कारण यो क्यान्सर लागेका मध्येमा ९९ प्रतिशत बाँच्छन््। नेपालजस्तो अशिक्षा र गरिबी भएको देशमा २० प्रतिशत मात्र बाँच्छन्। आँखाको क्यान्सर मध्ये ४५ प्रतिशत वंशाणुगत कारणले हुन्छ भने ५५ प्रतिशत अन्य कारणले बालबालिकामा आँखाको क्यान्सर हुन्छ। क्यान्सर भए मध्येमा ८० प्रतिशत चार वर्ष अघि नै पहिचान हुन्छ।

आँखाको क्यान्सरबारे जनचेतना सप्ताह
तिलगंगा आँखा विज्ञान प्रतिष्ठानले आइतबारदेखि आँखा क्यान्सर जनचेतना कार्यक्रम सुरु गरेको छ। जनचेतना साताको पहिलो दिन आइतबार प्रतिष्ठानका विज्ञहरुले विकसित देशको तुलनामा नेपालजस्तो अविकसित तथा विपन्न मुलुकमा यो रोगको कारण मृत्युदर बढी भएको औंल्याए।

जनचेतना विश्वभरी आइतबारदेखि ‘सेतोविरुद्धको लडाइँ’ भन्ने मूल नाराको साथ मनाउने भएका छन्। सेतोविरुद्धको लडाइँ भनेको पाँच वर्ष मुनिका बालबालिकाको आँखाको नानीमा देखिने सेतो र त्यो सेतो क्यान्सरको सुरुको लक्षण हो। चेतनाको अभाव र अन्धविश्वासले यो रोगको उपचारमा अहिले पनि ढिला भई वर्षेनी ६० प्रतिशतले ज्यान गुमाउनु परेको विज्ञहरुले औंल्याए। ‘यो रोगमा आँखाको ज्योति र ज्यान गुमाउन नपरोस् भनेर जनचेतना सप्ताह मनाउन लागिएको हो,’ अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले भने।

पछिल्लो समय सुरुमै उपचारमा पुग्नेहरुको संख्या बढ्दै गए पनि विकट ठाउँका बालबालिका यो रोगको सिकार हुने गरेका छन्। प्रतिष्ठानले साताभरि यो रोगको बारेमा जनचेतना, पर्चा, पम्पलेट, स्टिकर टाँस्ने, आमा समूह, बालबालिकाबीच यो रोगको फोटो देखाउने अभियान सञ्चालन गरी मनाउने भएको छ। विपन्न समूहका बालबालिका यो रोगको कारण उपचार ढिला पाउनेमा पर्ने हुँदा उनीहरुको उपचारको लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने नेपाल अकुलोप्लास्टिक सर्जन समाजले अनुरोध गरेको छ। ‘अन्य क्यान्सरका बिरामीलाई जस्तै आँखाका क्यान्सरका बालबालिकालाई सरकारले बजेट छुट्टयाउनु पर्छ,’ नेपाल अकुलोप्लास्टिक सर्जन समाजका सदस्य डा. पूर्णिमा स्थापितले भनिन्। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले यो रोगको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्। सोही क्रममा नेपाल क्यान्सर सोसाइटीले तिलगंगा आँखा अस्पतालमा उपचारार्थ आँखा क्यान्सर बालवालिकामा कृत्रिम आँखा प्रत्यारोपणको लागि सहयोग स्वरुप ४ लाख रुपैयाँ प्रदान गरेको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App