८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटकबाट १० करोड राजस्व

सोलुखुम्बु – खुम्बु क्षेत्र प्रवेश गर्ने पर्यटकबाट १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । खुम्बुपासाङल्हामू गाउँपालिकाले संकलन गर्न थालेको शुल्कबाट चालु आर्थिक वर्षको चैतसम्मको नौ महिनामा १० करोड १२ लाख ३६ हजार राजस्व संकलन गरेको हो । लुक्लास्थित पयर्टक शुल्क संकलन काउन्टरबाट नौ करोड २३ लाख १२ हजार र मन्जोस्थित पर्यटक शुल्क काउन्टरबाट ८९ लाख २६ हजार रुपैयाँ संकलन भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले गत आव २०७४÷७५ देखि प्रतिपर्यटक दुई हजार रुपैयाँ पर्यटन शुल्क उठाउँदै आएको छ । संकलित रकम पर्यटकीय पूर्वाधार निर्माण तथा पर्यटक, गाइड र भरियाको हितमा खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म ५० हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन् । सो अवधिमा ५० हजार ६ सय १८ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको खुम्बुपासाङल्हामू गाउँपालिकाका नायब सुब्बा चेतनाथ कट्टेलले जानकारी दिए ।

सामाग्री ओसार्दै आरोही
सगरमाथा आरोहणको तयारी भइरहेका बेला अनुमति पाएका आरोहीले आधार शिविरबाट आवश्यक सामग्री क्याम्प थ्रीसम्म ओसार्ने काम गरिरहेका छन् । सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आरोहणको पूर्वसन्ध्यामा आरोहणको तयारी भइरहेको छ ।
आधार शिविरबाट क्याम्प थ्रीसम्म सामग्री ओसार्ने काम भइरहेको उनले बताए । श्रेष्ठका अनुसार कतिपय आरोही क्याम्प टु र थ्री आउनेजाने गरिरहेका छन् । आधारशिविरमा करिब १५ सयदेखि दुई हजार आरोही, गाइड, भरिया रहेका छन् ।

प्रकाशित: ३० वैशाख २०७६ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App