६ वैशाख २०८१ बिहीबार
समाज

वरिष्ठता मिचेर सिफारिस

काठमाडौं - गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ। ‘सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गरिएको हो,’ स्रोतले भन्यो।

अघिल्लो ब्याचलाई समेत उछिनेर सो बढुवा सिफारिस गरिएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ब्याचका वैकल्पिक रहेका एसएसपी वीरेन्द्र श्रेष्ठलाई समेत उछिनेर पोखरेललाई बढुवा सिफारिस गरिएको हो। खनाल २०४६ माघ २९ गते प्रहरी सेवामा भर्ना भएका थिए। त्यतिबेला वैकल्पिक उम्मेदवारका रूपमा श्रेष्ठसहित ठाकुरप्रसाद ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय थिए। ज्ञवाली, लम्साल र उपाध्याय यसअघि नै डिआइजीमा बढुवा भइसकेका छन्। त्यस चरणमा श्रेष्ठ मात्रै छुटेका थिए। त्यस्तै पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल पनि एसएसपी पोखरेलभन्दा वरिष्ठ हुन्।

ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहोरा, वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल नै वरिष्ठ भएका थिए। २०७४ साउन १९ गतेको बढुवामा पोखरेलपछि प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की र उनका ब्याची धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा र दिवेश लोहनी बढुवा भएका थिए। पोखरेल, सिंह, सुवेदी, लामा र लोहनी २०४९ चैत ११ गते प्रहरी संगठनमा प्रवेश गरेका थिए।

अहिलेको बढुवा सिफारिसलाई हेर्ने हो भने आइजिपीपछिको संगठन प्रमुखमा पोखरेलको पनि दाबी हुने अवस्था आउँछ। तर उनीअघि ज्ञवाली, लम्साल र उपाध्यायको पाँच महिना सेवा अवधि बाँकी नै रहन्छ। प्रहरी नियमावलीअनुसार २०७७ असार २५ गते मात्रै उनीहरूले अवकाश पाउनेछन्। उनीहरूपछि २०७५ असोज २८ गते डिआईजीमा बढुवा भएको टोलीले संगठन प्रमुख हुने अवसर पाउनेछ। डिआइजीहरू शैलेश थापा क्षेत्री, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीमध्ये एकजना संगठन प्रमुख हुनेछन्। त्यसपछि मात्रै हाल बढुवा सिफारिस भएका पोखरेलको पालो आउनेछ।

    वरिष्ठता मिचेर बढुवा सिफारिसमा परेका विश्वराज पोखरेल उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका आफन्त हुन्।

डीआईजी सुशील भण्डारीको गाडी दुर्घटनामा मृत्यु भएपछि सो पद खाली थियो। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार पोखरेललाई डिआइजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ। तर उनका ब्याची कसैलाई पनि बढुवा नगर्दा भावी आइजिपीका लागि पनि उनलाई प्रहरी प्रधान कार्यालयले अघि सारेको देखिन्छ। डिआइजीको पद खाली भएको पाँच महिनासम्म पनि कसैलाई बढुवा गरिएको थिएन। एसएसपी पोखरेलकै ब्याचीहरू कम्तीमा चारजनालाई बढुवा गर्नुपर्ने दबाब संगठनभित्रै भए पनि आइजिपी खनालले त्यसलाई थेग्न सकेनन्। ‘ठूलै दबाब आयो, आइजिपीले त्यसलाई थेग्न सक्नुभएन,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। बढुवा सिफारिस भएका पोखरेल उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका आफन्त हुन्।

नेपाल प्रहरीमा तत्काल एआइजी वा डिआइजी पद खाली हुने अवस्था छैन। अबको माघमा मात्रै तीन एआइजीसहित १६ डिआइजीको पद खाली हुनेछ। त्यसपछि मात्रै पोखरेलका ब्याचीहरू डिआइजीमा बढुवा हुने सम्भावना छ। अहिले आफ्ना ब्याचीभन्दा अघि नै डिआइजी भएकाले पछि खाली हुने एआइजीमा उनको स्वतः दाबी रहनेछ। तर छोटो समयका लागि ज्ञवाली, लम्साल र उपाध्यायमध्ये एकजना आइजिपी भए भने त्यसपछि शैलेश थापासहित हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीमध्ये एकजना संगठन प्रमुख बन्ने अवस्था आउनेछ। पोखरेल त्यसक्रममा भने सिनियर डिआइजीका रूपमा रहनेछन् र उनको प्रतिस्पर्धा त्यति बेला आफ्नै ब्याचीसँग हुनेछ।

तर यसबीचमा प्रहरी नियमावली संशोधन भएर ३० वर्षे सेवा अवधि हट्यो भने पोखरेल आइजिपी हुन पाउनेछैनन्। संघीय प्रहरी ऐन मन्त्रालयमै थन्किएको छ। प्रहरीभित्रको सेवा अवधिसम्बन्धी खिचातानीले संघीय प्रहरी ऐन थन्किएको हो। अब ज्ञवालीसहित पोखरेलसम्मले ३० वर्षे सेवा अवधि नहटाउन पहल गर्नेछन्। ३० वर्षे सेवा अवधि हट्दा उनीहरू संगठन प्रमुख हुनबाट वञ्चित हुनेछन्।

आठ एसएसपीको सरुवा
प्रहरी प्रधान कार्यालयले आठ एसएसपीको काज सरुवा गरेको छ। प्रहरी प्रवक्तासमेत रहेका उत्तमराज सुवेदीलाई महानगरीय प्रहरी परिसर काठमाडाैं, सहकुल थापालाई अपराध महाशाखा, परिसरका प्रमुख वसन्त लामालाई लागूऔषध नियन्त्रण ब्युरो, महाशाखाका प्रमुख धिरजप्रताप सिंहलाई प्रहरी प्रधान कार्यालय (तालिम निर्देशनालय) मा सरुवा गरिएको हो।

त्यसैगरी पुरुषोत्तम कँडेललाई विराटनगर तालिम केन्द्र, पोषराज पोखरेललाई संघीय प्रहरी एकाइ कार्यालय भेरी, घनश्याम अर्याललाई प्रहरी प्रधान कार्यालयको विशेष सशस्त्र प्रहरी महाशाखा, हालै डिआइजीमा बढुवा सिफारिस गरिएका विश्वराज पोखरेललाई प्रहरी प्रहरी प्रधान कार्यालयको निरीक्षाणालय शाखामा सरुवा गरिएको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App