७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली राजमार्ग: त्रासैत्रासको यात्रा

कर्णाली राजमार्गको कालीकोट खण्ड खल्लगाड। तस्बिर: डिबी/नागरिक

जुम्ला - सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। तर जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको ब्यहोर्न बाध्य भए। ‘कर्णाली सडकको दैलेख खण्डसम्म त ठिकठिकै लाग्यो तर कालिकोट खण्ड प्रवेश गर्नेबित्तिकै निकै कठिन यात्रा सुरु भयो,’ उनले भने, ‘यात्राका हरेक पल परिवार सम्झन थालें। बाटोभरि सकुशल जुम्ला पुगिएला कि नपुगिएका भन्ने चिन्तामात्रै थियो।’

बोइलर कुखुरा लिएर आएका उनी राजमार्गमै दुई दिन बिताउनु परेकोमा दुःखी छन्। सुर्खेतदेखि जुम्लासम्मको यात्रा करिब नौदेखि ११ घन्टाको हो। तर साँघुरो सडकले गाडी ओहोरदोहोर गर्न असहज हुने भएकाले यात्रामा निकै ढिलासुस्ती हुने गरेको छ। उनले थपे, ‘कर्णालीमा सहज आवतजावत गर्ने सडक नहुँदा निकै सास्ती हुने गरेको छ। सडक स्तरोन्नति नहुँदा बाटोमै पर्यटक अलपत्र पर्ने गरेका छन्। यो कर्णालीवासीका लागि सबैभन्दा दुःखको विषय हो।’

कर्णाली राजमार्गको दैलेख खण्डदेखि कालीकोटको खल्लागाड खण्डसम्म झन्डै दर्जन बढी ठाउँमा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक कर्णालीवासीका लागि ‘काल’सरह छ। यो राजमार्ग मृत्यु मार्गको रूपमा पनि चिनिँदै आएको छ। कर्णाली घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकलाई कर्णालीको सडक यात्रा निकै असहज हुने गरेको छ।

चन्दननाथ नगरपालिकाकी धनलक्ष्मी भण्डारी कर्णाली राजमार्गबाट आउजाउ गर्न निकै अप्ठ्यारो मान्छिन्। कर्णाली सडकको यात्रामा उनलाई राति निद्रासमेत पर्दैन। ‘सपनामा पनि यात्रा गरेको देख्छु र शरीर नै जिरिङजिरिङ हुन्छ। साँघुरो सडकमा भीरबाट हेरौं तल तिला नदीबाहेक केही देखिँदैन, माथि हेरौं कडा चट्टान,’ उनले भनिन्, ‘कर्णाली मार्ग कर्णालीवासीका लागि काल नै बन्यो। राज्य यो सडकका विषयमा बेखबरझैं बनेको छ।’

कर्णाली राजमार्ग कर्णालीवासीका लागि ‘काल’सरह छ। यो राजमार्ग मृत्यु मार्गको रूपमा पनि चिनिँदै आएको छ।

प्रदेश सरकारले २०७५ साललाई ‘रारा कर्णाली पर्यटन वर्ष’ घोषणा ग¥यो। कर्णालीमा पर्याप्त पर्यटक भिœयाएर आर्थिक समृद्धि हासिल गर्ने सपना बुन्यो। तर कर्णाली सडकले कर्णाली सरकारको सपना साकार हुन दिएन। अहिले पनि कर्णाली भित्रिने हरेक पर्यटक फेरि कर्णाली नफर्कने मनसाय बोकेर फर्कन्छन्। ‘पर्यटक आउने वातावरण कर्णालीमा छ। सुन्दरताले पनि भरिएको छ। तर यहाँ पर्यटक आउने भरपर्दो सडक छैन,’ उनले भनिन्, ‘कर्णाली सरकार दुई लेन सडक बनाउनेतर्फ ध्यान केन्द्रित नै गर्दैन, संघीय सरकार टेरपुच्छर लगाउँदैन।

जुम्लाका पृथ्वीबहादुर थापा कर्णालीमा सडक नपुग्ने बताउँदै आएका थिए। जब आँगनमै सडक पुग्यो, उनी निकै खुसी भए। तर त्यो खुसी एक दशकसम्म टिक्न सकेन। उनले भने, ‘कर्णालीको सडक यात्रा गर्ने सुरक्षित मार्ग भएन, यो त ज्यानमारा बन्यो।’

कर्णाली राजमार्ग सञ्चालन भएपछि सानाठूला गरी सयौं दुर्घटना भइसकेका छन्। हजारौंले ज्यान गुमाइसकेका छन्। धनजनको क्षति पनि उत्तिकै भएको छ। यो सडक न त स्तरोन्नति हुन सक्यो, न त बन्द। यो कर्णालीवासीको सधैंको पीडा बनेको छ। कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक उप्किसकेको छ। राजमार्गमा ट्राफिक चिह्न पनि देखिँदैन। क्षमताभन्दा बढी यात्रु बोक्ने समस्या छँदै छ। प्रायः खोलामा वर्षामा पानी बढेर तर्न सकिने अवस्था रहँदैन।

कर्णाली राजमार्गको दहीखोला, गगने खोला र खल्लागाड खोला वर्षामा कर्णालीवासीका लागि अवरोध बन्दै आइराखेका छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत कर्णालीको सडकप्रति राज्य बेखबर हुनु पीडादायी विषय बनेको बताउँछन्। ‘यो सडक नियमित र सहज हुनसके देशकै आर्थिक समृद्धिको आधार कर्णाली हुनेछ,’ उनले भने, ‘तर कर्णाली अहिलेसम्म रोग, भोक र अशिक्षाको घेराबाट बाहिर निस्कन सकेन। यो कुरा कर्णाली राजमार्गको दुर्गति हेर्दा सहजै अनुमान लगाउन सकिन्छ।’

सुर्खेत र जुम्लामा हवाइसेवा बन्द छ। नियमित राजमार्ग खुल्दैन। यात्रु अलपत्र हुने अवस्था छ। उनले तत्काल कर्णाली राजमार्गको स्तरोन्नतिका लागि माग गरेको बताए। आकाशबाट पानीका छिटा पर्नेबित्तिकै कर्णाली सडक बन्द भइहाल्ने र बन्द खुलाउने औजार उपकरण नहुँदा हप्तौंसम्म अलपत्र हुने गरेको यात्रुहरू बताउँछन्।

प्रकाशित: ३० वैशाख २०७६ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App