७ वैशाख २०८१ शुक्रबार
समाज

राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका निरौला को हुन् ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलालाई प्रवक्तामा नियुक्त गरेको छ। राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभाग सम्हालेका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल विदामा बसेपछि निरौलालाई आइतबारबाट प्रवक्तामा नियुक्त गरेको हो। निरौलाले मुद्रा व्यवस्थापन विभाग प्रमुख भएर कार्य सम्पादन गर्दै आएका थिए।

राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले वरिष्ठताको आधारमा निरौलालाई प्रवक्ता रुपमा नियुक्त गरेका हुन्। उनी प्रवक्ताका साथै सूचना अधिकारीसमेत भएको राष्ट्र बैंकका सह प्रवक्ता गोविन्द नागिलाले जानकारी दिए। ‘गर्भनर कार्यालयले उहाँलाई वरिष्ठताको आधारमा प्रवक्ता नियुक्त गरेको हो’ उनले नागरिकन्युजसँग भने।

राष्ट्र बैंकको ३० वर्षे अवकास नीतिका कारण पौडेल वैशाख २६ गते बिहीबारदेखि बिदा बसेका छन्। उनी बिदामा बसेपछि रिक्त रहेको प्रवक्तामा निरौलालाई नियुक्ति गरिएको हो। अर्थशास्त्र र जनप्रशासन विषयमा मास्टर्स गरेका निरौलासँग बैंक सुपरिवेक्षण विभाग, सामान्य सेवा विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र मुद्रा व्यवस्थापन विभागमा कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ। निरौलाले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत डेढ वर्ष व्यवस्थापन समूहमा बसेर काम गरेका थिए। बैंक अफ काठमाण्डू र एनसीसी बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिएको बेला निरौलालाई यी बैंकको अध्यक्ष बनाएर पठाएको थियो।

०४६ साल माघमा सहायक निर्देशकबाट राष्ट्र बैंक प्रवेश गरेका निरौलासहित अन्य चार कार्यकारी निर्देशक पनि गत बिहीबारदेखि घर बिदामा बसेका छन्। राष्ट्र बैंकमा अवकास पाउनुभन्दा एक महिना अगाडी घर बिदा बस्ने चलन छ। अनिवार्य अवकाश पाउन लागेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुंगाना, जनकबहादुर अधिकारी र भरत शर्मा आचार्य रहेका छन्। हाल पौडेलले सम्हालेको नियमन विभाग बमबहादुर मिश्र, ढुंगानाले सम्हालेका वैदेशिक विनिमय विभागमा सरिता भट्ट, थापा प्रमुख रहेका सार्वजनिक ऋण व्यवस्थापन विभागमा सुष्मा रेग्मी वरिष्ठ निर्देशकका रुपमा कार्यभार सम्हालेका छन्।

लघुवित्त नियमन विभागका जनकबहादुर अधिकारी भने वैशाख १० देखि नै घर बिदामा बसिसकेका छन्। उनले जेठ १० गतेबाट अनिवार्य अवकास पाउँदै छन्। राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार अधिकारी वैशाख ११ बाट र अन्य तीन कार्यकारी निर्देशक वैशाखसम्म २६ बाट एक महिने घर बिदामा बसेको नागिलाले बताए। कार्यकारी निर्देशकहरू घर बिदामा बसेपछि नेपाल राष्ट्र बैंकले रिक्त हुने पदका लागि निर्देशकहरूलाई कायम मुकायम कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिइएको छ।  उनीहरूको अवकास  कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउने प्रचलन छ। यद्यपी बढुवाको लागि भने कार्य सम्पादन मूल्यांकन समिति बन्नेछ। समितिको सिफारिस अनुसार हुने बढूवा गरिने छ।

प्रकाशित: २९ वैशाख २०७६ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App